१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

अर्थमन्त्री-राजदूत भेट : दक्षिण कोरियाले नेपालमा लगानीका लागि सहजीकरण गर्ने

अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि कोरिया गणतन्त्रका राजदूत पार्क ते यङबीच सोमबार भेट भएको छ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री खनालले कोरिया र नेपालबीच रहेको दुईपक्षीय कूटनीतिक सम्बन्धको चर्चासहित कोरिया सरकारले प्रदान गर्दै आएको निरन्तर सहयोगका लागि धन्यवाद दिएका थिए। साथै कोरियाको सहयोगमा सञ्चालन भएका आयोजना तथा कार्यक्रमहरूको अवस्था सन्तोषजनक रहेको विषय उल्लेख गर्दै कोरियासँगको आर्थिक साझेदारीलाई निरन्तरता दिने उनको भनाइ थियो।  

भेटमा राजदूत पार्कले कोरिया सरकारको एजेन्सी कोइका र नेपाल सरकार बीचको द्विपक्षीय सम्बन्ध स्थापनाको ३० वर्ष पुगेको र उक्त अवधिमा नेपालले कोरिया र कोइकासँग गरेको समन्वय र सहकार्यका लागि आभार व्यक्त गरेका थिए। कोरियन लगानीकर्तालाई नेपालमा लगानीका लागि प्रोत्साहित गर्न र नेपाली उत्पादनहरूको प्रवर्द्धनका लागि आवश्यक सहजीकरण गर्ने उनको प्रतिबद्धता थियो।

नेपाली कामदारहरूलाई कोरिया रोजगारीका लागि लैजान सहज होस भनेर कोरिया सरकारले छुट्टै भिसा सेन्टर स्थापना गर्न लागेको जानकारी गराउँदै राजदूत पार्कले ईपियस प्रणाली अन्तर्गत रोजगारीका लागि कोरिया गई फर्किएका नेपाली नागरिकहरूको उद्यमशिलता प्रवर्द्धनका लागि नयाँ व्यवसाय सञ्चालन गर्न कोइकाको सहयोगमा कृषि विकास बैंकमार्फत् सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन प्रक्रिया अगाडि बढाइएको बताए। त्यसका लागि आवश्यक सहजीकरण गरिदिन अर्थमन्त्री खनाललाई उनको आग्रह थियो।

प्रकाशित: १७ कार्तिक २०८२ १३:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App