लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यो प्रदेश धार्मिक र प्राकृतिक पर्यटकीय सम्भावनाले भरपूर रहेको बताएका छन्।
बर्दघाट सुस्ता-पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१० खखरीबारीस्थित श्री हरिहर ॐ कारेश्वर महादेव मन्दिरमा सुरु भएको श्रावणी महामहोत्सवलाई आज सम्बोधन गर्दै उनले यहाँका धार्मिक र प्राकृतिक पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्न प्रदेश सरकारले स्पष्ट दृष्टिकोण बनाएको बताए।
मुख्यमन्त्री आचार्यले भने, ‘यो भूमि आफैंमा पवित्र छ। तपोभूमि हो। संसारमा अन्यत्र नपाइने सालिग्राम यही कालीगण्डकी नदीमा पाइन्छ। यस्तो अद्वितीय धार्मिक तथा प्राकृतिक पर्यटकीयस्थललाई विश्वसामु चिनाउने सम्भावना लुम्बिनी प्रदेशमा छ।’
उनले लुम्बिनीलाई गौतम बुद्धको जन्मस्थलसहित, संस्कृति व्याकरणका प्रवर्तक पाणिनि ऋषिको जन्मभूमिका रूपमा समेत परिचित गराउँदै प्रदेशको सांस्कृतिक गौरवलाई उजागर गर्नुपर्नेमा जोड दिए।
मुख्यमन्त्री आचार्यले धार्मिक आस्थासँग जोडिएका स्थलहरूको संरक्षण र प्रवर्द्धनमा प्रदेश सरकार गम्भीर भएर लागेको उल्लेख गर्दै भने, ‘धार्मिक तथा प्राकृतिक रूपमा पर्यटकीय स्थलहरूको विकासका लागि प्रदेश सरकारले योजनाबद्ध कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। थप नयाँ योजना बनाएर ती क्षेत्रको विकासमा अघि बढ्ने तयारीमा छौं।’
उनले समाजसेवाका लागि सबै नागरिकलाई कम्तीमा आफ्नो आम्दानीको १० प्रतिशत दान, पुण्य र पवित्र कार्यमा लगानी गर्नसमेत आह्वान गरे। ‘ऋण खोजेर दान गर्ने होइन, तर कमाइको केही हिस्सा समाजसेवामा खर्च गर्न जरूरी छ,’ उनले भने।
मुख्यमन्त्री आचार्यले उत्तरबाहिनी गंगा कार्यक्रममार्फत धार्मिक नदी क्षेत्रको संरक्षण, व्यवस्थापन र आध्यात्मिक पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। खखरीबारी क्षेत्रको संरक्षण, पूर्वाधार विकास र प्रवर्द्धनका लागि दीर्घकालीन योजना बनाएर अगाडि बढ्ने बताउँदै उनले यसलाई महत्त्वपूर्ण धार्मिक गन्तव्यका रूपमा स्थापित गर्नेगरी काम गरिने उल्लेख गरे। रासस
प्रकाशित: १० श्रावण २०८२ २०:२१ शनिबार





