१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
निर्वाचन विशेष

चुनावी चर्चाः सिरहा ३ मा संगठित मतलाई स्थिर राख्ने कसरतमा परम्परागत दल

सीमादेखि चुरेको फेंदसम्मै फैलिएको यो क्षेत्रमा परम्परागत दलले अहिलेसम्म चुनाव जित्दै आएको इतिहास छ । यसपाली चारैतिर ‘बालेन लहर’ चलिरहँदा परम्परागत दललाई संगठित मत जोगाउन सकस परिरहेको छ । तर, यो क्षेत्रमा पुराना दलले आफ्नो संगठित मतमाथि नियन्त्रण कायम राखेको पाइएको छ ।  

यस क्षेत्रमा सिरहा नगरपालिका, नरहा गाउँपालिकाको वडा नम्बर १ र २, विष्णुपुर गाउँपालिकाको १ र ५ नम्बर वडा, अर्नामा गाउँपालिकाको १, २ र ३ नम्बर वडा र गोलबजार नगरपालिकाको १ देखि १२ नम्बर वडा पर्छ ।  

यस क्षेत्रमा ६३ हजार ३९१ पुरुष र ५५ हजार ८५९ महिला गरी १ लाख १९ हजार २५० मतदाता छन् । यस क्षेत्रमा १३६ मतदान केन्द्र छन् ।  

अब विगतको चुनाव र परिणामलाई फर्केर हेरौँ ।  

आमनिर्वाचन २०४८ मा नेपाली कांग्रेसबाट सुरेशचन्द्र दासले १२ हजार ४८५ मत ल्याएर निर्वाचित भएका थिए । एमालेका धर्मनाथा यादवले ७ हजार ६१३ मत ल्याएका थिए ।

२०५१ को आमनिर्वाचनमा कांग्रेसबाट सुरेशचन्द्र दास १४ हजार ३५७ मत ल्याएर निर्वाचित भएका थिए । राप्रपाका कृष्णचरण श्रेष्ठले ९ हजार ३५२ मत, एमालेका धर्मनाथ यादवले ७ हजार ५९७ मत र संयुक्त जनमोर्चाका विश्वनाथ साहले ४ हजार ८६१ मत ल्याएका थिए ।

२०५६ को आमनिर्वाचनमा राप्रपाबाट कृष्णचरण श्रेष्ठले १४ हजार ३९६ मत ल्याएर निर्वाचित भएका थिए । कांग्रेसका सुरेशचन्द्र दास १२ हजार ७५१ मत, संयुक्त जनमोर्चाका रामरिझन यादवले ९ हजार ५३९ र एमालेबाट जय घिमिरेले ९ हजार १२ मत ल्याएका थिए ।

पहिलो संविधानसभा निर्वाचन २०६४ मा मधेसी जनअधिकार फोरमबाट विजयकुमार यादवले १४ हजार ८८४ मत ल्याएर निर्वाचित भएका थिए । कांग्रेसकी सीतादेवी यादवले १० हजार १२६ मत, एमालेका प्रमोदकुमार यादवले ८ हजार २९ मत, माओवादीकी बोधमाया यादवले २ हजार ३४२ मत ल्याएका थिए ।

२०७० को दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसबाट सीतादेवी यादवले ११ हजार १४२ मत ल्याएर निर्वाचित भइन् । एमालेबाट प्रमोदकुमार यादवले ७ हजार ९६४ मत, माओवादीका रामरिझन यादवले ४ हजार ४५७ मत, संघीय समाजवादी फोरमका विजयकुमार यादवले ३ हजार ९६४ मत ल्याएका थिए ।

२०७४ को निर्वाचनमा नेकपा एमालेबाट लिलानाथ श्रेष्ठले २३ हजार २७२ मत ल्याएर निर्वाचित भएका थिए । संघीय समाजवादी फोरमका अशेश्वर यादवले २१ ह्जार २२० मत र कांग्रेसका अमर रेग्मीले ११ हजार ७७८ मत ल्याएका थिए ।

२०७९ को निर्वाचनमा नेकपा एमालेबाट लिलानाथ श्रेष्ठले २८ हजार ६४ मत ल्याएर निर्वाचित भएका थिए । माओवादीका विश्वनाथ साह २६ हजार ८८२ मत, जनमत पार्टीबाट दिनेश कुमार यादवले ११ हजार १४६ मत ल्याएका थिए ।

यस निर्वाचनमा लिलानाथ श्रेष्ठ ‘ह्याट्रिक’ गर्ने दाउमा छन् । जसपाका अशेश्वर यादव र नेपाली कम्युनिष्ट पार्टीका विश्वनाथ आफ्नो पहिलो जित दर्ज गर्न प्रयास गरिरहेका छन् । कांग्रेसका डा। सुभाषचन्द्र यादव फेरिएको कांग्रेसबाट पहिलो पटक ‘नयाँ चेहरा’ को रुपमा चुनावी मैदानमा उत्रीएका छन् । रास्वपाका डा।सम्भु यादव ‘बालेन लहर’ लाई गति दिँदै प्रतिस्पर्धामा छन् ।

अब यस क्षेत्रमा पर्ने स्थानीय तहको २०७९ को चुनावी परिणामलाई हेरौं । सिरहा नगरपालिकामा एमालेका डा। नविन कुमार यादव ११ हजार १४३ मत ल्याएर निर्वाचित भएका छन् । कांग्रेसका उपेन्द्र यादवले ८ हजार ७३२ मत ल्याएका थिए भने जसपाका अशेश्वर यादवले ७ हजार ७५२ मत ल्याएका थिए ।

नरहा गाउँपालिकाको १ नम्बर वडामा कांग्रेस र ५ मा माओवादीका अध्यक्ष निर्वाचित भएका छन् ।

गोलबजार नगरपालिकामा नेकपा एमालेका श्यामकुमार श्रेष्ठ ७ हजार ९०८ मत ल्याएर निर्वाचित भएका छन् । माओवादीका देवनाथ साहले ५ हजार ७०१, कांग्रेसका राजदेव साह हलुवाईले ३ हजार ९२१ मत ल्याएका थिए ।

यस पालिकाको १ देखि १२ वडा यो निर्वाचन क्षेत्रमा पर्छ । १ नम्बरमा माओवादी, २ मा एमाले, ३ मा माओवादी, ४ मा कांग्रेस, ५ मा कांग्रेस, ६ मा एमाले, ७ मा एमाले, ८ मा एमाले, ९ मा जसपा, १० मा एमाले, ११ मा जसपा र १२ मा एमालेका वडा अध्यक्ष निर्वाचित भएका छन् ।

विगतको प्रतिनिधि र स्थानीय तह निर्वाचनको गणितले एमाले, कांग्रेस र नेकपालाई नै बलियो देखाउँछ । अर्कोतर्फ ‘बालेन लहर’ का सामुन्ने दलको संगठित मत अहिलेसम्म स्थिर रहेका कारण यस क्षेत्रमा परम्परागत दलकै उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने सिरहाको एसपी चोचको चिया चौतारामा भेटिएका सुरेन्द्र यादवले बताए ।  

प्रकाशित: १२ माघ २०८२ १८:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App