मधेश प्रदेशले सभामुख रामचन्द्र मण्डलमाथिको अविश्वार प्रस्ताव सर्वसम्मतले पारित गरेको छ। बुधबार बसेको प्रदेश सभा बैठकले उक्त प्रस्ताव सर्वसम्मत पारित गरेको हो। सदस्यहरूले धारणा राखेपछि निर्णयार्थ प्रस्तुत गरिएको प्रस्तावको पक्षमा ७६ मत परेको थियो भने विपक्षमा शुन्य मत परेको थियो।
नेकपा (एमाले)का एकमात्र प्रतिनिधि शारदा थापा सरकारको प्रतिनिधि नभएको बैठकले गर्ने निर्णय मान्य नहुने बताउँदै बाहिरिएकी थिइन्। सोपछि १० मिनेट स्थगित भएर बसेको बैठकमा उपसभामुख बबिता राउत ईशरले प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेकी थिइन्। बैठकमा सात दलका सबै प्रदेश सभा सदस्य उपस्थित थिए। मतदानका क्रममा भने मुख्यमन्त्री र सभामुखको दल नेकपा (एमाले) का कुनै प्रतिनिधिको उपस्थिति थिएन।
बैठकमा अविश्वासको प्रस्ताव पारित भएको जानकारी गराउँदै उपसभामुख ईशरले सभामुख मण्डल पदमुक्त भएको घोषणा गरेकी थिइन्।
नेपाली कांग्रेस प्रमुख सचेतक कुमरकान्त झा प्रस्तावक रहेको उक्त प्रस्तावको सर्मथक लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसद उपेन्द्र महतो, जवाहरलाल कुशवाहा, राजकुमार गुप्ता रहेका थिए।
कात्तिक २७ गते सभामुखमाथि सात दलका ६४ जना प्रदेश सभा सदस्यहरुले प्रस्ताव दर्ता गराएका थिए । त्यो दिन सभामुखसँग प्रदेश सभा सदस्यहरुको विवाद भएको थियो ।
लगत्तै सभामुख मण्डलले नागरिक उन्मुक्तिका सांसद उर्मिला देवी सिंह, जसपाका मनिष सुमन, सिंहासन सा कलवार, संजय कुमार यादव र सारदा शंकर प्रसाद कलवारलाई लगातार दश वटा बेठकमा अनुपस्थित रहेको भन्दै पदमुक्त गरेका थिए । यद्यपि उनीहरुको पुनर्वहाली भइसकेको छ।
प्रकाशित: ३ मंसिर २०८२ १७:४३ बुधबार





