१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

सरकार, जेन-जी प्रतिनिधि र दलहरू वार्तामा

बालुवाटारमा त्रिपक्षीय बैठक सुरु, १३ सदस्यीय जेन-जी टोली सहभागी

तस्बिर: विजय राई/नागरिक

आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनको वातावरण निर्माण गर्ने उद्देश्यले सरकार, राजनीतिक दल र जेन-जी प्रतिनिधिहरूबीचको बहुप्रतिक्षित त्रिपक्षीय वार्ता सुरु भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा जेन-जीका विभिन्न समूहबाट १३ जना प्रतिनिधि सहभागी भएका छन्।

बैठकमा सहभागी हुन बालुवाटार पुगेका जेन-जी प्रतिनिधिहरूले तोकिएको मितिमै निर्वाचन हुनुपर्ने विषयलाई आफूहरूको प्रमुख एजेन्डाको रूपमा प्रस्तुत गर्ने बताएका छन्।

वार्तामा सहभागी हुन जानुअघि प्रतिनिधि उपार्जुन चाम्लिङले भने, ‘आज विशेषगरी निर्वाचनको विषयमा केन्द्रित हुनेछौँ। हाम्रो प्रमुख एजेन्डा नै तोकिएको मितिमा निर्वाचन हुनुपर्छ भन्ने हो।’

प्रधानमन्त्रीको सचिवालयका अनुसार, वार्तामा जेन-जीका तर्फबाट मोनिका निरौला, रक्षा बम, पुरुषोत्तम यादव, सामना लावती, खेमराज साउँद, उपार्जुन चाम्लिङ, भोजविक्रम थापा, मिराज ढुंगाना, विवेक दाहाल, जेम्स कार्की, रेहनराज डंगोल, अमित खनाल र राजन रानामगर सहभागी छन्।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले निर्वाचनको वातावरण बनाउन पहिलोपटक सरकार, राजनीतिक दल र ‘जेन-जी’ पुस्ताबीच संयुक्त बैठक आयोजना गरिएको जानकारी दिए। यसअघि कात्तिक ४ गते सरकार र राजनीतिक दलहरूबीच छुट्टै छलफल भएको थियो।

भदौमा भएको जेन-जी आन्दोलनपछि बनेको वर्तमान सरकारले निर्वाचन गराउने मुख्य कार्यादेश पाएको छ। बैठकमा दलका शीर्ष नेताहरू र सरकारका मन्त्रीहरूको सहभागिता रहेको छ।

प्रकाशित: १२ कार्तिक २०८२ १६:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App