नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाको नेतृत्वमा बदलिएको कांग्रेसले सबैलाई सम्मान गर्ने बताएका छन्।
मंगलबार यहाँस्थित गजेन्द्र चौकमा चुनावी सभालाई सम्बोधन गर्दै उनले मधेस आन्दोलनलाई सम्मान गर्दै गजेन्द्रनारायण सिंहको योगदान कहिले बिर्सने योग्य नरहेको समेत उल्लेख गरे। मधेस आन्दोलनकै कारण सङ्घीयता आएको स्मरण गराउँदै उनले सङ्घीयता कसैको चाहनामा कमजोर नहुने बताए।
यसअघि उनले स्व. गजेन्द्रनारायण सिंहको शालिकमा माल्यार्पण गरेका थिए। कांग्रेसको चुनावी भेलामा जसपा नेपालका समानुपातिक उम्मेदवार विजय गुप्तासहित दुई दर्जनभन्दा बढी जेनजी युवा कांग्रेसमा प्रवेश गरेका थिए।
पार्टी प्रवेश गर्नेमा राजविराज नगरपालिकाका मो. सज्जाद, सुल्तान, अकबर, अनवर, आजम, मेराज, जाफिर, आफतोप, इसमाइल, आयुसलगायत छन्। महादेवा गाउँपालिकाका मो. वासिम, तबरेज, अबदुल, मुकिम, इर्शाद, अरवाज, इजहारुल, हारुन, इवरान, इरफानसहितका नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
नवप्रवेशी युवालाई कांग्रेसका सप्तरी क्षेत्र नम्बर २ का उम्मेदवार रामकुमार यादव, राष्ट्रियसभा सदस्य रञ्जित कर्ण, पार्टीका जिल्ला सचिव सनत मण्डल, मधेस प्रदेशकी सहमहामन्त्री विन्दु यादव, नेताहरू इर्शाद अन्सारी, संविधानसभा सदस्य सकलदेव सुतिहार, नेता जितेन्द्रनारायाण देवसहितकाले स्वागत गरेका थिए।
प्रकाशित: १३ फाल्गुन २०८२ ०८:२९ बुधबार





