राज्यव्यवस्था तथा सुशासन समितिका पूर्वसभापति रामहरि खतिवडाले निजामती कर्मचारी विधेयकको मस्यौदा लेखनका क्रममा आफू र समितिलाई कर्मचारीले धोका दिएको बताएका छन् । सभापतिबाट राजीनामा दिँदै नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका खतिवडाले आफूले अन्तिममा मस्यौदा गम्भीररुपमा नहेर्नु गल्ती भएको बताए ।
मंगलबार प्रतिनिधि सभामा बोल्दै उनले भने, 'अन्तिममा जसरी अध्ययन हुनुपर्दथ्यो त्यसमा ध्यान नपुगेको म पनि स्वीकार गर्छु। स्थायी सरकार मानिने कर्मचारीप्रति विश्वास गर्नु मेरो पनि कमजोरी रह्यो।'
कुलिङ अफ पिरियडको पक्षमा अहिले पनि आफू रहेको स्पष्ट पार्दै खतिवडाले विशिष्ट कर्मचारीको चौतर्फी दबाबपछि पनि उक्त प्रावधान समितिबाट अनुमोदन गराएको बताए । खतिवडाले भने, 'यो प्रावधान राख्दा विशिष्ट कर्मचारीले प्रभाव पार्न खोजेका थिए। त्यसलाई वास्ता नगरेर हामीले नगरेर हामीले पास गरेको हो। विधेयक प्रतिवेदन लेख्ने क्रममा त्रुटि हुन पुगेको देखिन्छ। त्यो त्रुटि म बाट र राज्यव्यवस्था समितिबाट भएको होइन। आशंकायुक्त दृष्टिले नहेर्नु मेरो पनि कमजोरी रह्यो ।'
खतिवडाले प्रतिनिधि सभाबाट पारित भएको उक्त विधेयक राष्ट्रिय सभाले सच्याउनेमा विश्वस्त रहेको बताउँदै कुलिङ अफ पिरियडमा भएको छलछाम सम्बन्धमा आगामी दिनमा सत्यतथ्य बाहिर आउने विश्वास व्यक्त गरे । संसदीय छानबिन समितिले गरेको कामप्रति उनको असन्तुष्टि थियो ।
प्रकाशित: २७ श्रावण २०८२ १९:५९ मंगलबार





