२१ मंसिर २०८२ आइतबार
image/svg+xml
राजनीति

चुनावी चर्चा: छैन माहाेल, दलहरू नै द्विविधामा

रोल्पा विद्रोही जिल्लाका रुपमा पनि चिनिन्छ। मुलुकमा बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाको केही वर्षपछि एक दशकसम्म माओवादी सशस्त्र संघर्षको झेलेको रोल्पा २०६३ सालमा माओवादी शान्ति प्रक्रियामा आएसँगै शान्त भयो। शान्ति प्रक्रियापछि पनि रोल्पा एक प्रकारले माओवादीमय भइरह्यो। सत्तामा पुगेको माओवादीले जिल्लाको भौतिक विकासमा राम्रै योगदान गर्‍यो तर त्यसले जनताको अवस्थामा परिवर्तन ल्याएन। जनतामा माओवादीप्रति गुनासो बढ्दै गयोे।

शान्ति प्रक्रियामा आएको छोटो समयमा माओवादी चिराचिरा हुन थालेपछि रोल्पालीको मन पनि चिरियो। रोल्पाली जनताको माओवादीप्रतिको मोह भंग हुँदै गइरहेका बेला मुलुकमा जेनजी आन्दोलन भयो। जेनजी आन्दोलनपछि माओवादीले माओवाद नै छाड्यो। दस वर्षसम्म जनताका पक्षमा भन्दै विद्रोह गरेको माओवादीले आफ्नो नाम र आदर्श पुरुष (सिद्धान्त) छाडेपछि धेरै रोल्पाली कमरेड अब के गर्ने भन्ने अलमलमा छन्।

‘हाम्रो पहिचान नै मेटियो। हामीलाई माओवादी भन्दा गर्व लाग्थ्यो तर अहिले सबै लुटिएको अनुभूति भएको छ’, तत्कालीन माओवादी केन्द्रका जिल्लास्तरीय एक नेता भन्छन्, ‘मुखले राम्रो भयो भने पनि मन दुखेको छ।

अध्यक्ष प्रचण्ड (पुष्पकमल दाहाल) मुनि एमालेबाट नेकपा एकीकृत समाजवादी हुँदै आएका चार जना नेता छन्। यो मनले यस्तो दललाई कसरी आफ्नो मान्छ। माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र भीम रावललाई नेता भन्न हामीलाई असजिलो भयो।’

माओवादीको दबदबा रहेको रोल्पामा आउँदै गरेको निर्वाचनको कुनै रौनक अहिलेसम्म देखिएको छैन। ग्रामीण भेगका धेरै रोल्पालीलाई चुनावबारे थाहा नै छैन। सामाजिक सञ्जाल र समाचार सुनेर चुनावबारे जानकारी पाएका सहरी भेग र अलि सुगमका बासिन्दामा पनि त्यसप्रति खासै चासो देखिँदैन। विगतमा भोट दिएर जिताएका नेताले जनताको जीवनस्तर सुधार गर्न चासो नदेखाएको मतदाताको आरोप छ। माओवादी संघर्षको उद्गम जिल्ला रोल्पालाई निर्वाचनको चटारोले अझै छोएको छैन।

मुलुकमा गणतन्त्र स्थापनापछि सत्ताको चास्नीमा डुबेका नेताहरूले गर्व गर्न लायक केही काम नगरेको गुनासो रोल्पालीको छ। दुई कार्यकालसम्म उपराष्ट्रपति बनेका नन्दबहादुर पुन पासाङ, पटकपटक मन्त्री बनेका कृष्णबहादुर महरा र वर्षमान पुन, पहिलो महिला सभामुख ओनसरी घर्ती, लुम्बिनी प्रदेशका पूर्वमन्त्रीहरु कुलप्रसाद केसी र जोखबहादुर महरा रोल्पाका माओवादी नेता हुन्।

त्यस्तै कांग्रेस प्रदेश सभापति अमरसिंह पुन पनि रोल्पाकै हुन्। त्यसो त केही समयअघि मृत्यु भएका बालाराम घर्तीमगर पञ्चायतको पूरैजसो अवधि र बहुदलपछि पनि मन्त्री बनेका थिए। बहुदलपछि कांग्रेसका सुरेन्द्र हमालले ३ पटकसम्म मन्त्री भए। अहिले लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर पनि रोल्पाकै हुन्। तर यी नेताहरूले चुनाव जिते पनि रोल्पालीको मन जित्न सकेका छैनन्।

