२१ मंसिर २०८२ आइतबार
image/svg+xml
राजनीति

चुनावी चर्चा: प्रमुख मुद्दा सदरमुकाम र सडक

रुकुम पूर्व लुम्बिनी प्रदेशको सबैभन्दा उत्तरमा पर्ने एकमात्र हिमाली जिल्ला हो। यसको क्षेत्रफल १,६ सय ६३ वर्गकिलोमिटर छ। नगरपालिकाविहीन यो जिल्लामा सिस्ने, भूमे र पुथा उत्तरगंगा गरी तीन वटा गाउँपालिका छन् । जिल्लाको प्रमुख आकर्षण र विशेषता हिमाली सौन्दर्य हो। यहाँ ७ हजार दुई सय ४६ मिटर अग्लो पुथा हिमाल र सिस्ने हिमाल छन्।

राज्य पुनर्संरचनाका समयमा २०७२ असोज ३ गते साबिकको रुकुमलाई टुक्राएर रुकुम पूर्व बनाइएको हो । अर्थात् यो देशकै कान्छो जिल्ला हो। प्रतिनिधिसभातर्फ १ र प्रदेशसभातर्फ २ निर्वाचन क्षेत्र रहेको रुकुम पूर्वको जनसंख्या ५६ हजार ७ सय ८६ छ । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा ३४ हजार २ मतदाता रहेको रुकुम पूर्वमा अहिले ८ सय ५१ मतदाता थपिएका छन् । यस जिल्लाको स्थायी सदरमुकाम अझै टुंगो लागेको छैन । आगामी निर्वाचनका लागि यो एउटा मुद्दा बन्ने देखिएको छ। शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ माघ ११ गते रुकुमकोटबाट सदरमुकाम पुथा उत्तरगंगा गाउँपालिकाको गोलखाडामा सार्ने निर्णय भएपछि यसविरुद्ध परेको मुद्दा अदालतमा विचाराधीन छ।

केपी शर्मा ओली नेतृत्वको सरकारले गत साउन १४ को राजपत्रमा सूचना प्रकाशित गरी सदरमुकाम हालकै रुकुमकोटमा यथावत् रहने भनेपछि त्यसविरुद्ध पनि अदालतमा रिट परेको छ । सदरमुकामका विषयमा सर्वोच्च अदालतले अग्राधिकार जारी गरेपछि ओली सरकारले रुकुमकोट नै यथावत् रहने निर्णय गरेको थियो। अहिलेसम्म सदरमुकाम टुंगो नलाग्दा रुकुमकोटमा सरकारी संरचनाहरु निर्माण हुन सकेका छैनन्।

जिल्लावासी आगामी फागुनमा हुने निर्वाचनमा सदरमुकामको विषय चुनावी मुद्दा बन्नुपर्ने बताउँछन्। दलहरुले भूगोल अनुकूलतामा सदरमुकामको मुद्दा बोकेर हिँड्ने सम्भावना पनि छ। सदरमुकामको टुंगो नलाग्दा यहाँ अहिले पनि जिल्ला प्रशासन कार्यालय साबिक इलाका प्रशासन कार्यालयमा छ। जिल्ला प्रहरी कार्यालय इलाका प्रहरीको भवनमा छ। नेपाली सेना सामुदायिक वनमा छ भने सबैजसो सरकारी कार्यालय भाडाका घरमा छन्।

रुकुम पूर्वमा सदरमुकामको विषय मात्र होइन सडक पनि चुनावी अजेन्डा बन्नुपर्ने मतदाता बताउँछन् । रुकुम पूर्वका धेरै गाउँ सडक सञ्जालविहीन छन्। स्वास्थ्य संस्था पायकमा नहुँदा सुत्केरी हुनसमेत घण्टौं हिँडेर जानुपर्ने बाध्यता छ। शिक्षण संस्थामा पुग्न पनि असहज छ । रोजगारी अभिावमा रुकुम पूर्वका युवा लाखौं रुपैयाँ खर्चेर वैध र अवैध तरिकाले, युरोप, अमेरीका, खडीलगायतका देशमा पुगेका छन्। जिल्लामा पर्यटनको बलियोयो सम्भावना रहे पनि पर्यटकीय क्षेत्र ओझेलमै छन्।

सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले राजपत्रमा सूचना जारी भइसकेकोले सदरमुकामको मुद्दा सुल्झिएको बताए । ‘राजपत्र प्रकाशित सूचना कार्यान्वयनमा रोक लगाउन माग गर्दै रिट हाले पनि अदालतले त्यसमा अन्तरिम आदेश जारी गरेको छैन् । अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ’, उनले भने।

