१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

चुनावी चर्चा : मत बदल्ने मनस्थितिमा मतदाता

निर्धारित समयमा निर्वाचन हुनेमा राजनीतिक दलहरू र सर्वसाधारण विश्वस्त नभए पनि निर्वाचन भएको अवस्थामा मत बदल्ने मनस्थितिमा मतदाता देखिएका छन्। 

विराटनगर–८ की श्रुति साहले विगतमा मतदानमा भाग नलिए पनि यसपटक निर्वाचनमा भोट हाल्न नाम दर्ता गराएको बताइन्। पुराना दलहरूले राम्रा उम्मेदवार नदिएका कारण भोट हाल्ने आफूलाई जाँगर नलागेको उनको भनाइ छ। यसपटक नयाँ पार्टीका उम्मेदवारलाई मतदान गर्ने सोचमा आफू रहेको उनले बताइन्।

जेनजी आन्दोलनपछि पुराना दलहरूप्रति हेर्ने आम जनताको मानसिकता बदलिएको आफूले पाएको समाजसेवी मीना श्रेष्ठले बताइन्। उनका अनुसार युवा पुस्ता मात्रै नभई पुराना मतदातासमेत पुराना दलहरूले मुलुक र जनताका लागि केही नगरेका कारण नयाँ दल आए उसैलाई भोट हाल्ने मनस्थितिमा देखिएका छन्। निर्वाचनप्रति नयाँ पुस्तामा धेरै चासो र उत्साह देखिएको श्रेष्ठले बताइन्। उनले भनिन्, ‘निर्वाचन भए पुराना दललाई नभई नयाँलाई मतदान गर्ने सोचमा मतदाता रहेका छन्। जनताले परिवर्तन खोजिरहेको देखिएको छ।’

जेनजीको मुख्य माग भनेकै भ्रष्टाचार नियन्त्रण र सुशासन रहेका कारण यो पुस्ताले देशमा परिवर्तनको अपेक्षा गरेको जेनजी पुस्ताका दीपक काफ्लेले बताए। उनले जेनजी आन्दोलन दल खोल्न, संगठन बनाउन, राजनीति गर्न नभई खबरदारी गर्ने आन्दोलन भएकाले यो पुस्ता परिवर्तनको पक्षमा रहेको स्पष्ट पारे। ‘जेनजीको चाहना कुनै संगठन बनाएर चुनावमा जानेभन्दा पनि राम्रा मान्छेलाई चुनावमा जिताएर देशमा देखिएको बेथिति अन्त्य गर्ने हो’, उनले भने, ‘जेनजीहरू कुनै दलको विरोधी नभई बेथितिका विरोधी भएकाले पुराना भष्टाचारमा मुछिएका नेता नभई जुनसुकै दलका भए पनि भ्रष्टाचारमा नमुछिएका र राम्रो आचरण भएका व्यक्तिलाई जेनजीले मत हाल्नेछन्।’

जेनजीले पार्टी नहेर्ने व्यक्ति हेर्ने काफ्लेले स्पष्ट पारे। आफूहरू निर्धारित मितिमा निर्वाचन हुन्छ भन्नेमा विश्वस्त भए पनि पुराना ठुला पार्टीहरूले निर्वाचनलाई अवरोध गर्ने हुन् कि भन्ने आशंका पनि रहेको उनले बताए। पुराना दलले संसद् पुनर्स्थापनाको माग गर्दै निर्वाचनलाई असर पार्न खोज्दा आफूहरूको चित्त दुखेको पनि काफ्लेले बताए। जेनजी आन्दोलन विशुद्ध बेथिति र भ्रष्टाचारविरोधी आन्दोलन भएकाले यसलाई राजनीतिक वा अन्य कुनै रङबाट हेर्न नहुने उनले स्पष्ट पारे।

मोरङमा २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ मोरङका ६ वटा क्षेत्रमध्ये नेपाली कांग्रेसले क्षेत्र नं १, ३ र ६ मा निर्वाचन जितेको थियो। यस्तै एमालेले क्षेत्र नं २ मा निर्वाचन जितेको थियो। क्षेत्र नं ५ स्वतन्त्र उम्मेदवारले निर्वाचन जितेका थिए। क्षेत्र नं १ बाट नेपाली कांग्रेसका डिगबहादुर लिम्बु, क्षेत्र नं ३ बाट सुनिल शर्मा र क्षेत्र नं ६ बाट डा. शेखर कोइराला निर्वाचित भएका थिए। क्षेत्र नं ४ बाट नेकपा माओवादीका अमनलाल मोदी, क्षेत्र नं २ बाट नेकपा एमालेका ऋषिकेश पोखरेल र क्षेत्र नं ५ बाट स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल निर्वाचित भएका थिए।

अघिल्लो निर्वाचनमा मोरङमा कांग्रेस र माओवादीको गठबन्धन थियो। सरकारले २०८२ फागुन २१ लाई प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तय गरेपश्चात् जिल्लामा २०८२ असोज १० देखि सुरुआत भएको मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या उत्साहजनक पाइएको छ। कात्तिक १९ सम्म जिल्लामा चार हजार नौ सय ९० जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन्, जसमा महिला दुई हजार ९९ जना र पुरुष दुई हजार आठ सय ९१ जना छन्। फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउनेमा १८ वर्षदेखि २५ वर्ष उमेर समूहका बढी भएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख युवराज गुरागाईंले बताए। 

प्रदेश निर्वाचन कार्यालयका अनुसार मोरङमा कात्तिक १६ सम्मको अवधिमा सात लाख ४१ हजार पाँच सय ५५ जनाले नाम दर्ता गराएका छन्। यो वर्षको मतदाता नामावलीमा नाम दर्ता गर्ने कात्तिक १६ देखि ३० सम्मको अवधिमा करिब पाँच हजार नयाँ मतदाता थप हुने अनुमान गरिएको छ। मतदाता नामावलीमा नाम दर्ताको अवधि सकिएपछि अन्तिम मतदाता नामावली प्रकाशित हुने छ, जसमा मृत्यु भएका, अन्य जिल्लामा नामावली सारेर गएका, अन्य जिल्लाबाट नामावली सारेर आएका मतदाता छुट्ट्याइने प्रदेश निर्वाचन कार्यालयले जनाएको छ। अघिल्लो २०७९ को प्रतिनिधिसभा निर्वाचनमा मोरङमा सात लाख ३५ हजार पाँच सय २५ जना मतदाता थिए।

प्रकाशित: २५ कार्तिक २०८२ ०९:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App