२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

अनसनरत डा. निकोलस भुसालसँग वार्ता गर्न सरकारले बनायो समिति

सरकारले विभिन्न ९ बुँदे माग राख्दै अनसनमा बसेका डा. निकोलस भुसाल (कमल भुसाल) नेतृत्वको समूहसँग वार्ता गर्नका लागि वार्ता समिति गठन गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार एक पत्र जारी गर्दै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनालको संयोजकत्वमा चार सदस्यीय वार्ता समिति गठन गरेको जानकारी दिएको हो।

गठित समितिको सदस्यहरूमा प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार गोविन्द नारायण तिमिल्सिना, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव डा. भीष्मकुमार भुसाल र जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) ईश्वरराज पौडेल रहेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव जीवन चन्द्र राईद्वारा हस्ताक्षरित पत्रमा विगत केही दिनदेखि विभिन्न माग राखी अनसनरत डा. भुसालको नेतृत्वको समूहसँग वार्ता गर्न निर्देशनअनुसार समिति गठन गरिएको उल्लेख छ।

डा. भुसाल विभिन्न सामाजिक तथा राजनीतिक मागहरू राख्दै केही दिनदेखि अनसनमा छन्।

यसअघि वीर अस्पताल पुगेर गृहमन्त्री ओमप्रकाश अर्यालले भुसालसँग भेटवार्ता गरेका छन्। बुधबार राति अस्पताल पुगेका उनले भुसालको स्वास्थ्य अवस्था बुझ्दै अनसन तोड्न आग्रह गरेका थिए।

सो भेटका क्रममा गृहमन्त्री अर्यालले डा. भुसालले उठाएका उचित मागहरू सम्बोधन गर्न सरकार तयार रहेको प्रतिबद्धता जनाएका थिए।

प्रकाशित: १७ पुस २०८२ १९:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App