फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई ध्यानमा राखेर कपिलवस्तुमा ५ बढी सुरक्षाकर्मी र ३ हजार बढी कर्मचारी परिचालन गरिने भएको छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहीन वातावरणा सम्पन्न गर्न निर्वाचन प्रहरी, नेपाल र सशस्त्र प्रहरी परिचालन गरिने भएको हो । प्रजिअ तथा जिल्ला सुरक्षा समितिका अध्यक्ष जर्नादन गौतमका अनुसार निर्वाचनलाई लक्षित गरी २ हजार ९९३ निर्वाचन प्रहरी र नेपाल प्रहरी तथा एक हजार सशस्त्र प्रहरी परिचालन गरिने बताए । निर्वाचनलाई स्वतन्त्र, भयरहीत र शान्त वातावरणमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजना समेत बनाइएको उनले बताए । निर्वाचन पूर्व, निर्वाचनका दिन र त्यसपछि गरी ३ किसिमको सुरक्षा योजना बनाइएको प्रजिअ गौतमको भनाइ छ ।
निर्वाचनमा सुरक्षालाई बिशेष ध्यान दिइएको प्रहरी उपरिरक्षक सन्तोष आचार्यले बताए । निर्वाचनलाई स्वच्छ र भयरहीत बनाउन आफूहरुले भरपर्दो सुरक्षा ब्यवस्था मिलाइएको उनले बताए ।
निर्वाचनमा तीन तहको सुरक्षा घेरा रहनेछ । ७२ घन्टाअघि नै सीमा नाका समेत बन्द गरिने भएको छ । प्रजिअ गौतमले जिल्लामा रहेका २ सय ३५ मतदानस्थललाई सुरक्षाका दृष्टिकोणले तीन तहमा वर्गीकरण गरिएको बताए । जिल्ला सुरक्षा समितिले मतदानको समय र त्यस अघि हुन सक्ने घटनालाई ध्यानमा राखेर जिल्लामा ५४ मतदानस्थल सुरक्षाको दृष्किोणले अति संवेदनशील सूचीमा राखिएको छ । १ सय २ लाई संवेदनशील र ७९ मतदानस्थललाई सामान्यको सूचीमा राखिएको छ ।
जिल्ला सुरक्षा समितिले निर्वाचनस्थलको निरीक्षण अनुगमनपछि स्थलहरुलाई वर्गीकरण गरेको हो । जिल्लामा बिगतका निर्वाचनमा भएका गतिविधि, सुृरक्षा संवेदनशीलता लगायतका विषयमा छलफल गरी मतदानस्थलको बर्गीकरण गरिएको बताए । ‘पहिला भएका निर्वाचनमा देखिएका गतिविधि र अब हुनसक्ने गतिविधिलाई आधार बनाई वर्गीकरण गरिएको हो,’ उनले भने ।
मतदानस्थलको तहगत विवरणका आधारमा सुरक्षा रणनीति बनाइएको छ । प्रमुख जिल्ला अधिकारी गौतमले निर्वाचनस्थलको निरीक्षणपछि मतदानस्थलको सूची निर्धारण गरिएको जानकारी दिए ।
निर्वाचनमा ३ हजार बढी कर्मचारी परिचालन गरिने छ । जिल्लामा २ सय ३५ स्थायी र कारागारमा १ स्थल गरी २ सय ३६ मतदान स्थल छन् । यस्तै ४ सय ९० मतदान केन्द्र छन् । जिल्लामा ३ लाख ९६ हजार २६५ मतदाता छन् । यस्तै कपिलवस्तुका ३ क्षेत्रमा ९८ जना चुनाबी मैदानमा छन् ।
प्रकाशित: ९ माघ २०८२ १८:२१ शुक्रबार