निर्वाचनका विषयमा रोल्पामा क्रियाशील दलका नेता अलमलमा देखिन्छन्। आगामी फागुनमा निर्वाचन हुने नहुनेमा दलहरू नै द्विविधामा छन्। निर्वाचन भएमा प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (१० वामघटक मिलेर बनेको नयाँ नाम) ले यसअघिको चुनावी विरासत जोगाउन कसरत गर्ने छ। नेपाली कांग्रेसले आफ्नो गुमेको विरासत फर्काउन जोड गर्ने छ। नेत्रविक्रम चन्द नेतृत्वको कम्युनिस्ट पार्टी नेपालले आफूलाई स्थापित गर्न कसरत गर्ने देखिन्छ।

नेपाली कम्युनिस्ट पार्टी (पहिला नेकपा माओवादी केन्द्र) नेता तथा रोल्पा नगरपालिकाका पूर्वमेयर पूर्ण केसी जिल्लामा चुनावी माहोल बनिनसकेको बताउँछन्। ‘निर्वाचनको माहोल तयार नभएको देखिए पनि चुनावको विकल्प छैन। निकास भनेकै चुनाव हो’, उनले भने।

 उनले रोल्पामा आफ्नो दल एकदमै बलियो अवस्थामा रहेको दाबी गरे। ‘हिजो माओवादी केन्द्र एक्लै हुँदा पनि बलियो नै थियो। झन् अहिले १० वाम दल एक भएपछि त अवस्था थप मजबुत भएको छ’, उनले भने।

नेपाली कांग्रेस रोल्पाका सभापति किशोरकुमार आचार्यले यही अवस्थामा चुनाव हुन नसक्ने बताए। ‘यही माहोलमा निर्वाचन हुने सम्भावना छैन। तर पनि सहमतिमा निर्वाचनमा जानुपर्छ’, उनले भने।

उनले चन्द नेतृत्वको कम्युनिस्ट पार्टी नेपालका कारण प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीलाई रोल्पामा सहज नभएको बताउँदै चुनाव भएमा प्रतिस्पर्धा नेपाली कम्युनिस्ट पार्टी र नेपाली कांग्रेसबिचमा हुने दाबी गरे।

राष्ट्रिय स्वतन्त्र पार्टी रोल्पाका अध्यक्ष रमेश थापा क्षेत्रीले जिल्लामा चुनावको माहोल खासै नबनेको बताए। ‘रोल्पामा चुनावको वातावरण तयार भएको देखिँदैन। चुनाव भयो भने हामी बलियो प्रतिस्पर्धी हौं’, उनले भने।

उनले यतिबेला प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी बाहिरबाट हेर्दा बलियो देखिए पनि भित्र कमजोर रहेको बताए। उनले भने, ‘चन्द नेतृत्वको नयाँ दलका कारणले चुनावमा प्रचण्ड नेतृत्वको पार्टीलाई हानि हुन्छ। जसले गर्दा पनि हामीलाई निर्वाचन जित्न सजिलो हुने देखिन्छ।’

चन्द नेतृत्वको पार्टीका नेता जेबी आक्रोश सीले चुनाव हुने स्थिति नभएको बताए। ‘प्रहरीबाट लुटिएका हतियार बाहिर छन्। निर्वाचनका लागि वातावरण बनेको छैन’, उनले भने। उनले आफ्नो दल जिल्लामा बलियो भएको दाबी गरे। ‘रोल्पामा बलियो हामी छौं। माओवादीको विचार हामीसँग छ। हाम्रो आधार बलियो छ। चुनाव भए हामी सबै हिसाबले तयार छौं। चुनावी नतिजा हाम्रै पोल्टामा आउँछ’, उनले भने।

नेकपा एमाले रोल्पाका अध्यक्ष अमृत बाठाले चुनावको माहोल नबनेको बताए। ‘सरकारको गतिविधिकै कारण चुनावको वातावरण नबनेको हो। हामी सांगठनिक हिसाबले लागेका छौं तर चुनावी गतिविधि छैन’, उनले भने। उनले सुरक्षाका हिसाबले पनि निर्वाचनको वातावरण नभएको बताए। ‘सुरक्षाको ग्यारेन्टी नहुँदासम्म निर्वाचन सम्भव छैन’, उनले भने।

