२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

चुनाव दुई चरणमा होइन, एकै दिनमा हुन्छ, ढुक्क हुनु: प्रम

प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन एकै चरणमा सम्पन्न हुने स्पष्ट पारेकी छन्।

बिहीबार जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा भइरहेको मतपत्र छपाइ कार्यको स्थलगत निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन्।

निर्वाचन दुई चरणमा हुने हल्लालाई चिर्दै प्रधानमन्त्री कार्कीले तोकिएकै मितिमा एकै दिन देशभर मतदान हुने दाबी गरिन्। ‘चुनाव दुई चोटि हुने वाला कहिँ छैन, एकै दिनमा हुन्छ,’ उनले भनिन्, ‘तोकिएको मितिमै चुनाव हुन्छ, मौसम पनि राम्रो हुन्छ।’

मतपत्र छपाइको प्रगति हेरेपछि आफू उत्साहित भएको प्रधानमन्त्रीले बताइन्। जनक शिक्षा सामग्री केन्द्र र निर्वाचन आयोगको व्यवस्थापनको प्रशंसा गर्दै उनले भनिन्, ‘हामीले निरीक्षण गर्‍यौँ, एकदम उत्साह लाग्यो। यहाँका हाकिम साबदेखि कर्मचारीले एकदमै राम्रो र छिटो छरितो तरिकाले काम गर्नुभएको छ। अब खाली जनताले छाप लगाउन मात्र बाँकी छ।’

उनले निर्वाचनको तयारीमा निर्वाचन आयुक्तको भूमिकाको समेत खुलेर प्रशंसा गरिन्। निर्वाचन सफल बनाउन ५० प्रतिशत भूमिका आयोगको परिश्रममा निर्भर रहेको बताइन्।

प्रधानमन्त्री कार्कीले निर्वाचन स्वतन्त्र र निष्पक्ष हुनेमा ढुक्क हुन आग्रह गरिन्। निर्वाचनको नतिजा आए लगत्तै नयाँ सरकारलाई सत्ता सुम्पिने उनको भनाइ थियो।

‘चुनावको रिजल्ट आउँछ, सरकार बन्छ। त्यसपछि हामी थपक्क सत्ता हस्तान्तरण गर्छौँ र आ-आफ्नो घरतिर जान्छौँ,’ उनले भनिन्।

निरीक्षणका क्रममा प्रधानमन्त्रीसँगै गृहमन्त्री ओमप्रकाश अर्याल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हा, प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित निर्वाचन आयोगका अन्य पदाधिकारीहरूको उपस्थिति थियो।

प्रकाशित: २२ माघ २०८२ १८:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App