२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

‘बुर्का’ खोलेर चुनावी सुरक्षामा

नाजनी बानो राई यतिबेला निर्वाचन सुरक्षामा खटिएकी छन्। यसअघि घरभन्दा बाहिर कमै निस्कने उनी अहिले नेपालगन्ज क्षेत्रमा प्रहरीको पोसाक लगाएर ड्युटीमा छन्। उनलाई प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षामा खटिन पाउँदा गर्व महसु भएको छ। ‘मलाई प्रहरीको पोसाक लगाएर ड्युटी गर्न पाउँदा असाध्यै गर्व महसुस भइरहेको छ, म प्रहरी सेवाप्रति गर्व गर्छु’, उनले भनिन्।

निर्वाचनमा खटिएर सुरक्षा जिम्मेवारी निर्वाह गर्न पाउँदा उनले आफूलाई भाग्यमानी ठानेकी छन्। उनको यो जिम्मेवारीलाई परिवारका सदस्यले पनि साथ दिएका छन्। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ११ निवासी २३ वर्षीया उनी बाबुआमाकी कान्छी छोरी हुन्। मुस्लिम समुदायकी उनले अघिपछि घरदेखि बाहिर निस्कँदा धार्मिक संस्कारअनुसार ‘बुर्का’ लगाउँछिन्। अहिले भने उनी बुर्का खोलेर निर्वाचन सुरक्षामा खटिएकी छन्।

घरमा उनका बुवाआमा, दुई दाजु र ३ दिदी छन्। उच्च शिक्षा अध्ययन गरेकी उनले सानै उमेरदेखि प्रहरी बनेर देशको सेवा गर्ने इच्छा राखेको बताइन्। प्रहरी संगठनमा स्थायी रूपमा जोडिएर देशको सेवा गर्ने सानैदेखिको उनको सपना साकार हुन भने सकेको छैन। स्थायी रुपमा प्रहरीमा भर्ना हुने इच्छा अझै पूरा नभए पनि उनी निर्वाचन प्रहरीमा अस्थायी रूपमा भर्ना भएर सेवामा लागेकी हुन्। यसअघि पनि एक पटक यस्तै अवसर मिलेको उनले बताइन्।

२०७९ सालको चुनावमा पनि उनी निर्वाचन प्रहरीमा भर्ना भएकी थिइन्। यसपटक पनि निर्वाचन प्रहरीमा भर्ना भएर उनी सुरक्षामा खटिएकी हुन्। अहिले मुस्लिम समुदायको पवित्र महिना रमजान चलिरहेको छ। रमजानभरि दिनभर पानीसमेत नपिएर मुस्लिम समुदायका मानिस व्रत बस्छन्। नाजानी पनि रमजानको व्रतसँगै दैनिक ड्युटीमा व्यस्त छन्।

‘मैले पनि रमजानको व्रत लिएकी छु, एकातिर हाम्रो धार्मिक महत्त्वको पवित्र महिना रमजान चलिरहेको छ अर्कोतिर सबै नेपालीको महान पर्व जस्तै झन् महत्त्वपूर्ण निर्वाचनको सुरक्षा जिम्मेवारीमा छ’, उनले भनिन्, ‘निर्वाचन प्रहरीमा भर्ना भएर सुरक्षा गर्नु मेरो सोख हो। देशको सुरक्षा गर्न पाउनु मेरा लागि ठुलो कुरा हो।’

जिल्ला प्रहरी कार्यालयका अनुसार यस पटकको निर्वाचनका लागि बाँकेमा नेपाल प्रहरीतर्फ २ हजार १ सय ८८ जना र सशस्त्र प्रहरीतर्फ ३ सय ३ जना छनोट भएर कार्यक्षेत्रमा खटिएका छन्। सशस्त्र प्रहरीमा पुरुष निर्वाचन प्रहरी मात्र छन्, भने नेपाल प्रहरीतर्फ १ हजार २ सयको हाराहारीमा महिला निर्वाचन प्रहरी छन्।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी अंगुर जिसी प्रक्रियाअनुसार निर्वाचन प्रहरीमा छनोट भई काममा खटिएका धेरै छन्। निर्वाचन प्रहरीमा महिला उल्लेख्य मात्रामा रहेको र त्यसमा पनि मुस्लिमसहित विभिन्न समुदायका रहेको उनले जनाए। ‘हरेकका आआफ्नै इच्छा र चाहना छन्, कोही आर्थिक समस्यामा परेर पनि निर्वाचन प्रहरीमा भर्ना भएका छन्’, एसपी जिसीले भने, ‘तर अधिकांश आत्मविश्वास र सेवाभावका हिसाबले निर्वाचन प्रहरीमा भर्ना भएको देखिन्छ।’

सरकारले ४० दिनका लागि निर्वाचन प्रहरी भर्ना गरेको हो। उनीहरूले पारिश्रमिकस्वरूप मासिक नेपाल प्रहरीका जवानले पाउने बराबरको रकम (३४ हजार ७ सय ७६ रुपैयाँ) पाउँछन्। साथै रासन खर्चवापत (बाँकेको हकमा) दैनिक १ सय ८७ रुपैयाँ ४५ पैसा दिइएको छ।

यस्तै मतदानस्थलमा खटिँदा उनीहरूले ४ दिनका लागि दैनिक ३ सयका दरले १ हजार २ सय रुपैयाँ खाजा खर्च पाउँछन्। गाडी भाडावापत ८ सय ४६ रुपैयाँ दिइएको छ। पोसाक पनि उनीहरूले निः शुल्क पाएका छन्।

प्रकाशित: २० फाल्गुन २०८२ १२:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App