त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा ज्यान गएपछि पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालले सरकारको कार्यशैलीप्रति असन्तुष्टि पोखेका छन्।
नेपालीको निधनप्रति दुःख व्यक्त गर्दै पूर्वगृहमन्त्री अर्यालले राज्य सञ्चालकहरूले नागरिकसँग सहकार्य गर्न नसकेको र द्वन्द्व बढाएको आरोप लगाएका छन्। सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्, 'कानुनी राज्य कसरी सञ्चालन हुन्छ? सर्वप्रथमः सरकार सञ्चालनकर्ता स्वयंले बुझ्नु पर्छ, अनि नागरिकसँग सहकार्य गर्नु पर्दछ। आज पनि देशमा नागरिकहरूसँग सहकार्य होइन, प्रतिद्वन्द्विता बढाउने क्रम जारी छ। फेरि पनि मुलुकलाई द्वन्द्व र अनिष्टको दुष्चक्रमा फसाउने गल्ती नहोस्।'
अर्यालले कानुनी राज्यको मेरुदण्ड नै कानुनी शासन भएको बताउँदै सरकारको दोहोरो मापदण्डप्रति आपत्ति जनाएका छन्। उनले थप भनेका छन्, 'कानुनी राज्यमा नागरिकले मात्र होइन, सरकारले पनि विधिविधानको सही रूपमा पालना गर्नु पर्दछ। सबै विचारधारा, वर्ग समुदायहरूका नागरिकसँगको सहकार्यमा सत्य, निष्ठा र मानवताको आधारमा राज्य सञ्चालन हुनु पर्दछ। स्पष्ट छ कि, सुशासनको मेरुदण्ड कानुनी शासन हो। तर कानुनी शासन भएको देशमा आम नागरिकहरूलाई सास्ती नै सास्ती र सरकार सम्बद्ध व्यक्तिहरूलाई चाहिँ उन्मुक्ति नै उन्मुक्ति हुनुहुदैन। अहिले पनि लक्षणहरू राम्रा देखिएका छैनन्।'
उनले नेपाली र उनको परिवारले न्याय पाउनुपर्ने माग अघि सारेका छन्। त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका मुगुका नेपालीको स्वास्थ्य अवस्था जटिल भएपछि वीर अस्पतालको ‘आइसियु’मा उपचार भइरहेको थियो। सरकारले उनलाई थप उपचारका लागि भारत पठाउने तयारी गरे पनि स्वास्थ्य अवस्थाका कारण सफल हुन सकेको थिएन।
प्रकाशित: २६ असार २०८३ १४:११ शुक्रबार





-600x400.jpg)