१८ माघ २०८२ आइतबार
image/svg+xml
राजनीति

चुनावी सुरक्षा अवैध हतियार चुनौती

गत कातिक २ गते राती सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनको रजकपट्टीस्थित कबिर बाबा मन्दिरका ७३ वर्षीय पुजारी रामदुलार साहको हत्या चयो । राति २ बजे उनलाई मन्दिरबाट सडकमा निकालेर पिठ्युँमा गोली हानी मारिएको थियो ।

पुजारी साह मन्दिरकै परिसरमा कुटी बनाएर एक्लै बस्दै आएका थिए । रातिको समयमा अपरिचित समूहले उनलाई कुटीबाट बाहिर ल्याएर गोली हानेर मारेको थियो । गोली चलेको थाहा पाएपछि स्थानीयले खोजतलास गर्दा पुजारी साह सडकमा रगताम्मे अवस्थामा मृत भेटिएका थिए । घटनाको जानकारी पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले दुईवटा गोलीका खोका फेला पारेको थियो ।

उक्त घटनाको करिब साढे तीन महिनापछि माघ १६ गते (शुक्रबार) दिउँसो सिरहा नगरपालिका–७ स्थित खेत खनिरहेका सिरहा– १ का ४५ वर्षीय प्रेमनाथ यादवमाथि गोली प्रहार भयो । गोली लागेर ढलेका उनले तत्कालै प्राण त्यागे ।

नजिकै काम गरिरहेका अन्य गोली चलेको आवाज सुनेर घटनास्थल पुग्दा रगतमा लतपतिएका यादवले दम तोडिसकेका थिए । सिरहा प्रहरीले घटनाको अनुसन्धान गरिरहेको भने पनि आइतबारसम्म अपराधीको सुइको पाउन सकेको छैन । घटनास्थलको चारैतिर सुरक्षा पोस्ट छन् । घटनास्थलबाट करिब दुई सय मिटर पश्चिममा सशस्त्र प्रहरी बलको बेस क्याम्प छ । घटनास्थलबाट पाँच सय मिटर पश्चिम–उत्तरमा जिल्ला प्रहरी कार्यालय, तीन सय मिटर पश्चिममा नगर प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको जिल्ला कार्यालय छन् । चारैतिर सुरक्षा पोस्ट भए पनि खेतमा काम गरिरहेका यादवलाई दिउसै गोली हानेर अपराधि सहजै उम्कन सफल हुनुले यहाँको सुरक्षालाई गिज्याएको छ ।

मुलुक निर्वाचनमय भएका बेला सुरक्षा अंग र निकायहरु उच्च सतर्क अवस्थामा रहेका बेला सिरहामा भएको यो घटनाले जिल्लाको सुरक्षा अवस्था मात्र नभई निर्वाचन सुरक्षालाई पनि चुनौती दिएको स्थानीय बुद्धिजीवी बताउँछन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेले केही छिटपुट अप्रिय घटना भए पनि चुनावलाई असर पार्ने गतिविधि रोक्न प्रहरी लागिपरेको बताए । ‘अपराधीले सुरक्षाकर्मीको आँखा छलेर केही छिटपुट घटना गराएका छन् । प्रहरीले यी सबै घटनालाई सूक्ष्म ढंगले अनुसन्धान गरिरहेको छ । चुनाव नै बिथोल्ने भन्ने विषयचाहिँ असम्भव छ । आपराधिक घटना हुन नदिन प्रहरी लागिरहेको छु’, उनले भने भने ।

सिमावर्ती क्षेत्र सुरक्षाका दृष्टिकोणबाट सधैं संवेदनशील हुन्छ । त्यसमा पनि निर्वाचनका बेला विभिन्न स्वार्थसमूह चलखेल गर्न खोज्छन् । जसले निर्वाचन सुरक्षामा चुनौती थपिदिन्छ । प्रहरी प्रधान कार्यालयले मधेस प्रदेश रहेका मातहतका सबै निकायलाई उच्च सतर्क अवस्थामा बस्न निर्देशन दिएको छ । ‘अतिसंवेदनशील, संवेदनशील निर्वाचन क्षेत्र मात्र होइन, सीमावर्ती क्षेत्रमा पनि प्रहरीले निगरानी बढाएको छ’, प्रवक्ता काफ्लेले भने ।

