मधेस प्रदेशमा जितेन्द्र सोनार(सोनल) नेतृत्वको सरकार २५ दिनमै ढल्न पुग्यो । कारण थियो, माओवादीभित्रको आन्तरिक द्वन्द्व र गठबन्धन दलबीचको कमजोर समन्वय ।
जेन–जी आन्दोलनपछि विकास भएको आत्मसम्मान र पारदर्शीताको भावना माओवादीभित्र प्रष्ट देखियो । माओवादी मधेस प्रदेश संसदीय दलका नेता भरत साहले सोनललाई समर्थन गरेपनि आफ्ना दलका सांसदहरुसँग भरपुर छलफल गरेको थिएन ।
जसकारण युवा सांसदहरु रहबर अन्सारी र माला कर्ण प्रदेशसभाभित्र बिद्रोहको आवाज दन्काउँदै दलभित्र लोकतन्त्र नभएको बताए । सोनल नेतृत्वको सरकारलाई विश्वासको मत नदिने उद्घोष गरे । जसले लोकतान्त्रिक समाजवादीका नेता जितेन्द्र सोनार सोनालको सरकार २५ दिनमै शनिबार ढल्यो ।
सोनल नेतृत्वको सरकारमा सहभागीताका लागि भरतप्रसाद साहले रहबर र मालाको नाम राखेको थिएन । साह आफैँ र आफ्ना पक्षका सांसदको नाम अघि सारेपछि दुई जना असन्तुष्ट बनेको स्रोतको दाबी छ ।
माओवादी मधेस प्रदेशले मधेस सरकारमा एमाले बाहेक गठबन्धन सरकार बनाउन चाहेको छ । माओवादीका दुई सांसदले समर्थन नगर्दा जितेन्द्र सोनलको सरकारले बहुहमत ल्याउन सकेन र ढल्यो । पार्टी र संसदीय दलको निर्णय विपरित गएका अन्सारी र कर्णको हकमा संसदीय दलले आवश्यक निर्णय गर्ने बताए ।
‘पार्टी निर्णय विपरित जानु गम्भीर अनुशासनको उल्लंघन गर्नु हो । संसदीय दल बसेर आवश्यक निर्णय गर्छौँ,’ उनले भने ।
उनले भने,‘पहिलाको सत्ता समिकरण कायमै छ यसमा एमाले बाहेकका दल सहभागी गराएर सरकार बनाउने अभ्यास चलिरहेको छ । ‘एमाले बाहेक गठबन्धन सरकार बनाउने प्रयास भइरहेको छ’ उनले भने ।
सोनाललाई जसपा नेपालका १८, जनमतका १३(सतिश सिंह र त्रिभुवन साह कानुनी रुपमा जनमतमै), माओवादीका ९, लोसपाका ८ र एकीकृत समाजवादीका ७ सांसदको समर्थन थियो । माओवादीका दुई सांसदले समर्थन गरेको भएको भए सोनार सरकारलाई बहुमत पुग्थ्यो । एमाले, जसपा नेपाल र लोसपाका १/१ सांसद निलम्बन परेका छन् । १ सय ७ सदस्यीय मधेश प्रदेशसभामा हाल १ सय ४ सांसद कायम छन् । बुहमत सरकार बनाउन ५३ सांसद आवश्यक हुन्छ ।
मधेसमा एमाले बाहेकको गठबन्धन सरकार गठन भए ८१ जनाको बहुमतको सरकार बन्ने छ ।
नयाँ मोड
मधेस प्रदेश सरकारको सत्ता समीकरणले आइतबार नयाँ मोड लिएको छ । आइतबार साँझ नेपाली कांग्रेससहित सात मुख्य दलहरु एक ठाउँमा उभिएका छन् । कांग्रेस, जसपा, लोसपा, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी एक ठाउँमा उभिएका छन् । आइतबार साँझ यी दलका नेता तथा प्रतिनिधिहरुले प्रदेश प्रमुख सुमित्रा भण्डारीसँग भेटघाट गर्दै नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठन गर्न अनुरोध गरेको जनता समाजवादी पार्टी नेपाल(जसपा)का प्रमुख सचेतक रामआशिष यादवले जानकारी दिए ।
उनले संविधान अनुरुप, नजिरहरुको अधारमा नयाँ सरकार गठन गर्न प्रदेश प्रमुख भण्डारी समक्ष अनुरोध गरेको सुनाए । प्रदेश प्रमुखले संविधान अनुसार नै अगाडि बढ्ने आश्वासन दिएको उनले बताए ।
नयाँ गठबन्धनअनुसार सरकारको नेतृत्व कसले गर्ने विषयमा उनले अहिले कुनै सहमति नभएको जानकारी दिए । तर, प्रदेश प्रमुखले नयाँ सरकार गठनको लागि आह्वान गरेलगत्तै गठबन्धन र सरकार बारे छलफल गर्ने उनको भनाइ छ । उनले संघीयता र संविधान जोगाउन सबै दल एकजुट भएर प्रदेश प्रमुख समक्ष अनुरोध गरेका बताए ।
नेकपा माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साहले संविधान र संघियता जोगाउन प्रदेश प्रमुखसँग भेटघाट गरेको र बाँकी कुरामा पछि छलफल गरी सहमतीमा पुग्ने बताए ।
कार्यबाहक मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल)ले पनि संविधानतः नयाँ सरकार गठन गर्न आह्वान गरेको बताए । त्यस कुरामा प्रदेश प्रमुख साकारात्मक रहेको उनले बताए । तर, नयाँ सरकार गठनको आह्वान हुन प्रदेश प्रमुखले कानुनी परामर्श र छलफलका लागि केही दिन अझै लाग्ने बताएको उनले सुनाए ।
कांग्रेसको यु टर्नपछि मधेस प्रदेशमा नेकपा एमाले बाहेकको गठबन्धन सरकार बन्ने सम्भावना बढेको छ ।
प्रदेश प्रमुखसँग भेट्न आइतबार साँझ कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव, कार्यबाहक मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल), नेकपा माओवादी केन्द्रका उपनेता युवराज भट्टराई, संसदीय दलका नेता भरत साह, जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामआशिष यादव, नेकपा एकीकृत समाजवादी पार्टीका प्रमुख सचेतक कनिश पटेल र नागरिक उन्मुक्तिका सांसद उर्मिला देवी सिंह पुगेका थिए । उनीहरुले सामूहिक रुपमा प्रदेश प्रमुख समक्ष संविधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकार गठनको लागि आह्वान गर्न प्रदेश प्रमुख समक्ष अनुरोध गरेका छन् ।
सोनल पदबाट शनिबारको प्रदेशसभा बैठकबाट राजीनामा दिएका थिएपछि प्रदेश प्रमुख भण्डारीले आइतबार दिनभरि सबै दल र संविधान विज्ञसँग परामर्श लिएकी थिइन् । तर, पनि उनले अझैसम्म नयाँ सरकार गठनको लागि आह्वान गरेकी छैनन् ।
प्रकाशित: २३ कार्तिक २०८२ २१:०६ आइतबार





