२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

सचिवालयदेखि संगठनसम्म : रास्वपा महाधिवेशनमा प्रधानमन्त्री टिमको आकांक्षा बढ्दो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन यतिबेला नेतृत्व चयन, शक्ति सन्तुलन र भावी राजनीतिक दिशा तय गर्ने महत्वपूर्ण मोडमा पुगेको छ।  

देशभरबाट आएका प्रतिनिधिहरूबीच नेतृत्वका आकांक्षीहरूको चर्चा चुलिँदै जाँदा प्रधानमन्त्री सचिवालयसँग प्रत्यक्ष जोडिएका केही प्रभावशाली अनुहारहरू विशेष चासोको विषय बनेका छन्।

सरकार सञ्चालनको अग्रपंक्तिभन्दा पर्दापछाडि बसेर नीति निर्माण, प्रशासनिक समन्वय र सुशासनका एजेन्डा कार्यान्वयनमा भूमिका खेल्दै आएका प्रधानमन्त्री सचिवालयका सदस्यहरू अब पार्टीको औपचारिक संगठनभित्र कस्तो स्थान बनाउने तयारीमा छन् भन्ने प्रश्न महाधिवेशनस्थलमा प्रमुख बहस बनेको छ।

सबैभन्दा बढी चर्चा प्रधानमन्त्रीका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकालको छ। पार्टी समायोजनदेखि सरकारको सुशासन अभियानसम्म सक्रिय भूमिका निर्वाह गरेका ढकालले केन्द्रीय सदस्य (खुला) तर्फ उम्मेदवारी दिएपछि उनी संगठनभित्र पनि प्रभाव विस्तार गर्ने दौडमा देखिएका छन्।

यता प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम साह मुस्लिम क्लस्टरबाट केन्द्रीय सदस्यमा लगभग निश्चित भइसकेका छन्। यसले सचिवालयभित्र रहेका प्रभावशाली टोली अब संगठन संरचनामा समेत स्थापित हुन खोजिरहेको संकेत गरेको छ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव सुबास शर्मा पनि महाधिवेशनमा चर्चाको अर्को केन्द्र बनेका छन्। औपचारिक उम्मेदवारी घोषणा नगरे पनि सिंहदरबारको राजनीतिक र प्रशासनिक निर्णय प्रक्रियामा प्रभावशाली मानिएका शर्मा महाधिवेशनको शक्ति समीकरण नजिकबाट नियालिरहेका पात्रका रूपमा हेरिएका छन्।

यसैबीच प्रधानमन्त्रीका स्वकीय सहसचिव सञ्जीव पाण्डे तथा स्वकीय उपसचिव विशाल अधिकारी र प्रकृति ढकालको नाम पनि संगठन नेतृत्वको सम्भावित सूचीमा बलियो रूपमा चर्चामा छ। उम्मेदवारी घोषणा गरिसकेकी प्रकृति ढकाल प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाट र समर्थन जुटाउने अभियानमा सक्रिय देखिएकी छन्। उनलाई पार्टीभित्र युवा पुस्ताको उदाउँदो प्रतिनिधिका रूपमा समेत हेरिएको छ।

विशाल अधिकारी भने उम्मेदवारभन्दा रणनीतिकारको भूमिकामा बढी देखिएका छन्। महाधिवेशन व्यवस्थापन, समूह समन्वय र नेतृत्व तहबीच संवाद गराउने भूमिकामा उनको सक्रियता उल्लेखनीय रहेको सहभागीहरू बताउँछन्।

त्यस्तै प्रधानमन्त्रीका विश्वासपात्र मानिने सञ्जीव पाण्डे पनि प्रतिनिधिहरूसँग सरकारका उपलब्धि, सुशासनका प्रयास र जनतामुखी कार्यक्रमबारे संवादमा व्यस्त छन्। उम्मेदवारीबारे स्पष्ट संकेत नदिए पनि उनको नाम सम्भावित नेतृत्व आकांक्षीहरूको सूचीमा निरन्तर चर्चामा छ।

महाधिवेशनमा सचिवालयका यी अनुहारहरूमध्ये सुदीप ढकाल र प्रकृति ढकाल प्रत्यक्ष चुनावी प्रतिस्पर्धामा उत्रिने लगभग निश्चित मानिएको छ। बाँकी अनुहारहरू चुनावी प्रतिस्पर्धामा जाने वा मनोनयनमार्फत नेतृत्वमा पुग्ने भन्ने विषय अझै खुल्न बाँकी छ।

चितवनमा अहिले एउटै प्रश्न गुञ्जिरहेको छ, सरकार सञ्चालनमा प्रभावशाली देखिएका यी अनुहारहरूले अब पार्टी संगठनको शक्ति संरचनामा कति मजबुत उपस्थिति जनाउनेछन् ? यसको उत्तर भने महाधिवेशनको अन्तिम परिणामले तय गर्नेछ।

प्रकाशित: ९ असार २०८३ १४:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App