मोरङमा विहानैदेखि उत्साहजनक रूपमा मतदान भइरहेको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदानका लागि मतदाताको उत्साहजनक सहभागिता देखिएको छ।
हालसम्म मोरङमा करिब १४ प्रतिशत मत खसेको छ। मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलका अनुसार हालसम्म एक लाखभन्दा बढी मत खसिसकेको छ। मोरङमा ७ लाख ८३ हजार ५० मतदाता छन्।
निर्वाचनका समयमा मोरङमा आचारसहिंता विपरीत अनुमति नलिइ सवारी साधन चलाएको पाइएकाले केही सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको कट्टेलले जानकारी दिए। यस्तै विराटनगर, कटहरी, रतुवामाईलगायतका केही मतदानस्थल नजिक विभिन्न राजनीतिक दलहरूले भोजभतेरको आयोजना गरेको पाइएकाले त्यस्ता भोजभतेर हटाइएको उनले बताए।
मोरङको उर्लावारीमा ड्रोन प्रयोग गरेर तस्बिर खिचेको पाइएपछि उक्त ड्रोनलाई पनि नियन्त्रणमा लिइएको उनले बताए। यस्तै मोरङको सुनवर्षी नगरपालिकास्थित पटियापाडा माविको 'ग' मतदान केन्द्रमा खटिएका कर्मचारी रंजित शिवाले निर्वाचन प्रक्रियामा असहयोग गरेका कारण उनलाई फागुन २० गते राति पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी कट्टेलले जानकारी दिए।
प्रकाशित: २१ फाल्गुन २०८२ १०:३६ बिहीबार





