१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

चुनावी चर्चा: जनता आतुर, ठुला दल दुविधामा

सरकार र निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक काम सुरू गरिसकेको भए पनि मुलुकका ठुला दलहरू  विश्वस्त नहुँदा चुनावी गतिविधि शून्य बराबर देखिएको छ। जनता भने भोट खसाल्न निर्वाचनको प्रतीक्षामा छन्। निर्वाचन कार्यालहरूमा मतदाता नामावलीमा नाम लेखाउनेको भीडले यस्तै संकेत गर्छ।

विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा मतदाता नामावलीमा नाम लेखाउनेको भीड दिनहुँजसो देखिन्छ। यसअघि छुटेका र १८ वर्ष पुगेका नागरिक नाम दर्ताका लागि निर्वाचन कार्यालयमा लाम लागेको देखिन्छ। निर्वाचन कार्यालयमा दैनिक करिब तीन सय जना नाम दर्ता गराउन आउने गरेको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ। मतदाता नामावलीमा नाम दर्ता गराउन आउनेहरू उत्साहित देखिएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख युवराज गुरागाईंले बताए।

अलमलमा ठुला दल

अहिलेसम्म प्रमुख दलहरूले भने निर्वाचनप्रति खासै चासो राखेका छैनन्। केही दलका गतिविधि निर्वाचनभन्दा पनि निर्वाचन विरोधी देखिएका छन्। विशेषगरी एमालेले निर्वाचन नहुने भन्दै सरकारविरुद्ध आन्दोलन सुरु गरेको छ। एमाले कोसी प्रदेश इन्चार्ज शेरधन राईले असंवैधानिक तवरबाट बनेको वर्तमान सरकारले घोषणा गरेको मितिमा चुनाव नहुने ठोकुवा गरेका छन्।

राईले चुनावको नारा दिएर सत्तामा टिक्ने प्रपञ्चमा सरकार रहेको बताए। उनले यो सरकारविरुद्ध आन्दोलनको आँधिबेरी सिर्जना गर्ने चेतावनी दिए। सरकारले निष्पक्ष, धाँधलीरहित चुनाव गराउँछ भन्नेमा विश्वस्त हुने अवस्था नरहेको उनले बताए।

उनले भने, ‘असंवैधानिक रुपमा बनेको सरकारले चुनाव गराउन सक्दैन, यो सरकारले गराउने चुनाव निष्पक्ष, धाँधलीरहित हुने विश्वस्त आधार नरहेको र सरकार चुनावको नाममा सत्ता टिकाउने प्रपञ्चमा लागेको छ। प्रहरीका लुटिएका हतियार र पोसाक तथा जेलबाट भागेका कैदीबन्दीहरू पक्राउ नगरेसम्म चुनावको वातावरण तयार हुँदैन।’

राईले सरकार चुनाव गराउनेभन्दा पनि भाँड्ने पक्षमा देखिएको आरोप लगाए। चुनावको वातावरण बनाउनेभन्दा पनि राजनीतिक दलका नेताहरूलाई स्थानहद तोक्ने, पक्राउ गर्ने, त्रास देखाउने र अनेकन मुद्दा लगाउने प्रयासमा सरकार लागेको र यस्ता गतिविधिले चुनाव हुन नसक्ने उनले बताए। दल विरोधी सरकारको हर्कतविरुद्ध आन्दोलनमा जानुको विकल्प नभएको उनले स्पष्ट पारे।

नेपाली कांग्रेसले पनि सरकारका गतिविधि चुनाव गराउनेभन्दा पनि दल विरोधी देखिएको जनाएको छ। कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बुले सरकारले हालसम्म चुनावको वातावरण नै तयार गर्न नसकेको बताए। उनले कांग्रेसले मोरङमा चुनावका कुनै पनि गतिविधि नथालेको जानकारी दिए । उनले भने, ‘यो सरकारले चुनाव हुन्छ भनेर विश्वास गर्ने आधार तयार गरेको छैन।’

चुनाव हुनेनहुने विषय सरकारमै निर्भर रहेको बताउँदै उनले भने, ‘कांग्रेस प्रजातान्त्रिक पार्टी हो। सरकारले चुनावको वातावरण तयार कांग्रेसले भाग लिन्छ। सरकारले दलहरू विरोधी गतिविधि जारी राख्ने र वातावरण तयार नपार्ने हो भने कसरी चुनाव हुन्छ?’

