नेपाली कांग्रेसका सभापति गगन थापाले भदौ २४ गते भएको घटनाको ढाकछोप गर्ने सरकारको कुनै पनि प्रयास स्वीकार्य नहुने बताएका छन् ।
शनिबार विराटनगरस्थित कोइराला निवासमा आयोजित पत्रकार भेटघाटमा उनले सरकारले आफ्नो प्रतिबद्धताअनुसार भदौ २४ गतेको घटनाबारे न्यायिक छानबिन गर्न आयोग गठन गर्नुपर्ने माग गरे ।
थापाले भदौ २३ र २४ गते भएका घटनासम्बन्धी राष्ट्रिय मानव अधिकार आयोग को प्रतिवेदन सार्वजनिक गर्नुपर्ने बताउँदै उक्त प्रतिवेदनका आधारमा दोषीमाथि कारबाही हुनुपर्ने जिकिर गरे ।
उनले मानव अधिकार आयोगको प्रतिवेदन रोक्न दबाब दिइएको भन्ने कुरा सुनिएको उल्लेख गर्दै यस्ता गतिविधि नगर्न सम्बन्धित पक्षलाई आग्रह गरे ।
एक प्रश्नको जवाफमा थापाले सरकार गठन भएयता कार्यपालिकाले व्यवस्थापिका र न्यायपालिकालाई नियन्त्रण गर्ने प्रयास गरिरहेको आरोप लगाए । उनले यस्तो गतिविधि लोकतान्त्रिक अभ्यासविपरीत रहेको भन्दै कुनै पनि हालतमा स्वीकार्य नहुने बताए ।
सरकारका गलत क्रियाकलाप रोक्न आफूहरू निरन्तर प्रयासरत रहने उनको भनाइ थियो ।
फरक प्रसङ्गमा उनले मुलुकको वर्तमान अवस्था र गम्भीरतालाई ध्यानमा राख्दै पार्टीभित्र देखिएका असहमति र विमतिलाई संवादमार्फत समाधान गर्न आफू तयार रहेको बताए ।
थापाले केन्द्रीय समिति बाहिर रहेका सबै पक्षलाई समेटेर अघि बढ्न आफू सकारात्मक रहेको उल्लेख गर्दै पार्टी विधि र विधानभन्दा बाहिर गएर काम नगर्न आग्रह गरे ।
प्रकाशित: ९ जेष्ठ २०८३ १६:५५ शनिबार