सिरहा र सप्तरीमा मात्र नभई मधेस प्रदेशका सबै (आठ) जिल्लालाई सुरक्षाका दृष्टिले संवेदनशील र अतिसंवेदनशील वर्गमा राखिएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्इ निर्वाचनअन्तर्गत मधेस प्रदेशका दुई हजार १६० मतदानस्थलमध्ये एक हजार २४६ अतिसंवेदनशील रहेको जनाइएको छ ।

मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार भारतीय सीमासँग जोडिएका अधिकांश मतदानस्थल अतिसंवेदनशील वर्गमा छन् । त्यस्ता मतदानस्थलमा अनुगमन तथा सुरक्षाका उपायबारे योजनाबद्ध काम भइरहेको मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता कमल थापाले बताए ।

मधेस प्रदेशमा प्रतिनिधिसभा सदस्यका ३२ वटा निर्वाचन क्षेत्र छन् । मधेस प्रदेशमा ७५५ मतदानस्थल संवेदनशील र १५९ मतदानस्थल सामान्य रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । मधेस प्रदेशभरि चार हजार ४७१ मतदान केन्द्र कायम गरिएको छ । त्यस्तै मधेस प्रदेशमा दल तथा स्वतन्त्र गरी एक हजार २८ उम्मेदवार छन् ।

मधेस प्रदेशमा ३५ लाख १७ हजार १२३ मतदाता छन् । जसमा पुरुष १९ लाख पाँच हजार ८१९ र महिला १६ लाख ११ हजार ३०४ छन् ।

साउनयता ६ जनाको हत्या

मधेस प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको हालसम्म यो प्रदेशका आठ वटै जिल्लामा गोली प्रहारबाट ६ जनाको हत्या भएको छ । सप्तरीमा दुई, सिरहामा एक, धनुषामा एक, महोत्तरीमा एक र सर्लाहीमा एक जनाको गोली हानी हत्या गरिएको हो । त्यस्तै गोली प्रहारबाट चार जना घाइते भएका छन् । यी घटनामा संलग्न भएको आरोपमा १९ जना पक्राउ परेका छन् ।

यस अवधिमा यो प्रदेशमा विभिन्न जिल्लाबाट अवैध आठ थान साना हतियार र दुई थान ठुला हतियार बरामद भएको तथ्यांक छ । यी हतियारसँगै २१ राउण्ड गोली र २ थान म्यागजिन बरामद गरिएको छ । अवैध हातहतियार राखेको आरोपमा २० जना पक्राउ परेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

अवैध हतियार नियन्त्रणमा नेपाल–भारत खुला सिमाना मुख्य चुनौती रहेको प्रहरी अधिकारी बताउँछन् । नेपाल–भारतका अपराधीबिचको सञ्जालका कारण साना हतियार नियन्त्रण सीमावर्ती जिल्लाहरूमा चुनौतीपूर्ण बनेको छ । भारतका कारोबारीबाट स्वचालित र अर्धस्वचालित हतियार भाडामा ल्याएरसमेत मधेसमा अपराध कर्म गरेको पाइएको छ ।

मधेसमा मान्छे मार्नभन्दा पनि तर्साउन अवैध हतियार घरमा लुकाएर राख्ने गरिएको छ । लुकाउन सजिलो हुने साना हतियार नियन्त्रणमा चुनौती भएको प्रहरी अधिकारीको अनुभव छ । करिब चार सय २८ किलोमिटर खुला सीमा रहेको मधेस प्रदेशमा हरप्रहर निगरानी राख्न पनि कठिन छ । अर्को समस्या घरघरमा साना अवैध हतियार खानतलास गर्न कानुनी झन्झट पनि छ ।

मधेस प्रदेशमा बढेको अवैध हतियारको कारोबारले सुरक्षा चुनौती थपेको छ । चुनावी सरगर्मीसँगै अवैध हतियारको प्रयोग बढेको निष्कर्ष प्रहरीले निकालेको छ । आपराधिक घटना न्यूनीकरणका लागि अवैध हतियारको प्रयोग रोक्न सुरक्षा निकायको थप सक्रियता आवश्यक देखिन्छ ।

प्रकाशित: १८ माघ २०८२ २१:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App