लिम्बुले दलहरूलाई बाहिर राखेर गरिने चुनाव तत्कालीन राजा ज्ञानेन्द्र शाहले गरेको स्थानीय निकायको चुनावजस्तो मात्रै हुने बताए। उनले सरकारले दलहरूसँग संवाद गर्न नचाहेको, सुरक्षाको प्रत्याभूति नदिएको, निष्पक्ष र भयरहित चुनाव हुन्छ भनेर विश्वास पनि दिलाउन नसकेको आरोप लगाए। दलहरूलाई वास्ता नगर्ने र पेल्ने रणनीति सरकारको देखिएकाले यस्तै व्यवहार जारी रहे दलहरू आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी उनले दिए।

लिम्बुका अनुसार चुनाव तालिका प्रकाशित गरेर, सूचना जारी गरेर, वक्तव्यबाजी गरेर मात्रै हुँदैन, यसका लागि सरकारले चुनावमा भाग लिने दलहरूसँग संवाद, सल्लाह गरी विश्वासको वातावरण तयार पार्नुपर्छ। यसमा सरकार चुकेको उनले बताए। उनले भने, ‘ढोका थुनेर चुनावमा भाग लिन जाओ भनेर हुँदैन। दलहरूलाई उपेक्षा गरेर चुनाव हुँदैन।’

दलहरू केही समय चुप लाग्दा उनीहरूसँग जनता छैनन् भन्ने सरकारको धारणा हो भने त्यो बदल्नुपर्ने लिम्बुले बताए। ‘सरकारले दलहरूसँग संवाद गरेर निर्वाचनको वातावरण तयार पार्नेतर्फ गम्भीरतापूर्वक ध्यान दिनुपर्छ’, उनले भने, ‘कांग्रेस चुनाव विरोधी होइन। कांग्रेसको भावना सरकारले बुझ्न नसके आन्दोलनको विकल्प रोज्न बाध्य हुनुपर्छ।’

नेकपा माओवादी केन्द्र विराटनगर नगर समितिका अध्यक्ष दिनेश राजवंशीले आफ्नो पार्टीले विराटनगरमा चुनावलक्षित कार्यक्रम नगरेको बताए। पार्टीले चुनावका कार्यक्रम गर्न कुनै निर्देशन नदिएका कारण चुनावलक्षति कार्यक्रमहरू नगरिएको जानकारी उनले दिए। उनले भने, ‘चुनावलक्षित कार्यक्रम गर्न पार्टीले निर्देशन नदिएका कारण हालसम्म कुनै पनि कार्यक्रम गरेका छैनौं।’

नेकपा माओवादी केन्द्रसहित दस वाम पार्टीबिच एकता भई नयाँ नाम नेपाली कम्युनिस्ट पार्टी प्रस्ताव गरिएको छ। एकीकृत पार्टीमा नेताहरूले के जिम्मेवारी पाउने भन्ने टुंगो पनि नलागेकाले चुनावी कार्यक्रममा हुन नसकेको उनको भनाइ छ। केन्द्रमा पार्टी एकता भए पनि प्रदेश, जिल्ला र स्थानीय तहमा नयाँ समितिहरू बनिनसकेकाले राजनीतिक गतितिविधि अवरुद्ध रहेको राजवंशीले बताए।

साना दल चुनावको पक्षमा

जसपा नेपाल विराटनगर समितिका अध्यक्ष अमरेन्द्र यादवले राजनीतिलाई ट्र¥याकमा ल्याउने माध्ययम नै चुनाव भएकाले पार्टीले त्यसको स्वागत गरिसकेको बताए। उनले चुनावमा सबै दल सहभागी हुनुपर्ने धारणा राखे। यादवले जसपा नेपालले विराटनगरलगायत देशैभर चुनावलक्षित कार्यक्रम सुरु गरिसकेको बताए।

उनले भने, ‘सबै वडा समितिलाई पार्टीले मतदाता नामावलीमा नाम दर्ताका लागि सहजीकरण गर्न निर्देशन दिएअनुसार स्थानीय नेता–कार्यकर्ताहरूले सहजीकरण गरिरहेका छन्।’

सरकारले ल्याएको चुनावी कार्यतालिका अनुसार जसपा नेपाल अघि बढ्ने उनले बताए। उनले भने, ‘अहिले पछाडि फर्कने अवस्था नभएका कारण राजनीतिक दलहरूले सरकारलाई सहयोग गरेर निर्धारित मितिमै चुनाव हुने वातावरण बनाउनुपर्छ।’

मुख्य दलहरू आफ्नै दम्भका कारण चुनावप्रति नकारात्मक देखिए पनि उनीहरू भित्रभित्रै चुनावकेन्द्रित गतिविधिमा लागेको दाबी यादवको छ।

