‘नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति पदप्रति मेरो आकांक्षा स्पष्ट छ, दृष्टिकोण पनि उति नै निर्धारित तर देश,जनता, प्रजातन्त्रको हित र संगठनको आवश्यकता जहाँ उभिन्छ, त्यहीअनुसार शून्यदेखि सयसम्म जसरी आवश्यक पर्छ, त्यस्तै रूपले अघि बढ्न तयार छु। साथीहरूको सुझाव, समयको माग र राजनीतिक बजारलाई सम्मान गर्दै कदम चाल्न पर्दछ,’ नेपाल कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले सामाजिक सञ्जालमा साथीहरूको जिज्ञासा मेरो धारणा भन्दै लेखेका छन् ।
पार्टीको १४औं महाधिवेशनमा उपसभापतिको प्रत्यासी बनेका भण्डारीले आगामी महाधिवेशनमा सभापति पदका लागि आफ्नो आकांक्षा रहेको स्पष्ट पारेका हुन् । त्यतिमात्र होइन देश, जनता, पार्टी र प्रजातन्त्रका लागि आफ्नो दृष्टिकोण पनि रहेको भण्डारीले दाबी गरेका छन् । उनले साथीहरूको सुझाव र समयको माग अनुसार अघि बढ्ने जनाएका छन् ।
डेढ महिना लामो विवाद र बहसपछि मंसिर १५ गते सम्पन्न केन्द्रीय समितिको बैठकले १५औं महाधिवेशन पुस २६ गते देखि काठमाडौंमा गर्ने निर्णय गरेको छ । सर्वसहमतिले महाधिवेशनको कार्यतालिका पारित गरेपनि कांग्रेसका मुख्य निर्णयाधिकारीहरूले नै पुसमा महाधिवेशन हुने कुरामा आशंका व्यक्त गर्दै आएका छन् ।
क्रियाशील सदस्यता वितरण देखिको काम सम्पन्न गरेर अबको एक महिनाभित्र कांग्रेसका सात तहको अधिवेशन सम्पन्न गरेर महाधिवेशनमा जुट्ने कुरा असम्भव प्राय: छ । त्यसमा पनि पार्टीको महाधिवेशन भन्दा फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा कांग्रेसका नेताहरूले ध्यान केन्द्रित गरेका छन् ।
त्यसले कांग्रेसको १५औं महाधिवेशन सुनिश्चिततामा थप आशंका उब्जाएको छ । तर, कांग्रेसका नेताहरू आगामी महाधिवेशनबाट नेतृत्वमा पुग्न थप सक्रियता बढाएका छन् । र, सोही अन्तर्गत भण्डारीले पनि सभापतिमा आफ्नो आकांक्षा सामाजिक सञ्जालमार्फत प्रकट गरेका हुन् ।
भण्डारी मात्र होइन आगामी महाधिवेशनमा वर्तमान सभापति शेरबहादुर देउवा विधान अनुसार पनि सभापतिको प्रत्यासी बन्न पाउने छैनन् । भदौ २३ गतेको हिंसा र २४ गतेको विध्वंसपछि उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी देउवाले दिइसकेका छन् । त्यसअघि नै आफू नेतृत्व हस्तान्तरणको पक्षमा रहेको जनाउँदै चितवन पुगेर पार्टीका नेताहरू मिलेर नेतृत्व प्रतिस्पर्धामा उत्रिन आह्वान गरेका थिए ।
सक्रिय राजनीतिको उत्तरार्धमा पुगेका देउवाको विश्वास लिएर पार्टी नेतृत्वमा पुग्न नेताहरू लालायित देखिएका छन् । उनको साथ र समर्थनमा पार्टीको नेतृत्वमा पुग्न कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारीसहितका झन्डै दर्जन नेता नेतृत्वका लागि आकांक्षी देखिएका छन् ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्का, पूर्वउपसभापतिहरू गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि र प्रकाशमान सिंह, पूर्वमहामन्त्रीद्वय शशांक कोइराला, कृष्णप्रसाद सिटौला सभापतिको आकांक्षी छन् ।
पूर्वउपसभापति श्रेष्ठले आफूसहितका कतिपय नेताले १०औं महाधिवेशनदेखि साथ दिएको जनाउँदै अबको महाधिवेशनमा सबैलाई समेट्ने र अट्ने सिनियर नेतालाई नेतृत्वमा अघि सार्नुपर्ने तर्क गर्दै आएका छन् । केही समयदेखि अस्वस्थ श्रेष्ठ अहिले उपचारकै क्रममा छन् । निधि र सिंह १४औं महाधिवेशन सभापतिको प्रत्यासी बनेका थिए । सभापति चयनका लागि निर्वाचन दोस्रो चरणमा गएपछि दुबैले देउवालाई सहयोग गरेका थिए । १५औंमा आफूलाई सहयोग गर्नुपर्ने आशय दुबै नेताको छ ।
