१९ मंसिर २०८२ शुक्रबार
image/svg+xml
राजनीति

राजनीतिमा पूर्वप्रहरी: नेता हुने रहर कि शक्तिमोह?

प्रहरीमा ‘सिंघम’ छवि बनाएका तर राजनीतिबाट टाढा रहेका प्रहरी अधिकृतहरूलाई यतिबेला राजनीतिमा लागेर देश बनाउने हुटहुटी जागेको छ। जेनजी आन्दोलनपछि मात्र नभएर त्यसभन्दा अघिदेखि नै प्रहरी अधिकृतहरू अवकाशपछिको जीवनलाई राजनीतिसँग जोडेर देश बनाउने अभियानमा जुटिरहेका थिए।

पूर्वआइजिपी सर्वेन्द्र खनालले निर्वाचन आयोगमा ‘समुन्नत नेपाल पार्टी’ नै दर्ता गरिसकेका छन्। उनी अहिले संगठन विस्तारमा लागेका छन्। जेनजी युवासँग उनको वार्ता चलिरहेको छ। दलहरूप्रति आक्रामक भाषण गर्दै अघि बढेका खनालले केही दिनपछि दल घोषणा गर्ने बताएका छन्। ‘केही दिनमा पार्टीको घोषणासभा हुन्छ, त्यसपछि मात्रै बोल्छु,’ उनले भने।

 खनालले एमालेबाट दुई पटक टिकट लिएर प्रतिनिधिसभाको निर्वाचनमा भाग लिइसकेका छन्। राजनीतिमा लागेका व्यक्ति भ्रष्ट हुँदा जनताले दुःख पाएको भन्दै पूर्वप्रहरी अधिकारीहरू राजनीतिमा आउन थालेका छन्।

पूर्वएआइजी विश्वराज पोखरेल शुक्रबार मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रोजेका छन्। विगतमा कांग्रेस र एमालेको काँध चढेर बढुवा खाएका उनले पुराना पार्टीहरूले केही नगरेको र आफूलाई आइजिपी हुन नदिएको आरोप लगाउँदै आएका छन्।

विगतमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको जोडबलमा संगठनका अन्य अधिकारीलाई अन्याय गर्दै बढुवा भएका पूर्वएआइजी पोखरेल यतिबेला भने देश बनाउने भन्दै रास्वपामा प्रवेश गरेका छन्। पुराना दलहरूको काँध चढेर बिजुली गतिमा बढुवा भएका पोखरेलले अहिले रास्वपामा प्रवेश गरेर बिजुली गतिमै देशनिर्माणमा लाग्ने भन्दै चर्को भाषण दिइरहेका छन्।

कुनै बेला बाबुराम भट्टराईको पार्टीमा लागेका पूर्वएआइजिपी गणेश राईले पनि देश विकास र परिवर्तनका लागि भन्दै चर्का भाषण गरेका थिए। लगातार २९ वर्ष प्रहरी सेवामा लागेका पोखरेलले आफू इमानमा बाँचेको बताउने गरेका थिए। उनले आफूलाई अन्याय भएको बताइरहँदा बढुवा हुँदा अरूलाई अन्याय गरेको विषयमा भने केही बताउँदैनन्।

पोखरेल शुक्रबार रास्वपामा प्रवेश गरेका हुन्। एउटै बिजुली गतिमा बढुवा भएर १७ महिनाअघि एआइजी भए पनि आफ्नै ब्याची धिरजप्रताप सिंह आइजिपी भएपछि पोखरेलले राजीनामा दिएका थिए। उनले त्यतिबेला आइजिपी बन्न आफूलाई कांग्रेस सभापति शेरबहादुर देउवाका तर्फबाट पैसा मागिएको आरोपसमेत लगाउँदै आएका छन्।

२०४९ चैत १२ गते प्रहरी निरीक्षक (इन्सपेक्टर) पदबाट भर्ना हुँदा एआइजी पोखरेल आठौं नम्बरमा थिए। आइजिपी नियुक्त गरिएका सिंह भने एक नम्बरमै थिए। त्यसपछि २०६२ साउन ११ गते प्रहरी नायब उपरीक्षक (डिएसपी) मा बढुवा हुँदा सिंह एक नम्बरमै हुँदा पोखरेल २४ नम्बरमा पुगेका थिए। त्यसपछि उनीहरूको समूहको २०६९ माघ ११ गते एसपीमा बढुवा भयो। उक्त बढुवामा पनि सिंह एक नम्बरमै रहँदा पोखरेल ७ नम्बरमा अटाएका थिए। ईश्वर पोखरेलले बोक्न थालेपछि उनी अगाडि आएका हुन्।

२९ वर्ष नेपाल प्रहरी  संगठनमा रहेका पूर्वडिआइजी रमेश खरेलले नेपाल सुशासन पार्टी खोलेका थिए। सुशासन पार्टीबाट उनी २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नं. १ बाट उम्मेदवार बनेका थिए। त्यसपछि बारामा भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा उनी रास्वपाबाट उम्मेदवार भएका थिए।

