२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

२४ सै घण्टा बिजुली दिने हाम्रो पनि चाहना हो: ऊर्जामन्त्री

फाइल तस्बिर।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले सरकार नागरिकलाई २४ सै घण्टा निरन्तर बिजुली उपलब्ध गराउन प्रतिबद्ध रहेको तर पुराना र कमजोर पूर्वाधारले गर्दा चुनौती थपिएको बताएका छन्।

आइतबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खड्काले सरकारको चाहना, दबाब र चुनौती सबै बिजुली आपूर्तिलाई सहज बनाउनमा केन्द्रित रहेको स्पष्ट पारे।

‘हामीहरूलाई दबाब छ, चुनौती छ, र सरकारको चाहना पनि छ कि २४ सै घण्टा विद्युत आपूर्ति गर्न सकियोस्,’ मन्त्री खड्काले भने, ‘हाम्रो लक्ष्य हामीलाई आवश्यक परे जति विद्युत आफैँ उत्पादन गरेर खपत गर्ने र बढी भएको विद्युत निर्यात गरेर मुलुकलाई समृद्ध बनाउने हो।’

उनले देशको विकास र समृद्धिको अभियानमा ऊर्जा क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताए। तर, दशकौँ पुराना प्रसारण लाइन र ट्रान्सफर्मरका कारण विद्युत आपूर्तिमा समस्या आइरहेको उनले स्वीकार गरे।

‘२१ वर्ष अगाडि एउटा गाउँमा तानेका तारको अवस्था अहिले के होला ? अहिले घर संख्या बढेको छ, क्षमता बढेको छैन,’ उनले भने, ‘अहिले भर्खरै ‘ट्रिपिङ’ को समस्या आइरहेको छ। यो भनेको क्षमता र भार धान्न नसक्नु हो। यसमा व्यापक परिवर्तन गर्नुपर्नेछ।’

मन्त्री खड्काले छिमेकी मुलुकहरूले आर्थिक र प्राविधिक क्षेत्रमा ठूलो प्रगति गरिसकेको उल्लेख गर्दै नेपालले पनि त्यो गतिलाई पछ्याउनुपर्नेमा जोड दिए। उनले भने, ‘हामी हेरेर मात्र बस्न सक्दैनौँ। त्यो विकासलाई पछ्याउने रहर हरेक नेपालीलाई छ, र त्यसका लागि हामी सबैले हातेमालो गर्नुपर्छ।’

उनले सामुदायिक स्तरबाट पनि ऊर्जा उत्पादन र व्यवस्थापनमा नयाँ सोच र लगानीका लागि अघि बढ्न आग्रह गरे। ‘पुरानै कुरामा अल्झिएर हुँदैन, नयाँ खोजी गर्नुपर्छ,’ उनले भने, ‘हामी सब मिलेर गर्ने हो भने असम्भव केही छैन।’ 

प्रकाशित: ११ श्रावण २०८२ १६:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App