राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी निर्वाचनलाई लक्षित गर्दै काठमाडौं निर्वाचन क्षेत्र नं. १ बाट गरेको उम्मेदवार सिफारिसप्रति यो क्षेत्रका ११ जना नेताले समर्थन जनाएका छन्।
वरिष्ठ कलाकार तथा राप्रपाका केन्द्रीय सल्लाहकार मदनदास श्रेष्ठसहितका नेताले पार्टीको निर्णयको पक्षमा ऐक्यबद्धता जनाएका हुन्। राप्रपाले काठमाडौं–१ बाट प्रत्यक्षतर्फ वरिष्ठ नेता पशुपति शमशेर राणा, शोभित उप्रेती, प्रतिमा श्रेष्ठ र रामेश्वर श्रेष्ठलाई सिफारिस गरेको छ। यस्तै, समानुपातिकतर्फ प्रा. डा. जयन्तनाथ खनाल, रामेश्वर श्रेष्ठ (कामपा–२९), रिना शाही वली, पुष्कर जंगम, भीमसेन पुरी र अम्बिका अर्याललाई सिफारिस गरिएको छ।
यो क्षेत्रमा अघिल्लो निर्वाचनमा उम्मेदवार रहेका रविन्द्र मिश्रलाई पुनः उम्मेदवार बनाइनुपर्ने माग गर्दै आएको एक पक्षले सिफारिसको विरोध गर्दै आएको थियो। तर, त्यस्तो विरोधको कुनै अर्थ नहुने भन्दै कलाकार श्रेष्ठसहितका नेताहरू पार्टीको निर्णयको समर्थनमा उभिएका हुन्।
सोमबार बसेको बैठकमा मदनदास श्रेष्ठसहित रामेश्वर श्रेष्ठ, विनोद दुवाडी, सरोजजंग थापा, चमन कोइराला, अम्बिका अर्याल, रिना शाही वली, शक्ति चौलागाईं, विपिन वली र रामकिशोर मिश्रले पार्टीको उम्मेदवार सिफारिस निर्णयलाई समर्थन गर्ने निष्कर्ष निकालेका छन्।
प्रकाशित: ७ पुस २०८२ १६:१९ सोमबार





