नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘जेन-जी’ आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएको पार्टी केन्द्रीय कार्यालयबाट राष्ट्रिय पुनर्निर्माण र एकताका लागि भावुक अपिल गरेका छन्।
शनिबार क्षतिग्रस्त कार्यालयको भग्नावशेषमा उभिएर उनले रिस र प्रतिशोधभन्दा माथि उठेर एकअर्कालाई सहयोग गर्न र ध्वस्त संरचनाहरूको पुनर्स्थापनामा जुट्न सबैलाई आह्वान गरे।
आगजनीले कालो बनेको भित्ता र जलेका पुस्तकको खरानीबीचबाट भिडियो सन्देश जारी गर्दै महामन्त्री थापाले शब्द नै हराएको भन्दै आफू स्तब्ध भएको बताए।
उनले पार्टीको भर्खरै स्थापना गरिएको पुस्तकालय पूर्ण रूपमा नष्ट भएकोमा गहिरो दुःख व्यक्त गरे। ‘यो हाम्रो लाइब्रेरीको कोठा हो, जुन हामीले धेरै मेहनत गरेर, साथीहरूबाट सानो–सानो योगदान सङ्कलन गरेर अस्ति भर्खर बनाएर सुरु गरेका थियौं,’ उनले भने, ‘त्यहाँ हजारौँ पुस्तक थिए, तर आज सबै खरानीमा परिणत भएको छ।’
यस्तो विनाशका बीच पनि हरेस खान नहुनेमा जोड दिँदै उनले भने, ‘शरीर ढल्न सक्छ, तर हाम्रो मन दरो छ। यो खरानीबाट पनि हामी पुनः उठ्नेछौं भन्ने विश्वास छ।’
महामन्त्री थापाले दुःखको घडीमा रिस पाल्नुको सट्टा एकअर्कालाई सम्हाल्नुपर्ने बताए। आफ्नो घर पनि छिमेकी र समुदायका सदस्यहरूले सफा गरिरहेको जानकारी दिँदै उनले सबैप्रति आभार व्यक्त गरे। र आम नागरिकलाई पनि जसको घर वा सम्पत्तिमा क्षति पुगेको छ, त्यहाँ गएर सहयोग गर्न अपिल गरे।
उनले सार्वजनिक सम्पत्ति, विशेषगरी ध्वस्त भएका प्रहरी चौकीहरूको पुनर्निर्माणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। ‘प्रहरी चौकीहरू ध्वस्त भएका छन्, जसले गर्दा मानिसहरू असुरक्षित महसुस गरिरहेका छन्,’ थापाले भने, ‘त्यसैले सुरुवातमै ‘ल–एण्ड–अर्डर’ कायम गर्नु प्राथमिक आवश्यकता हो। प्रहरी चौकीहरूको पुनर्निर्माणमा सबैले सकेको सहयोग गर्नुपर्छ।’
महामन्त्री थापाले यो विनाशलाई नेपालको इतिहासमै ‘अभूतपूर्व’ भन्दै भूकम्पले समेत यति ठूलो क्षति नपुर्याएको सुनाए। आगामी दिनमा राजनीतिक हिसाब–किताब हुने र दोषीले दण्ड पाउने भए पनि अहिलेको पहिलो प्राथमिकता राष्ट्रको पुनर्निर्माण भएको उनको भनाइ थियो।
‘सजिलो छैन, तर यो हाम्रो जिम्मेवारी हो। हामीले दुःख गर्नकै लागि यो बाटो (राजनीतिको) रोजेका हौं, अझै धेरै कठिनाइ सहेर अघि बढ्न तयार छौं,’ उनले भने।
प्रकाशित: २८ भाद्र २०८२ २०:४० शनिबार





