२१ कार्तिक २०८२ शुक्रबार
image/svg+xml
राजनीति

गगनको प्रस्ताव: नयाँ कांग्रेस नयाँ नेपाल, मूल्यमा निरन्तरता–अभ्यासमा परिवर्तन

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले युवालाई उही कांग्रेस हो भनेर विश्वास बटुल्न सक्ने अवस्था नरहेको बताएका छन्। कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा मंगलबार लिखित रूपमा आफ्नो कुरा राख्दै महामन्त्री थापाले यस्तो बताएका हुन्। 

‘अब कांग्रेसले पुनः सिद्ध गर्नुपर्छ हामी चुनाव वा पदका लागि होइन, देशका लागि लड्छौँ,’ महामन्त्री थापाको प्रस्तावमा भनिएको छ, ‘हामी सत्ताका लागि होइन, सुधारका लागि उठ्छौँ यो हाम्रो यस्तो युगिन क्षण हो, देशलाई भन्नको लागि। यो उही कांग्रेस होइन। यो नयाँ कांग्रेस हो जिम्मेवार सुधारमुखी र भविष्यप्रति प्रतिबद्ध।’ 

त्यसका लागि उनले एउटा अवधारणा नै भनेका छन्। ‘नयाँ कांग्रेस, नयाँ नेपाल। मूल्यमा निरन्तरता–अभ्यासमा परिवर्तन,’ थापाको प्रस्तावमा उल्लेख छ। 

नेपाली राजनीतिको नयाँ अध्यायलाई नेपाली कांग्रेसले जन्मजात चारित्रिक गुणअनुसार ऐतिहासिक परम्परालाई निरन्तरता दिँदै नेतृत्व गर्ने उनले लेखेका छन्। उनले अगाडि भनेका छन्, ‘चालु केन्द्रीय कार्यसमितिको बैठकमार्फत राष्ट्रिय आवश्यकता अनुसार समय काल र परिस्थितिलाई बुझेर भावी कदम तय गर्नुमा नै हाम्रो सफलता र पार्टीको भविष्य सन्निहित छ।’ 

सोही दिशामा, सामूहिक अनुष्ठानमा केन्द्रीय कार्यसमितिसँग साथ र सहयोग अपेक्षा गरेको उनले उल्लेख गरेका छन्। ‘भविष्य हाम्रो हो र नेपाली कांग्रेसले नै देशलाई नयाँ युगको नेतृत्व प्रदान गर्नेछ,’ महामन्त्री थापाले लेखेका छन्। 

पार्टीलाई नयाँ दिशा दिनको लागि नयाँ जीवन प्रदान गर्नको लागि संकल्प र आस्थाले प्रतिबद्ध भएर महाधिवेशन सम्पन्न गर्न उनको प्रस्ताव छ।  त्यसका लागि आफूसहितका दुई महामन्त्री महाधिवेशन नलड्न पनि तयार रहेको भनेका छन्। ‘यदि दुई महामन्त्री नलड्ने भन्दा तयार हो भने महाधिवेशन गरौँ, तपाईँहरू मध्ये कोही जिम्मेवारी लिएर जानुहोस् । हामी त तयार छौँ, के तपाईँहरू तयार हो ?,’ थापाले प्रश्न गरेका छन्। 

प्रकाशित: १८ कार्तिक २०८२ १७:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App