यादवले सरकारले चुनावको वातावरण बनाउन दलहरूसँग संवाद नगरेकोमा गुनासो गरे। उनले सरकारले दहरूसँग चुनावका विषयमा निरन्तर संवाद गर्नुपर्नेमा त्यस्तो हुन नसकेको बताए। सरकारले जसपा नेपालसँग पनि संवाद नगरेको यादवले बताए। ‘सरकारले संवाद  नगरे पनि, वास्ता नगरे पनि जसपा नेपालले चुनावमा भाग लिने निर्णय गरिसकेको छ । पार्टी यो निर्णयबाट पछाडि हट्दैन’, यादवले भने।

राष्ट्रिय स्वतन्त्र पार्टी मोरङका सचिव सुरेशकुमार श्रेष्ठले पार्टीले चुनावलाई नै लक्षित गरी संगठन निर्माण, विस्तारलगायतका काम गरिरहेको जानकारी दिए। बललिँदो परिस्थितिमा नयाँ जनमतको आवश्यकता भएका कारण चुनावले नै देशको भविष्य निर्धारण गर्ने उनले बताए।

भर्खरै निर्वाचन आयोगबाट मान्यता पाएको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीले भने चुनावी अभियान तीव्र पारेको छ। संगठन निर्माणका क्रममा रहेको उक्त दलले विभिन्न स्थानमा कोणसभा, र्‍याली लगायतका कार्यक्रमलाई निरनन्तरता दिइरहेको छ।

राजनीतिशास्त्री प्राध्यापक कृष्ण पोखरेल मुलुक निर्वाचनतर्फ अघि बढेको बताउँछन्। गत भदौ २४ को अवस्थाबाट मुलुक अहिलेको अवस्थामा आइपुग्दासम्म राजनीतिले सही मार्ग समातेको उनको भनाइ छ। पोखरेलले राजनीतिक संक्रमणको निकासका लागि चुनाव हुनैपर्ने बताए। ‘चुनाव हुने कि नहुने भन्ने विषयमा धेरै बहस भइरहे पनि अन्त्यमा हुने निर्वाचन हो, निर्वाचन हुनुपर्छ’, उनले भने, ‘तोकिएकै समयमा हुन नसके पनि चुनाव हुन्छ र चुनाव हुने बाटोमै राजनीति गएजस्तो लाग्छ। निर्वाचन तयारीमा सरकार लागेकै देखिएको छ। निर्वाचन आयोगमा धमाधम दल दर्ता भइरहेका छन्। चुनावमा जानकै लागि नयाँ दल दर्ता भएका हुन्।’

पुराना दलहरूमा पनि एमालेबाहेक अरुले चुनावमा जाने धारणा राख्दै आएको पोखरेलले बताए। बदलिँदो परिस्थितिमा पुराना दलहरू बदलिएनन् भने उनीहरूले पहिलेकै जस्तो मत ल्याउने अवस्था नभएको उनले बताए। ‘अहिले पुराना दलहरूको भेट बैंक (कोर क्षेत्र) भत्किएको छ’, उनले भने।

जेनजी आन्दोलन दलहरूविरुद्ध नभई केही नेताको प्रवृत्तिविरुद्ध भएको उनले बताए। काँडा निकाल्न काँडा नै चाहिन्छ भनेजस्तै लोकतन्त्रमा दलको विकल्प दल नै भएकाले पुराना दलको विकल्पका रूपमा नयाँ दलहरू खुलेको पोखरेलको भनाइ छ।

चुनावमा नयाँ दलहरूबिच तालमेल हुनसक्ने उनको अनुमान छ। सबै दल चुनावमा गएको अवस्थामा एमाले एक्लै बाहिर नबस्ने पोखरेलको बुझाइ छ। यो सरकार दलको नभएका कारण दलका नेताहरूलाई घरमा सौता पसेजस्तो लाग्नु अनौठो नभएको पोखरेलले बताए।

चुनावी बाटोमा सरकार

कृष्ण पोखरेल, प्राध्यापक, राजनीतिशास्त्र

कृष्ण पोखरेल, प्राध्यापक, राजनीतिशास्त्र

अहिलेसम्मको अवस्था हेर्दा सरकार चुनावी बाटोमा भएजस्तो देखिन्छ। सरकारले चुनावको वातावरण बनाउन दलहरूसँग संवाद बढाउनुपर्छ। सरकार निर्वाचनका लागि अन्तर्राष्ट्रिय समुदायसँग समन्वय र आवश्यक स्रोतको व्यवस्थापन गर्नेतर्फ पनि लाग्नुपर्छ। सुरक्षाको विषयमा पनि प्रश्न उठिरहेकाले सरकारले सुरक्षाको प्रत्याभूति दिन सक्नुपर्छ। चुनाव हुन्छ कि हुँदैन भन्ने बहस पनि भइरहेको छ तर चुनाव हुनुपर्छ। चुनावबाटै राजनीतिक निकास निकाल्नुपर्छ। राजनीतिलाई लोकतन्त्रक ट्र्याकमा ल्याउन निर्वाचनबाट नयाँ जनमत लिनुपर्छ।

