२३ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

सर्वोच्चको आदेश कुर्दै फतुवा विजयपुर, नगर सभाको मिति धकेलिँदै

रौतहटको फतुवा विजयपुर नगरपालिकाको बजेट अधिवेशन अहिलेसम्म हुन सकेको छैन । भ्रष्टाचार मुद्दामा निलम्बनमा परेका नगर प्रमुख गोपाल प्रसाद यादवमाथि सर्वोच्च अदालतको आदेश कुर्दै नगरसभा धकेलिँदै गएको हो ।  

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवा ठेक्कामा भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेपछि दुई वर्षदेखि यादव निलम्बनमै छन् । दोस्रो कार्यकालका लागि निर्वाचित यादवलाई विशेष अदालतले दोषी ठहर गरेपछि सर्वोच्च गएका हुन् । यादवसँगै निलम्बनमा परेका सबै जनाले विशेष अदालतबाट सफाइ पाइसकेका छन् । अन्यले पाएकै सफाइको नजिरमा आफूले पनि सर्वोच्चबाट सफाइ पाउने आशा यादवको छ ।  

अदालतले मंगलबारका लागि पेसि तोकेपनि सुनुवाइ भने हुन सकेन ।  

साउन २७ मंगलवार पेसी तोकिएपछि फैसला हुने आशामा साउन ३० मा नगरसभा राखिएको थियो । असार १० मा हुनुपर्ने साउन ३० का लागि तोकिएको थियो । गत साउन २२ मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कालिप्रसाद रिजालको नेतृत्वमा नगरपालिकामा आएको टोलीसितको समन्वयमा नगरसभा साउन ३० मा गर्ने निर्णय भएको थियो ।  

कार्यपालिका सदस्य तथा नगरपालिका कार्यालयले पनि निलम्बित नगर प्रमुख यादवको पेसीलाई विचार गर्दै नगरसभाको तिथि निर्धारण गरेका थिए ।  

सर्वोच्चमा साउन २७ मा यादवको मुद्दाको सुनुवाइ नभएपछि नगरसभा फेरि अन्यौलग्रस्त बन्ने सम्भावना बढेको एक जना वडाध्यक्ष बताउँछन् ।  

फतुवा विजयपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादवले असोज पहिलो हप्तादेखि नै दशैँ आउने हुनाले साउन ३० मा नगरसभा सम्पन्न गर्न कानुनी तथा नैतिक दबाब रहेको बताएका छन् ।

प्रकाशित: २७ श्रावण २०८२ १६:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App