नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महाधिवेशनको दौडादौड सकिएपछि जेन-जी पुस्तासँग मिलेर काम गर्ने बताएका छन्। उनले आज एक भिडिओ सन्देशमार्फत यस्तो प्रतिबद्धता जनाएका हुन्।
थापाले जेन-जी मुभमेन्टले उठाएका राष्ट्रिय मुद्दा, विशेषगरी सुधार (रिफर्म) सम्बन्धी विषयहरूमा निर्वाचन अघि नै राष्ट्रियस्तरको संवाद र सहमति आवश्यक रहेको उल्लेख गरे। केही दिनअघि आफूले यिनै विषयमा एउटा विचार सार्वजनिक गरेको र त्यसमा धेरैले सुझाव दिएको उनले बताए।
उनका अनुसार जेन-जी मुभमेन्टले अघि सारेका मुद्दामा राजनीतिक दल र अन्य सरोकारवालाबीच निर्वाचनभन्दा अघि नै राष्ट्रियस्तरको संवाद र सहमति हुनुपर्ने धारणा उनले अघि सारेका थिए। उनले भने, ‘त्यसपछि थुप्रैले मलाई आइडियाहरू दिनुभएको छ ।’
कतिपयले व्यक्तिगत रूपमा पनि सुझाव दिइरहेको उल्लेख गर्दै थापाले सहकार्य सुरु भइसकेको संकेत गरे। ‘हामीहरू मिलेर इलेक्सनभन्दा अगाडि नै जेन-जी मुभमेन्टले उठाएका केही मुख्य मुद्दाहरूमा राष्ट्रियस्तरको एउटा सम्झौता गर्न सक्छौँ भन्ने विश्वास छ,’ उनले बताए।
महाधिवेशनपछि जेन-जीसँग सहकार्य गर्दै सुधारका एजेन्डामा अघि बढ्ने उनको सन्देशलाई युवापुस्तामाझ सकारात्मक रूपमा हेरिएको छ।
प्रकाशित: २६ पुस २०८२ १४:४७ शनिबार





