उत्तर–पश्चिम चीनमा आएको आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ भने २३ जना घाइते भएका छन्।
सरकारी सञ्चारमाध्यमले आइतबार सार्वजनिक गरेको विवरणअनुसार घटनाको एक सातापछि मृतकको सङ्ख्या अद्यावधिक गरिएको हो।
जुलाई २६ मा दिनभरका लागि क्याम्पिङ गर्ने पर्यटकमाझ लोकप्रिय ‘सुवाङशिमेन सिनिक एरिया’मा अचानक बाढी पसेको थियो।
घटनापछि सुरुमा १० जनाको मृत्यु भएको र २३ जना घाइते भएको जानकारी दिइएको थियो।
चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार राष्ट्रिय विपद् रोकथाम आयोगले घटनाको अनुसन्धानको निगरानी गर्ने घोषणा गरेपछि मृतकको अद्यावधिक विवरण सार्वजनिक गरिएको हो।
दक्षिणी गान्सु प्रान्तको पहाडी क्षेत्रमा रहेको सुवाङशिमेन प्राकृतिक ढुङ्गाका तोरण, उच्च पहाडी घाँसे मैदान र पहाडी खोलानालाका लागि परिचित पर्यटकीय क्षेत्र हो।
सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा पाल र सवारीसाधन राखिएको उपत्यकाबाट तीव्र गतिमा बाढी बगिरहेको देखिएको थियो।
यस गर्मीयाममा चीन चरम मौसमी घटनाबाट प्रभावित बनेको छ। जुलाई महिनामा हुबेई प्रान्तमा आएको आँधीका कारण कम्तीमा ११ जनाको मृत्यु भएको थियो।
त्यस्तै, दक्षिणी ग्वाङसी क्षेत्रमा भारी वर्षापछि बाँध भत्किँदा छ जनाको मृत्यु भएको र एक लाख ३० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो।
यसैगरी, गान्सु प्रान्तकै दाङचाङ काउन्टीमा गएको पहिरोमा परी जुलाईमा २१ जनाको मृत्यु भएको थियो।
प्रकाशित: १७ श्रावण २०८३ १४:५० आइतबार





