नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनता, आफ्नो पार्टीका सांसद र अन्य दलको सहयोगमा आफू पाँच पटक प्रधानमन्त्री बनेको बताएका छन्। दिवंगत नेता प्रदीप गिरिको स्मृतिमा बुधबार स्कुल अफ डेमोक्रेसीले काठमाडौंमा आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन्।
‘यहाँ धेरै साथीले कुरा उठाएका छन्, अब आफ्नै विषयमा उठाएको कुरालाई मैले के भन्ने?,’ सभापति देउवाले भने, ‘कति प्रधानमन्त्री भइरहने भन्छन् । अब जनताले भोट हाल्दिन्छन् त ! पार्टीका साथीभाइले सहयोग गरे, अरू पार्टीका साथीभाइले सहयोग गरे प्रधानमन्त्री भएको हुँ।’
त्यस कारण आफू सौभाग्यशाली व्यक्ति पनि रहेको उनले बताए। उनले भने, ‘किनभने अहिलेसम्म प्रत्यक्ष निर्वाचन प्रणाली लडेको हुँ जहिले पनि। सौभाग्यले अहिलेसम्म हारेको छैन।’
तर डडेलधुरामा धेरै पार्टीका नेताहरू आफ्नो खिलाफमा चुनाव हराउन लागेको पनि उनले बताए। ‘मैले डडेलधुरामा हार्छु भन्ने लागेको थियो, तै पनि जितेँ। यस्तो छ हेर्नुस्,’ देउवाले भने।
जनता ठुलो कुरा रहेको बताउँदै उनले त्यही कारण जनतालाई सार्वभौमसत्ता सम्पन्न भनिएको बताए। उनले भने,‘जनता मालिक हुन देशको, जनताभन्दा ठुलो कोही पनि छैन।’ त्यही कारण सबै राजनीतिज्ञलाई जनताको मन जित्ने गरी काम गर्न उनले सुझाव दिए।
प्रकाशित: ४ भाद्र २०८२ १७:५२ बुधबार





