९ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव योगेश भट्टराईले आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा सदस्यको निर्वाचन तोकिएकै समयमा सम्पन्न हुनुपर्नेमा जोड दिए ।  

निर्वाचन प्रक्रिया अघि बढिसकेकाले अब कुनै पनि बहानामा चुनाव रोक्ने वा सार्ने विकल्प नरहेको उनको भनाइ छ ।

आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै भट्टराईले दलहरूले समानुपातिकतर्फको उम्मेदवार सूची बुझाइसकेको र माघ ६ गते प्रत्यक्षतर्फको मनोनयन दर्ता हुन लागेकाले निर्वाचनबाट पछि हट्ने अवस्था नरहेको बताए ।

फागुन २१ गते तराई क्षेत्रमा होली तथा हिमाली जिल्लामा सम्भावित हिमपातजस्ता व्यावहारिक कठिनाइ रहेको स्वीकार गर्दै उनले निर्वाचनलाई आवश्यक परे चरणबद्ध रूपमा सञ्चालन गर्न सकिने सुझाव दिए । उनले भने, ‘काठमाडौँ उपत्यकाजस्ता सहज क्षेत्रमा पहिलो चरणमा र मौसम प्रतिकूल हुने हिमाली तथा तराईका जिल्लामा दोस्रो वा तेस्रो चरणमा गरेर भए पनि फागुनमै चुनाव हुनुपर्छ।’

देशलाई लामो समयसम्म सङ्क्रमणकालमा राख्दा संविधान र लोकतन्त्रमाथि नै सङ्कट आउन सक्ने चेतावनी दिँदै भट्टराईले संसदीय प्रणालीलाई जीवित राख्न निर्वाचन नै एकमात्र विकल्प रहेको बताए । उनले भने, ‘सङ्क्रमणकाल लम्बिँदा लोकतन्त्रविरुद्ध षड्यन्त्र हुनसक्छ, त्यसैले समयमै निर्वाचन अपरिहार्य छ।’

 

प्रकाशित: १८ पुस २०८२ २०:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App