त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका पूर्वसचिव तथा वरिष्ठ शहरी योजनाविद् किशोर थापा नियुक्त भएका छन्। प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले थापालाई उक्त जिम्मेवारीमा नियुक्त गरेका हुन्।
यससँगै आयोगको सदस्यमा रेजिना मास्के नियुक्त भएकी छन्।
शिक्षा तथा खेलकुदमन्त्री एवं सहकुलपति सस्मित पोखरेलको नेतृत्वमा गठित सिफारिस समितिले आवेदन, मूल्यांकन र अन्तर्वार्तापछि तीन जनाको नाम कुलपतिसमक्ष सिफारिस गरेको थियो। सोही आधारमा थापाको नियुक्ति भएको हो।
चार दशकभन्दा बढी निजामती सेवामा अनुभव हासिल गरेका थापाले शहरी विकास, शिक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलगायत विभिन्न निकायमा सचिवका रूपमा काम गरेका छन्। उनी राष्ट्रिय आवास योजना, राष्ट्रिय शहरी विकास रणनीति तथा प्राविधिक शिक्षा नीतिजस्ता महत्वपूर्ण कार्यक्रमको निर्माण र कार्यान्वयनमा संलग्न रहेका छन्।
यस नियुक्तिसँगै त्रिभुवन विश्वविद्यालयको प्रशासनिक सुधार, योग्य जनशक्ति छनोट प्रक्रिया तथा संस्थागत सुशासनलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
प्रकाशित: १७ असार २०८३ १९:२९ बुधबार