रेग्मीले जिल्लामा अझै चुनावी रौनक नदेखिएको बतााए। उनका अनुसार दलहरूले चुनावकेन्द्रित गतिविधि नथालेका कारण रौनक नआएको हो। तत्कालीन माओवादी केन्द्रबाट अध्यक्ष निर्वाचित उनले, ‘दलहरूले उम्मेदवार तोकेर उम्मेदवारी दिएपछि चुनावी माहोल तात्ला । दल नतातीकन चुनावको रौनक आउँदैन।’

पुथा उत्तरगंगा गाउँपालिकाका अध्यक्षमा पुनिराज घर्तीले भने सदरमुकामको मुद्दा नटुंगिएको बताए । ‘केपी ओली नेतृत्वको सदरमुकाम सरकारले रुकुमकोट भनेर कायम गरेपछि त्यसविरुद्ध फेरि रिट परेको छ। जेनजी आन्दोलनले अदालत जलेपछि मुद्दाको सुनुवाइ हुन ढिला भएको छ। अदालतल यो मुद्दालाई अग्राधिकारमा भने राखेको छ’, उनले भने।

तत्कालीन माओवादी केन्द्रबाट अध्यक्षमा निर्वाचित उनले भने, ‘चुनावी अजेन्डा सदरमुकामको विषय हुन्छ भन्ने छैन। यो राजनीतिक होइन, समुदायको मुद्दा हो।’ घर्तीले पनि दलहरूले उम्मेदवार तोकेपछि चुनावी रौनक आउने बताए।

तत्कालीन माओवादी केन्द्रका जिल्ला संयोजक तथा सिस्ने गाउँपालिकाका पूर्वअध्यक्ष कुमारी बरालले अझै जिल्लामा निर्वाचन नलागेको बताइन्। ‘चुनाव हुने नहुनेमा दोधार छ। सरकारले गर्ने काम गरेको देखिन्छ तर दलगत रुपमा चुनाव लागेको छैन’, उनले भनिन्। उनले चुनावका अजेन्डा विकास र निर्माणकै विषय हुने र प्राथमिकतामा सडक, शिक्षा, स्वास्थ्य र महिला अधिकार रहने बताइन्।

उनले जिल्लामा राजनीतिक रुपमा आफूहरू नै बलियो भएको दाबी गरिन्। उनले भनिन्, ‘पार्टीमा भएको फुटले यहाँ कुनै असर गर्दैन। हामी नै बलियो छौं। फुटको प्रभाव परेको छैन।’ जिल्लामा जेनजी आन्दोलनको प्रभाव खासै नरहेको बताउँदै उनले भनिन्, ‘निर्वाचमा उम्मेदवार को हुने पार्टीले निर्णय गर्छ। हाम्रो काम पार्टीले तोकेका उम्मेदवारलाई जिताउने हो।’

एमाले रुकुम पूर्वका अध्यक्ष लीलामणि गौतमले पनि जिल्लामा चुनाव नलागेको बताए। ‘हामीलाई महाधिवेशन लागेको छ। फागुन २१ मा चुनाव हुन्न भन्ने कुराले तयारी कुनै दलले गरेका छैनन्। वातवरण बने हामी निर्वाचनमा होमिन जतिबेला पनि तयार छौं’, उनले भने।

उनले रुकुमको मुख्य चुनावी अजेन्डा भौतिक विकास नै हुने बताए। ‘नयाँ संरचना, सडक, स्वास्थ्य, शिक्षा, रोजगारी नै महत्त्वका कुरा हुन्।’

गौतमले रुकुम पूर्वमा साविकको माओवादी केन्द्र कमजोर भएको र निर्वाचनमा एमाले अगाडि आउने दाबी गरे। ‘प्रचण्ड (पुष्पकमल दाहाल) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी खासै बलियो छैन। अघिल्लो निर्वाचनमा जिल्लाबाट प्रदेशसभातर्फ एउटा सिट कांग्रेस र अर्को सिट स्वतन्त्र उम्मेदवारले जितेका थिए। आगामी निर्वाचनमा एमाले र प्रचण्ड नेतृत्वको पार्टीबिच हुने हो’, उनले भने।

नेपाली कांग्रेस रुकुम पूर्वका उपसभापति भीमबहादुर खड्काले पनि जिल्लामा खासै चुनाव नलागेको बताए। उनले भने, ‘जिल्ला शान्त। निर्वाचनका लागि सरकारको तयारी देखिए पनि जिल्ला सुनसान छ। दलहरुलाई चुनाव लागेको छैन। यसपटकको निर्वाचनमा कांग्रेस बलियो हुने देखिन्छ।’

प्रमुख जिल्ला अधिकारी सीता परियारले रुकुममा जेनजी आन्दोलनले कुनै प्रभाव नपारेको बताइन् । ‘जिल्ला शान्त छ। नेपाल सरकारको निर्देशन पालन गर्दै अगाडि बढेका छौं । मतदान केन्द्रको बर्गीकरण तयारीमा छौं’, उनले भनिन, ‘लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला हो यो। फागुनसम्म हिउँ पनि सकिएला। निर्वाचन गर्नलाई जोखिम छैन ।’ प्रमुख जिल्ला अधिकारी परियारले पनि सदरमुकामको विषय अदालतमा विचाराधीन रहेको बताइन्।