चुनावबाटै निकास हुन्छ

राजकुमार यादव, अध्यक्ष, जसपा नेपाल, मोरङ

राजकुमार यादव, अध्यक्ष, जसपा नेपाल, मोरङ

हामीले चुनावमा जाने घोषणा गरिसकेका छौं। हामी मात्र होइन, सबै दल चुनावमा सहभागी हुनुपर्छ । निर्वाचन जनमत परीक्षणको माध्यम भएकाले यसलाई सफल पार्नुपर्छ। हामीले वडा तहमै पुगेर मतदाता नामावलीमा नाम दर्ता गराउन प्रेरित र सहजीकरण गरिरहेका छौं। पुरानोमध्येको ठुलो नेकपा एमालेले आफ्नै दम्भ देखाएर चुनावमा जान्न भन्नु अलग कुरा हो। अहिलेको राजनीतिक अवस्थाबाट पछाडि फर्कन सकिँदैन। चुनावकै माध्यमबाट राजनीतिक समस्याको निकास खोज्नुपर्छ। निर्वाचनबाटै मुलुकलाई अगाडि बढाउन सकिन्छ।

चुनावी गतिविधि छैन

मीना जोशी, समाजसेवी

कोसी प्रदेशको राजधानीसमेत रहेको विराटनगरमा चुनावको गतिविधि खासै देखिएको छैन। युवा पुस्ता भने उत्साहित छ। मतदाता नामावलीमा सूचीकृत हुन पनि युवा पुस्ता उत्सुकतासाथ लागेको देखिन्छ। जनताले परिवर्तन खोजिरहेका छन्। पुराना दलहरूप्रति आमजनताको धारणा नकारात्मक देखिएको छ। नयाँ दल प्रभावकारी रुपमा आए मतदाताले मत बदल्ने अवस्था छ। जेन्जी आन्दोलनपछि युवा पुस्ताको चाहना पुराना नेताहरूले चुनाव नजितिदिए हुन्थ्यो भन्ने छ तर चुनाव हुने हो कि हैन भन्ने अन्योल कायमै छ।

अन्योलपूर्ण छ

मधुसुदन खनाल, पूर्वखेलाडी

मधुसुदन खनाल, पूर्वखेलाडी

सरकारले तोकेअनुसार फागुन २१ गते चुनाव हुन्छ कि हुँदैन भन्ने प्रस्ट भएको छैन। राजनीति अन्योलपूर्ण छ। सबै आआफ्नो तालमा छन्। एकैछिनमा के हुन्छ भन्न सकिने अवस्था छैन। जेनजी आन्दोलनपछि एउटा प्रभावशाली नयाँ दल बन्ला र त्यसले निर्वाचनमा राम्रो मत ल्याएर पुराना दलहरूलाई पछाडि पार्लान् भन्ने आशा पनि निराशामा बललिन्छ कि जस्तो छ। चिया पसल खोलेजस्तो नयाँ दलहरू खुलेका छन्, नयाँको यो पाराले पुराना दलले नै बढी सिट जित्ने हुन् कि भन्ने पो देखिन्छ।

मत नयाँलाई जान्छ

जीना श्रेष्ठ, उद्यमी

जीना श्रेष्ठ, उद्यमी

चुनावमा नयाँ दललाई नै मत जाने अवस्था छ। जेनजीले राम्रो गर्नलाई नै आन्दोलन गरेका होलान् जस्तो लाग्छ। जेनजीले देशमा राम्रो होस् भन्ने चाहेकाले हाम्रो चाहना पनि देशमा राम्रो होस् भन्ने नै हो। निर्धारित समयमै निर्वाचन होस् देशले, निकास पाओस् भन्ने हाम्रो चाहना छ तर खै निर्वाचन हुन्छ कि हुँदैन भन्ने अन्योल छ। जे होस्, राजनीतिक अस्थिरता अन्त्य होस्, भ्रष्टाचार अन्त्य होस्, व्यावसायिक वातावरण बनोस्, आर्थिक विकास होस्, देश समृद्ध होस् भन्ने चाहना जनताको छ।

प्रकाशित: २९ कार्तिक २०८२ ०७:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App