१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

निर्वाचन प्रचारमा बालबालिका प्रयोग नगर्नू : निर्वाचन आयोग

निर्वाचन नजिकिँदै जाँदा विभिन्न राजनीतिक दल तथा उम्मेदवारले बालबालिकालाई चुनावी गतिविधिमा संलग्न गराएको उजुरी आएपछि निर्वाचन आयोगले त्यस्तो कार्य नगर्न आग्रह गरेको छ। 

आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले संविधान, बालबालिका सम्बन्धी ऐन र निर्वाचन आचारसंहिता विपरीत हुने कुनै पनि गतिविधिमा बालबालिकालाई प्रयोग नगर्न सबै राजनीतिक दल, उम्मेदवार तथा मतदातालाई आग्रह गरेका छन्। उनले बालबालिकाको अध्ययन–अध्यापनमा असर पार्ने कार्यक्रम नगर्न र कानुनले प्रत्याभूत गरेका अधिकारको संरक्षण गर्न नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहको ध्यानाकर्षण गराएका छन्। 

नेपालको संविधानको धारा ३९ ले प्रत्येक बालबालिकालाई शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण विकासको हक सुनिश्चित गरेको छ। बालबालिका सम्बन्धी ऐन, २०७५ ले बालबालिकाको सर्वोत्तम हितलाई प्राथमिकता दिनुपर्ने तथा आधारभूत तहसम्म अनिवार्य र निःशुल्क शिक्षा र माध्यमिक तहसम्म निःशुल्क शिक्षाको व्यवस्था गरेको आयोगको भनाई छ ।  

निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ उपदफा (१) को खण्ड (ट) मा निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न नहुने स्पष्ट व्यवस्था छ। आचारसंहिता उल्लंघन भएमा आयोगले एक लाख रुपैयाँसम्म जरिवाना गर्न वा उम्मेदवारी रद्दसम्मको कारबाही गर्न सक्ने जनाएको छ।  

आयोगका अनुसार दल वा उम्मेदवारले झण्डा वा निर्वाचन चिह्न बोकाउने, सांस्कृतिक कार्यक्रम तथा ¥यालीमा सहभागी गराउने, विपक्षी दलविरुद्ध गतिविधिमा संलग्न गराउने, झण्डा वा निर्वाचन चिह्न अंकित भेष्ट, टिसर्ट वा लोगो प्रदर्शन गराउने तथा विद्यालय समयमै विद्यालय नजिक चुनावी कार्यक्रम आयोजना गर्दा शैक्षिक गतिविधिमा अवरोध पुगेको विषयमा उजुरी प्राप्त भएको छ।  त्यसै सन्दर्भमा आयोगले बालबालिकालाई चुनावी गतिविधिमा प्रयोग नगर्न पुनः आग्रह गरेको हो। 

 

प्रकाशित: ११ फाल्गुन २०८२ १७:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App