नेपालका सबैभन्दा अग्ला व्यक्ति भनेर चिनिने राजन अधिकारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि राज्यले प्रतिशोध साँधेको बताएका छन्।
शुक्रबार रास्वपाको केन्द्रीय कार्यालय ‘घण्टी घर’ पुगेर लामिछानेको समर्थनमा जारी हस्ताक्षर अभियानमा सहभागी हुँदै उनले यस्तो बताएका हुन्।
हस्ताक्षरपछि सञ्चारकर्मीसँग कुरा गर्दै अधिकारीले भने, ‘रविजी प्रति राज्यले प्रतिशोध साँधेको हो कि भन्ने आम नेपालीको कुरामा मेरो पनि समर्थन छ।’ उनले छानबिन समितिबाट आएका कुरा र मिडिया रिपोर्टहरूलाई नियाल्दा प्रतिशोध नै हो भन्ने आफूलाई लागेको बताए।
आफू रास्वपामा प्रवेश गर्न नभई एक स्वतन्त्र नागरिकको हैसियतमा समर्थन जनाउन आएको उनले स्पष्ट पारे। ‘म एउटा आम नेपाली, एक सिंगो व्यक्ति, नेपालको अग्लो व्यक्ति र नेपालको सम्पत्ति हुँ,’ उनले भने, ‘मैले कुनै पार्टी प्रवेश गरेर राजनीति गर्नुपर्छ भन्ने लाग्दैन। समाज परिवर्तन गर्ने कुरामा रास्वपा मात्र होइन, अन्य पार्टीलाई पनि मैले साथ सहयोग गर्नुपर्छ।’
उनले देशको बिग्रँदो व्यवस्था सुधार्न युवाहरू राजनीतिमा आउनु अत्यावश्यक रहेको बताए। ‘अहिलेको विकृत व्यवस्थालाई सुधार्न सम्पूर्ण दायित्व युवामाथि छ। यसमा सबै युवाले चासोको विषय लिनुपर्छ,’ अधिकारीले भने।
आगामी २०८४ को निर्वाचनमा संसदमा देखिन सक्ने सम्भावनाबारे सोधिएको प्रश्नमा उनले तत्काल यसबारे नसोचेको बताए। ‘मैले यो विषयमा अहिले सोचेको छैन,’ उनले भने।
अधिकारीले राज्यले आफूजस्ता अग्ला तथा होचा व्यक्तिहरूको समस्या बुझेर उनीहरूका लागि विशेष नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड दिए। ‘होचा व्यक्तिको पीडा के छ, अग्ला व्यक्तिको समस्या के छ भन्ने कुरा राज्यले बुझ्नुपर्छ,’ उनले भने, ‘राज्यले अहिलेसम्म कदर गरेको छैन।’
प्रकाशित: १६ श्रावण २०८२ १८:५१ शुक्रबार





