नेपाली कांग्रेसको इतर पक्षले साउन ६ गते (बीपी स्मृति दिवस) काठमाडौंमा बृहत् कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ। सम्पर्क कार्यालय चुनदेवीमा बसेको बैठकले उक्त निर्णय गरेको हो।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता मीन विश्वकर्माले कार्यक्रमको स्थान र विस्तृत कार्यतालिका भने अझै तय हुन बाँकी रहेको जानकारी दिए। उनका अनुसार भोलि बस्ने बैठकले १५औँ महाधिवेशनको कार्यतालिका तथा सम्पर्क कार्यालयमार्फत सञ्चालन गरिने गतिविधिबारे पनि निर्णय गर्नेछ।
विश्वकर्माले सम्पर्क कार्यालयको स्थापना पार्टीभित्र एकताको वातावरण निर्माण गर्ने उद्देश्यले गरिएको बताउँदै त्यसका लागि आफूहरू अझै प्रयासरत रहेको बताए।
‘नेपाली कांग्रेसको एकताका लागि सम्पर्क कार्यालय स्थापना गरिएको हो। हाम्रो पहिलो प्राथमिकता पार्टीलाई एकताबद्ध गर्नु हो। तर एकताको प्रयास अहिलेसम्म सार्थक हुन सकेको छैन। यदि एकता सम्भव भएन भने वैकल्पिक बाटोबारे पनि छलफल भइरहेको छ। त्यससम्बन्धी निष्कर्ष भोलिको बैठकले निकाल्नेछ,’ उनले भने।
उनले विशेष महाधिवेशनमा सहभागी हुन नपाएका ठूलो संख्याका नेताकार्यकर्तालाई समेट्दै १५औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्नेमा जोड दिए।
‘निर्वाचन आयोगले मान्यता दिएको र अदालतले वैधानिकता दिएको कार्यसमितिलाई हामी पनि वैधानिक मान्छौँ। तर त्यस कार्यसमितिबाट छुटेका साथीहरूलाई पनि समेटेर १५औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाऔँ भन्ने हाम्रो प्रस्ताव हो,’ उनले भने।
विश्वकर्माले १५औँ महाधिवेशनलाई सहमतिमूलक र एकतामुखी बनाउन दबाब सिर्जना गर्ने उद्देश्यले सम्पर्क कार्यालय सञ्चालन गरिएको उल्लेख गर्दै पार्टी एकताभन्दा विभाजनतर्फ उन्मुख देखिएकोप्रति चिन्ता पनि व्यक्त गरे।
प्रकाशित: २२ असार २०८३ १८:०१ सोमबार





