२३ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

केपी ओली, रमेश लेखक, छवि रिजाललाई पक्राउ गर्न जेन-जीको माग

जेन-जी समूहले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान गृहमन्त्री रमेश लेखक तथा काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई पक्राउ गर्न माग गरेका छन् ।  

शुक्रबार संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा आन्दोलन दबाउन राज्यको दुरुपयोग गरेको आरोप लगाउँदै तत्काल पक्राउको माग गरेका हुन् ।  

जेन-जीका सल्लाहकार डा. निकोलश भुसालले राष्ट्रिय सभा विघटन गरेर संविधान संशोधन गरेर प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको चुनाव गर्नुपर्ने बताए । उनले २०४६ सालपछिका सम्पूर्ण उच्च तहका नेता कर्मचारीको सम्पत्तिको छानबिन गर्न उच्चस्तरीय आयोग बनाउन समेत माग गरे ।

जेन-जी आन्दोलनका घाइते हरि अधिकारीले आफूहरूले समाजमा व्याप्त कुशासनविरुद्ध आन्दोलन गरेको बताए । उनले आफ्ना माग पूरा नभए आन्दोलन जारी रहेन उनले चेतावनी पनि दिए ।  

जेन-जी शहीद परिवार नर्गिस थापाले आफ्ना परिवारको बगेको रगतको अपमान नहुने गरी सरकारले काम गर्नुपर्ने बताए ।

कार्यक्रममा जेनजी सल्लाहकार कुशलव केसी, खेमराज साउद, खोजराज कटुवाल, निपेस ढाका अधिकारी, डा. सुन्दर थापा, वैज्ञानिक कपिल पौडेललगायत वक्ताहरूले शासकीय स्वरूप प्रत्यक्ष निर्वाचित कार्यकारी भएमात्र देश विकासको बाटोमा हिँड्ने बताएका थिए । उनीहरूले शिक्षा स्वास्थ्य निःशुल्क हुनुको साथै देशमै रोजगारीको सिर्जना गर्नुपर्ने बताए ।

अभियन्ता कुशलव केसीले सहकारी पीडितको पक्षमा आफू लामो समयदेखि सडकमै रहेको बताउँदै अबको सरकारले ती मागको सम्बोधन गर्नुपर्ने बताए ।

प्रकाशित: ३ आश्विन २०८२ २०:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App