खरेल अहिले निष्क्रिय, चुपचाप छन्। सरकारले तत्कालीन डिआइजी सर्वेन्द्र खनाललाई प्रहरी प्रमुखमा नियुक्त गरेपछि २०७४ चैत २८ गते खरेलले राजीनामा दिएका थिए। खरेल २०४५ सालमा भलिबल खेलाडीका रूपमा नेपाल प्रहरीमा भर्ना भएका थिए। उनले पूर्वआइजिपी सर्वेन्द्र खनाल र पूर्वएआइजी पुष्कर कार्कीसँगै २०४६ साल माघ २९ गते प्रहरी निरीक्षकको परीक्षा उत्तीर्ण गरेपछि डिआइजीमा समकालीन र एक नम्बरमा रहेका सर्वेन्द्र खनाल आइजिपीमा नियुक्त भएपछि खरेल बाहिरिएका थिए।

प्रहरीमा रहँदा राजनीतिक दलको फेरो समात्नेहरू अहिले राजनीतिमा लागेका छन्। प्रहरीमा राजनीति निम्त्याउनेहरू राजनीतिक हस्तक्षेपले विकृति निम्त्याएको बताउँदै राजनीतिज्ञ बन्ने प्रयासमा छन्। २०७४ असोज २० गते नेपाल प्रहरीका तत्कालीन डिआइजी नवराज सिलवाल नेकपा एमाले प्रवेश गरेका थिए।

नेकपा एमाले काठमाडौं जिल्ला कमिटीले शुक्रबार आयोजना गरेको कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले सिलवाललाई टीका र माला लगाएर पार्टी प्रवेश गराएपछि उनी अहिले एमालेको बागमती प्रदेश कमिटीको निर्वाचित सचिव हुन्। तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारले जयबहादुर चन्दलाई आइजिपी नियुक्त गरेपछि सिलवाल त्यसविरुद्ध अदालत गएका थिए। कार्यसम्पादन मूल्यांकनमा चन्द सिलवालभन्दा पछाडि रहेको भन्दै अदालतले रोकिदिएपछि सरकारले प्रकाश अर्याललाई आइजिपी नियुक्त गरेको थियो।

 अदालत गएकाले सिलवाललाई सरकारले एआइजीमा समेत बढुवा गरेन। अदालतबाट पनि न्याय नपाएको भन्दै सिलवालले राजीनामा दिएका थिए। सरकार र अदालतले आफूलाई आइजिपी हुन रोकेको भन्दै उनी राजनीतिमा होमिएका थिए। सिलवाल २०७४ सालको प्रतिनिधिसभा ललितपुर क्षेत्रबाट विजयी भए। सरकारप्रतिको आक्रोश र एमालेको गठबन्धनमा रहेका सिलवालले नेपाली कांग्रेसका कडा प्रतिस्पर्धी उदयशमशेर जबरालाई पराजित गरेर सांसद भए। २०७९ सालको निर्वाचनमा पनि उनी सोही क्षेत्रबाट उम्मेदवार भए पनि पराजित भए।

त्यसैगरी पूर्वएसएसपी विक्रमसिंह थापा कांग्रेसको राजनीतिमा होमिएका थिए तर अहिले उनी त्यति चर्चामा छैनन्। अर्का एसएसपी गोविन्द साह पनि राजीनामा दिएर राजनीतिमा होमिएका थिए। गएको स्थानीय तहमा उनी स्वतन्त्रबाट उठेका थिए। साहले निर्वाचन हुनुभन्दा चार महिनाअगाडि नै राजीनामा बुझाएर चुनावमा होमिएका थिए। उनी मेयर बन्न सकेनन्। अहिले उनी गुमनाम छन्। पञ्चायतकालका डिबी लामा, खड्गजित बरालदेखि ध्रुवबहादुर प्रधानसम्म चुनावी राजनीतिमा सक्रिय थिए। प्रधान अहिले पनि राजनीतिमै छन्। गणेश राई राजनीतिबाट पलायन भइसकेका छन्।

भाग चाहिने प्रस्ताव

२०७१ सालको साउनमा पनि नेपाल पूर्वप्रहरी संगठन/परिषद्ले संविधानसभामा आफूहरूको पनि प्रतिनिधित्व हुनुपर्ने भन्दै २६ जनामा मनोनीत गर्न सरकारसँग माग गरेको थियो।

आइतबार पत्रकार सम्मेलन गर्दै नेपाल पूर्वप्रहरी संगठन/परिषदले पूर्वप्रहरीहरूले मुलुकलाई ऐतिहासिक योगदान गरेको भन्दै २६ सभासद्मा आफूहरूका तर्फबाट एक जनालाई मनोनीत गर्नुपर्ने माग गरेको थियो। त्यतिबेला परिषद्का महासचिव रहेका एसएसपी वसन्तराज कुँवरले मुलुकका थुप्रै परिवर्तनमा पूर्वप्रहरीहरूले ठुलो योगदान गरेको बताउँदै मनोनीत गर्न आग्रह गरेका थिए।

पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक कल्याण तिमिल्सिनाले आफूहरू पनि राज्यको जिम्मेवार नागरिक भएको बताउँदै विगतमा भएका राजनीतिक परिवर्तनहरूमा पूर्वप्रहरीहरूले ठुलो योगदान दिएको बताएर भाग खोजेका थिए।

प्रकाशित: १३ मंसिर २०८२ ०६:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App