निर्वाचन कार्यालय रोल्पामा पनि चुनावी चहलपहल छैन। निर्वाचन कार्यालय रोल्पाकी नायबसुब्बा इन्दिरा अधिकारीले नयाँ मतदाता ४ सय ८५ पुरुष र ३ सय ५८ महिला गरि ८ सय ४३ थपिएको बताइन्।

रोल्पा प्रहरी प्रमुख वीरेन्द्रवीर विश्वकर्माका अनुसार देशका विभिन्न कारागारमा रहेका रोल्पाका डेढ दर्जनजति कैदी भागेका छन्। उनले सुरक्षाका हिसाबले रोल्पामा निर्वाचन सम्पन्न गर्न कुनै कठिन नभएको बताए।

सुरक्षा चुनौती छ

जितविक्रम मल्ल, अधिवक्ता

जितविक्रम मल्ल, अधिवक्ता

रोल्पामा चुनावको माहोल बनिसकेको छैन। मतदातामा चासो पनि छैन, उत्साह पनि छैन। सुरक्षित निर्वाचन होला जस्तो देखिँदैन। माओवादी दुई धारमा छ। त्यसले गर्दा पनि सुरक्षा चुनौती बढ्ने सम्भावना रहन्छ। रोल्पमा नयाँ शक्तिको खासै प्रभाव नभए पनि नयाँ दल दर्ता गरेका नेत्रविक्रम चन्दको उपस्थिति अलि बलियो नै देखिन्छ।

चुनाव दलहरूको हातमा

खुविना सुनारी मगर

जिल्लामा चुनावी गतिविधि नभएकाले राजनीतिक वातावरण तातिएको छैन। सहरी भेगमा चुनावको चर्चा–परिचर्चा सुन्न पाइन्छ तर गाउँ त शून्य छन्। निर्वाचन हुने नहुने कुरा दलहरुको हातमा छ। पुराना दलहरुले सहमति नजनाएसम्म चुनाव हुने सम्भावना कम छ। मतदातामा पनि खासै उत्साह देखिएको छैन। नयाँ दल पनि खासै सक्रिय देखिएका छैनन्।

जनतामा उत्साह छैन

बालकृष्ण सुवेदी, व्यवसायी

बालकृष्ण सुवेदी, व्यवसायी

मतदाता निर्वाचनप्रति उत्साहित देखिँदैनन्। चुनाव हुने नहुने प्रस्ट छैन। दलहरु पनि चुनावका लागि तयार देखिँदैनन्। जो निर्वाचित भएर गए पनि अवस्थामा सुधार नभएपछि जनतामा उत्साह नदेखिएको हो। चुनाव भयो भने पुरानै दलहरूबिच प्रतिस्पर्धा हुन्छ। नेत्रविक्रम चन्दको उपस्थितिले चुनाव रोचक हुने देखिन्छ।

प्रतिष्ठाको लडाइँ

डिबी टुहुरो, साहित्यकार

डिबी टुहुरो, साहित्यकार

रोल्पामा चुनावी चहलपहल सुरु भएको छैन। चुनाव हुने नहुने निश्चित छैन। लुटिएका हतियार बाहिर छन्। फरार कैदीको त्रास छ। सरकारले दलहरुसँग संवा गरेको पनि छैन। चुनाव भयो भने पनि टकरावपूर्ण हुने देखिन्छ। नयाँले पुरानालाई फाल्ने, पुराने अस्तित्व जोगाउन लाग्ने छन्। चुनावमा प्रतिष्ठाको लडाइँ हुनेछ।

युवा जेन-जी पक्षमा

सुमन विक, विद्यार्थी

सुमन विक, विद्यार्थी

निर्वाचनको माहोल सुरु भएको छ। दलहरु फागुन २१ गते हुने चुनावको तयारीमा नलागे पनि भ्रातृ संगठनहरू लागिरहेका छन्।

निर्वाचन भयो भने पुष्पकमल दाहाल नेतृत्वको दललाई नेत्रविक्रम चन्द नेतृत्वको दलले केही असर गर्छ। रोल्पाली युवाचाहिँ जेनजी आन्दोलनले उठका माग सम्बोधन गर्ने दल वा उम्मेदवारको पक्षमा लाग्ने देखिन्छ। युवा जेनजी पक्षमा छन्।

प्रकाशित: ११ मंसिर २०८२ ०७:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App