१८ आश्विन २०८३ आइतबार
image/svg+xml
राजनीति

ऊर्जा मन्त्रालयको कार्यक्षेत्र विस्तार, जल तथा मौसम विज्ञानमा थप जिम्मेवारी

नेपाल सरकारले ‘नेपाल सरकार कार्य विभाजन) (पहिलो संशोधन) नियमावली, २०८३’ जारी गर्दै मन्त्रालयहरूको कार्यक्षेत्र र जिम्मेवारीमा फेरबदल गरेको छ। नेपालको संविधानको धारा ८२ को उपधारा (१) ले दिएको अधिकार प्रयोग गरी मन्त्रिपरिषद्ले नियमावली संशोधन गरेको हो। 

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना असोज २ गते राजपत्रमा प्रकाशित भएसँगै संशोधित नियमावली लागू भएको हो। 

संशोधनसँगै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको कार्यक्षेत्र विस्तार भएको छ। नियमावलीको अनुसूची–२ को क्रमसङ्ख्या ४ मा रहेको उक्त मन्त्रालयको कार्य विभाजनमा बुँदा नम्बर ७ पछि ७कदेखि ७ञसम्म १० वटा नयाँ बुँदा थपिएका छन्। 

नयाँ व्यवस्थाअनुसार जल तथा मौसम विज्ञानसम्बन्धी सम्पूर्ण नीतिगत, प्राविधिक तथा अनुसन्धानात्मक कार्य ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको कार्यक्षेत्रमा समेटिएको छ। 

मन्त्रालयलाई जल तथा मौसम विज्ञानसम्बन्धी नीति, कानुन तथा मापदण्ड निर्धारण, कार्यान्वयन र नियमन गर्ने जिम्मेवारी दिइएको छ। त्यस्तै जल तथा मौसम विज्ञानसम्बन्धी तथ्याङ्क सङ्कलन, संशोधन, भण्डारण र वितरणका साथै अध्ययन, अनुसन्धान र अन्वेषण तथा अन्तर्राष्ट्रिय सङ्घ–संस्थासँग सहकार्य गर्ने जिम्मेवारीसमेत थपिएको छ। 

संशोधित कार्यविभाजनअनुसार जल विज्ञान, मौसम, बाढी, पहिरो, हिमपहिरो तथा नदी प्रवाहको पूर्वानुमान र पूर्वसूचना प्रणालीको विकास तथा विस्तार पनि ऊर्जा मन्त्रालयको जिम्मेवारीमा परेको छ। 

यसैगरी हवाई मौसम, मौसम प्रविधि, अवलोकन सञ्जाल, मौसमी राडार, रेडियोसोन्डे, चट्याङ नेटवर्क तथा सौर्य विकिरण केन्द्रको व्यवस्थापन, पर्वतीय तथा हिम मौसम सेवा र स्वचालित जल मापन केन्द्रको सञ्चालन तथा सूचना प्रवाहसम्बन्धी काम पनि मन्त्रालयको कार्यक्षेत्रमा समेटिएको छ। 

हिममण्डल, हिमनदी तथा हिमतालको तथ्याङ्क सङ्कलन, जोखिम न्यूनीकरण तथा अनुगमन र जलवायु परिवर्तनले जल तथा मौसम क्षेत्रमा पारेको असरसम्बन्धी अध्ययनको जिम्मेवारीसमेत ऊर्जा मन्त्रालयमा थपिएको छ। 

यस्तै, जल तथा मौसम विज्ञान क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ–संस्थासँग सन्धि, सम्झौता, सम्पर्क तथा समन्वय गर्ने जिम्मेवारी पनि संशोधित नियमावलीले ऊर्जा मन्त्रालयलाई दिएको छ। 

त्यसैगरी संशोधन नियमावलीले कृषि, वन तथा वातावरण मन्त्रालयको कार्यक्षेत्रमा समेत फेरबदल गरेको छ। अनुसूची–२ को क्रमसङ्ख्या ६ मा रहेको उक्त मन्त्रालयको कार्य विभाजनबाट बुँदा नम्बर ४७, ५५, ५६, ५७ र ५८ हटाइएको छ। 

यससँगै जल तथा मौसम विज्ञानसँग सम्बन्धित नीति, पूर्वानुमान, पूर्वसूचना, तथ्याङ्क, अनुसन्धान तथा अवलोकन प्रणालीलगायतका विषय अब ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको कार्यक्षेत्रअन्तर्गत सञ्चालन हुने भएका छन्। 

प्रकाशित: १८ आश्विन २०८३ १३:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App