गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने निर्वाचनमा सुरक्षा चुनौतीका रूपमा देखिएका फरार कैदी र लुटिएका हतियार नियन्त्रण गर्न सरकार सक्रिय रहेको बताएका छन्।
सोमबार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले सुरक्षा निकायलाई उच्च मनोबलका साथ निर्वाचन सुरक्षामा खटिन निर्देशन दिएका हुन्।
जेनजी आन्दोलनका क्रममा फरार भएका कैदी र लुटिएका हतियार चुनावी सुरक्षाको मुख्य चुनौती रहेको विश्लेषण भइरहँदा गृहमन्त्री अर्यालले यसप्रति सरकार गम्भीर रहेको स्पष्ट पारे।
उनले भने, ‘लुटिएका हतियार र फरार कैदीबन्दीलाई प्रमुख सुरक्षा चुनौतीको रूपमा औंल्याएको विषयप्रति सरकार र गृह प्रशासन जानकार छ। फरार कैदी र हतियार फिर्ता ल्याउन हामीले काम गरिरहेका छौं।’
उनले करिब ७० प्रतिशत कैदीबन्दी कारागार फिर्ता भइसकेको र बाँकीलाई पनि फिर्ता ल्याउन प्रशासन लागिपरेको दाबी गरे।
निर्वाचन नहुने भन्ने हल्लाको पछि नलाग्न आग्रह गर्दै गृहमन्त्री अर्यालले तोकिएकै मितिमा चुनाव गराउन सरकार दृढ रहेको बताए।
‘निर्वाचनबाट भाग्ने र हुँदैन भनेर भ्रम फैलाउनु न्यायोचित हुँदैन,’ उनले भने, ‘सरकार निर्वाचन गराउन दृढ छ, कार्यतालिका अनुसार नै तयारी भइरहेको छ।’
उनले चुनावी वातावरण बनाउन दलहरूसँग वार्ता र संवादका लागि सरकार खुला रहेको समेत उल्लेख गरे।
आन्दोलनपश्चात सुरक्षाकर्मीको मनोबल गिरेको भन्ने विश्लेषणका बीच गृहमन्त्रीले सुरक्षा अधिकारीहरूलाई निर्धक्क भएर काम गर्न निर्देशन दिए।
‘तपाईंहरू मनोबल उच्च बनाएर शान्ति सुरक्षा र अमनचयन कायम गर्न लाग्नुहोस्,’ निर्देशन दिँदै उनले भने, ‘निर्वाचन सफल बनाउने दायित्व तपाईं-हाम्रै हो, त्यसका लागि निर्धक्क भएर लाग्नुस्।’
गोष्ठीमा स्वतन्त्र, निस्पक्ष र भयरहित निर्वाचन कसरी गराउन सकिन्छ भन्नेबारे पनि छलफल भएको थियो।
त्यस क्रममा सहभागीहरुले निर्वाचन लक्षित कार्यक्रमहरु, शान्ति सुरक्षाका लागि भएको तयारी, जेनजी आन्दोलनपश्चात सुरक्षा निकायले भोगेका समस्या र समाधानबारे पनि धारणा राखेका थिए।
गोष्ठीमा सहभागी गण्डकी प्रदेशका ११ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा प्रमुखहरूले फरार कैदी र हतियार आगामी निर्वाचनको मुख्य चुनौती बन्न सक्ने ब्रिफिङ गरेका थिए।
प्रकाशित: २९ मंसिर २०८२ १९:२१ सोमबार