तत्कालीन महामन्त्री शशांक कोइराला १४औं महाधिवेशनमा मौन बसे। दाजु शेखर कोइराला सभापतिको प्रत्यासी बने पनि शशांक शेखर वा देउवाको पक्षमा खुलेनन्। त्यसको लाभ देउवालाई नै पुग्यो भने आगामी महाधिवेशनमा उनको साथ पाउने आश शशांकले अझै मारिसकेका छैनन् ।
यदि देउवाको साथ नपाएमा सभापतिको प्रत्यासी नबन्ने शशांक निकट नेताहरूको दाबी छ । पूर्वमहामन्त्री सिटौला १४औं महाधिवेशनमा देउवाको पक्षमा खुलेर लागेका थिए। आफूनिकट नेता प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवार बनाएका सिटौलाले १३औं महाधिवेशनमा तत्कालीन संस्थापन पक्षमा विद्रोह गरेर सभापतिको प्रत्यासी बनेका थिए ।
महाधिवेशनको संममुखमा सभापति सुशील कोइरालाको निधन भएपछि तत्कालीन संस्थापनको नेतृत्व गर्दै रामचन्द्र पौडेल सभापतिको उम्मेदवार बनेका थिए ।
त्यसविरुद्ध सिटौलाले गगनकुमार थापालाई महामन्त्रीको उम्मेदवार बनाए र आफू सभापतिको प्रत्यासी बनेका थिए । दोस्रो चरणमा गएको सभापतिको निर्वाचनमा सिटौला देउवाको पक्षमा खुलेका थिए । कांग्रेसको सर्वोच्च पदमा देउवालाई दुई पटक पुग्न आफूले गुन लगाएको बुझाइमा रहेका सिटौला आगामी महाधिवेशनमा उनको साथ पाउने आसमा रहेको निकटहरूको दाबी छ ।
१३औं महाधिवेशनमा आफ्नो समूहबाट महामन्त्रीको उम्मेदवार मन्त्री बनाएका थापा १४औं महाधिवेशनसम्म आइपुग्दा उनै सिटौलाको साथ छाडेर शेखर कोइराला समूहबाट महामन्त्रीको उम्मेदवार बनेको प्रसंग उल्लेख गर्दै आगामी महाधिवेशनमा पनि सभापति देउवाबाट त्यस्तै धोका पाउने त होइन भन्ने आशंका र ससंय निकटहरूले व्यक्त गर्ने गरेका छन् ।
भदौ २४ गतेको राजनीतिक परिवर्तनसँगै पार्टी राजनीतिको केन्द्रमा उपसभापतिसमेत रहेका कार्यवाहक सभापति खड्का पुगेका छन् । त्यसलाई संस्थागत गर्दै देउवाको साथ र समर्थनमा पार्टीको नेतृत्वमा पुग्ने रणनीतिमा उनी जुटेका छन् । नयाँ र पुरानालाई आफूले मात्र मिलाएर लैजान सकिने बुझाइमा रहेका खड्काले आफू देउवाको असली उत्तराधिकारी भएको निकटहरूलाई बताउने गरेका छन् ।
१४औं महाधिवेशनमा सभापतिको निकटतम प्रतिद्वन्द्वी बनेका शेखर कोइराला १५औं महाधिवेशनको तयारीमा जुटेका छन् । संस्थापन इतर पक्षबाट केही समय अघिदेखि नै उनले सभापतिका लागि आफ्नो तयारीलाई तीव्र बनाएका छन् । भदौ २४पछि फेरिएको अवस्थामा पनि पार्टीभित्र समन्वयकारी भूमिका निर्वाह गरेको र उनकै प्रस्ताव अनुसार पुस महाधिवेशन गर्ने कार्यतालिका आएको नेताहरूले दाबी गर्ने गरेका छन् । तर, फेरिएको राजनीतिक अवस्था भन्दै १४औं महाधिवेशनमा कोइरालाकै समूहबाट महामन्त्री निर्वाचित थापाले पनि आफूलाई सभापतिकारुपमा प्रस्तुत गर्न थालेका छन् ।
२०७९ मंसिरमा भएको निर्वाचनपछि कांग्रेस संसदीय दलको निर्वाचनमा नै थापालाई इतर पक्षबाट दलको नेताका लागि उम्मेदवार बनाउने र १५औं महाधिवेशनमा कोइरालालाई सभापतिमा सहयोग गर्ने समझदारी बनेको निकटहरूको दाबी छ । पूर्वसहमति विपरीत कोही पनि अघि बढ्न नहुने र नसक्ने कोइराला निकट नेताहरूको बुझाइ छ ।
प्रकाशित: २४ मंसिर २०८२ २१:४३ बुधबार





