५ असार २०८३ शुक्रबार
image/svg+xml
राजनीति

आठराई त्रिबेणीको योजना : आउँदो पुसभित्र फुसको छानोरहित पालिका घोषणा गर्ने

ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले २०८३ साल पुस महिनाभित्र आठराई त्रिबेणीलाई फुसको छानो विस्थापन भएको पालिका घोषणा गर्ने भएको छ ।

पालिकाले मंगलबारबाट सुरु गरेको सार्वजनिक सुनुवाइ कार्यक्रमअन्तर्गत वडा नं. १ निगुरादिनमा आयोजित कार्यक्रममा पालिका अध्यक्ष दीपेन्द्र पोमुले फुसको छानो विस्थापन गर्नुपर्ने संख्या अब पालिकाभित्र सयभन्दा मुनि रहेको जानकारी दिए । पोमुका अनुसार अहिलेसम्म पालिकाभरिका ५ सय घरधुरीका फुसका छाना विस्थापन भइसकेका छन् । अब ७४ घरपरिवारको फुसको छानो विस्थापन गर्ने काम मात्र बाँकी रहेकाले उक्त कार्य आउँदो पुस महिनाभित्र पूरा गर्ने पोमुले घोषणा गरे ।

सार्वजनिक सुनुवाइका क्रममा पालिका अध्यक्ष पोमुले विकास निर्माणका कार्य गर्दा व्यक्तिको सम्पत्तिमा क्षति नहुने गरी गर्नुपर्छ भन्ने मान्यता पालिकाको रहेको बताए । नसक्ने सपना नबाँड्ने र बोलेको कुरा पूरा गरेर छाड्ने आफ्नो स्वभाव रहेको समेत उनले बताए ।

सार्वजनिक शिक्षा सुधारका लागि आठराई त्रिबेणीबाट भइरहेको पहलका कारण सामुदायिक विद्यालयको सिकाइ सुधारमा राम्रो नतिजा देखिन थालेको पोमुले बताए । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा आठराई त्रिबेणीका ७४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । ९ स्थानीय तहमध्ये आठराई त्रिबेणीको नतिजा पहिलो हो भने मैवाखोलामा आठराई त्रिबेणीभन्दा केही प्रतिशत कम अर्थात् ७३.७३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

शिक्षिका डिका खतिवडाले शिक्षकको पेशागत तालिम, क्षमता अभिवृद्धि तालिम, विद्यालय अनुदान कार्यक्रम, शिक्षक तथा विद्यार्थी प्रोत्साहन कार्यक्रम सुरु गरेर पालिकाले राम्रो काम गरेको स्मरण गर्दै अभिभावक सचेतना कार्यक्रमको माग गरिन् ।

पालिका शिक्षा समितिका अध्यक्षसमेत रहेका पालिका अध्यक्ष पोमुले अभिभावकले चासो लिएर विद्यार्थीका बारेमा स्वयं लगनशील हुने वातावरण बनाउन माग आए आफूहरू यस्तो कार्यक्रमका लागि पछि नहट्ने बताए ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा बाँदरले बालीनालीमा गरेको क्षतिदेखि बाँदर नियन्त्रणसम्मका विषयले प्रवेश पाएका थिए । कार्यक्रममा मोहन घिमिरे, शेरबहादुर तामाङ, बालकृष्ण घिमिरे, सुरेन्द्रकुमार ओली र रमेश बयलकोटीसहितले आफ्ना जिज्ञासा राखेका थिए ।

कृषि क्षेत्रमा लगानी गर्दा किसानको समेत साझेदारी रहने विषय चुनौतीपूर्ण रहेको बताउँदै पालिका अध्यक्ष पोमुले चालु आर्थिक वर्षमा कृषि क्षेत्रमा करिब २ करोडभन्दा बढी लगानी गरिएको स्मरण गराए । लगानी साझेदारीका लागि प्रस्ताव गर्दा किसानबाट प्रस्ताव नै नआउनु दुःखद पक्ष रहेको पोमुको भनाइ थियो ।

कार्यक्रममा सेवाग्राहीले राखेका प्रश्नको जवाफ दिँदै पालिका उपाध्यक्ष शान्ताकुमारी आङबुहाङले आफ्नो नेतृत्वमा रहेको न्यायिक समितिले प्राप्त भएका धेरैजसो विवादको निरुपण मेलमिलापका माध्यमबाट टुंग्याउँदै आएको जानकारी दिइन् ।

अनुगमनका कार्यमा आफूहरूले कुनै कञ्जुस्याइँ नगरी प्रभावकारी ढंगले कार्यसम्पादन गर्दै आएको आङबुहाङको भनाइ थियो ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय राजवंशीले चालु आर्थिक वर्षको बजेट, योजनाको अवस्था, योजना कार्यान्वयनको अवस्था, वडा नं. १ निगुरादिनमा सञ्चालित योजना र तिनको अवस्थाबारे स्पष्ट पारेका थिए ।

सार्वजनिक सुनुवाइ कार्यक्रमको समापन गर्दै आठराई त्रिबेणी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष रामप्रसाद पाठकले सार्वजनिक सुनुवाइ कार्यक्रम सुशासनको सूचकसमेत भएको उल्लेख गर्दै जनताका गुनासा, राय र सुझाव लिएर कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन आफूहरू तयार रहेको बताए ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत राजवंशीका अनुसार सार्वजनिक सुनुवाइ कार्यक्रमअन्तर्गत असार ३ गते बुधबार वडा नं. २ फुलवारीमा, बिहीबार असार ४ गते वडा नं. ३ हाङपाङमा, शुक्रबार असार ५ गते वडा नं. ४ चाँगेमा र शनिबार वडा नं. ५ चाँगेमा कार्यक्रम आयोजना गरिएको छ ।

प्रकाशित: २ असार २०८३ २०:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App