नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिमा विरोधी र शत्रुहरू हुनु स्वाभाविक र सकारात्मक भएको टिप्पणी गरेका छन्।
बेलायती प्रधानमन्त्री विस्टन चर्चिलको भनाइ उद्धृत गर्दै उनले विरोधी हुनुले व्यक्तिले आफ्नो जीवनमा केही महत्त्वपूर्ण अडान लिएको पुष्टि गर्ने बताए।
शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले भने, ‘चर्चिलले भनेका छन्, के तपाईंका शत्रु छन् ? यो राम्रो कुरा हो। यसको अर्थ तपाईंले आफ्नो जीवनमा कुनै न कुनै बेला केही न केही कामका लागि अडान लिनुभएको छ। त्यसैले तपाईंका तीव्र र प्रखर विरोधी छन् भने खुसी हुनुहोस्।’
अध्यक्ष ओलीले इतिहास र पौरामिक कालखण्डको चर्चा गर्दै राम्रा काम गर्नेहरूले सधैं दुःख पाएको उदाहरण दिए।
‘रामले वनवास जानुपर्ने कुनै अपराध गरेका थिएनन्, तर १४ वर्ष वनवास जानुपर्यो। पाण्डवहरूले पनि शकुनी र दुर्योधनका जालझेलका कारण वनवास भोग्नुपर्यो,’ उनले भने, ‘सत्य र न्यायको पक्षमा लाग्दा दुष्टहरूले सधैं अवरोध गर्छन्।’
झापा विद्रोह, सुखानी हत्याकाण्ड र नख्खु जेल ब्रेकको स्मरण गर्दै उनले एमाले प्रशंसाका लागि नभई सत्य र न्यायको पक्षमा लड्ने पार्टी भएको दाबी गरे।
‘हामी प्रशंसाको पछि होइन, सत्य र देश बनाउने अभियानको पछि हिँड्ने मान्छे हौँ,’ ओलीले भने।
प्रकाशित: १० माघ २०८२ १५:४० शनिबार