महिलालाई जिताउने हो

सुशीला दाहाल, अध्यक्ष, महिला मानव अधिकार रक्षक सञ्जाल

सुशीला दाहाल, अध्यक्ष, महिला मानव अधिकार रक्षक सञ्जाल

चुनावको रौनक देखिएको छैन। अहिलेसम्म जिल्ला सुनसान छ। बिस्तारै चुनावी सरगर्मी बढ्ला। चुनाव हुने नहुने अन्योल पनि छ। जिल्लामा बेरोगारी अन्त्य, सडक सञ्जाल निर्माण, शिक्षा र स्वास्थ्यमा सबैको पहुँच, सुशासन, भ्रष्टाचार अन्त्य, पारदर्शिता चुनावका मुख्य अजेन्डा बन्नुपर्छ। महिलालाई हेर्ने दृष्टिकोणमा गतिलो छैन। त्यसमा सुधार ल्याउनुपर्छ। महिला उम्मेदवारलाई जिताउनुपर्छ।

पुराना वाचा अधुरै

किरण गौतम, अधिवक्ता

किरण गौतम, अधिवक्ता

जिल्लामा निर्वाचनको सरगर्मी सुरु भएको छैन। कुनै दलले पनि चुनाव कार्यक्रम गरेका छैनन्। यसअघिका निर्वाचनमा दलहरूले गरेका धेरै वाचा अधुरै छन्। सडक सञ्जाल, शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानी जस्ता विषय चुनावका मुद्दा हुन सक्छन्। सदरमुकामको मुद्दा पनि छ। कम्युनिस्ट पार्टीमा फुटजुटको प्रभाव अहिलेसम्म परेको देखिँदैन । चुनाव हुँदासम्म के हुन्छ भन्न सकिन्न।

चुनावको महसुस छैन,

तीव्र गौतम, क्याम्पस प्रमुख, सिस्ने क्याम्पस

तीव्र गौतम, क्याम्पस प्रमुख, सिस्ने क्याम्पस

जिल्लामा चुनाव लागेको देखिन्न। मतदाताले चुनावको महसुस गरेका छैन्न । दलहरूले पनि चुनाव लक्षित गतिविधि गरेको देखिन्न। कम्युनिस्टहरुमा भएको जुटफुटको असर चुनावको नतिजामा पर्न सक्छ। पुरानो लोकप्रियता घट्न सक्छ। सदरमुकामको विषय पनि निर्वाचनको अजेन्डा बन्न सक्छ। जेएजीले राजनीतिमा ठाउँ खोजे जस्तो पनि देखिन्छ। यो पनि गतिलो मुद्दा हुन सक्छ।

दलहरुको हातमा छ

वशन्त बाठा मगर, अध्यक्ष, पत्रकार महासंघ

वशन्त बाठा मगर, अध्यक्ष, पत्रकार महासंघ

राजनीतिक दलले भित्राभित्रै चुनावको तयारी गरिरहेका छन्। एमाले र नेपाली कम्युनिस्ट पार्टीको पनि अभियान राम्रै छ। जनतामा उत्साह देखिन्न, अन्योल देखिन्छ। मतदातालाई चुनावबारे कुनै चासो छैन। निर्वाचनको पहिलो अजेन्डा सडक सञ्जाल निर्माणलाई बनाउनुपर्छ। किनकी यस जिल्लाको धेरै गाउँमा सडक सुविधा पुगेको छैन। शिक्षा, स्वास्थ्य र रोजगारी पनि निर्वाचनको अजेन्डा बन्नुपर्छ।

असल व्यक्ति छान्नुपर्छ

विशाल गिरी, जेनजी अगुवा

विशाल गिरी, जेन-जी अगुवा

सुशासन कायम, भ्रष्टाचार अन्त्य, पारदर्शितालगायत माग राखेर जेनजीले रुकुम पूर्वमा गरेको आन्दोलन अन्यत्र जस्तो अशान्त भएन, शान्तिपूर्ण नै भयो। पुराना दलहरूमा अहिले पनि हामी जित्छौं भन्ने दम्भ देखिएको छ। जेनजी निर्वाचनबाट असल व्यक्ति छान्नुपर्छ भन्ने पक्षमा छ। यसबारेमा जेनजीबिच बहस पनि भइरहेको छ। हामी जेनजी देशले असल र नयाँ नेतृत्व पाउनुपर्छ भन्ने पक्षमा छौं।

प्रकाशित: १७ मंसिर २०८२ ०७:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App