२ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओलीसँग देउवाले आश्चर्य व्यक्त गरे,भने- पूर्वराष्ट्रपतिले किन यसो गर्नुभएको होला?

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत असार १४ गते सक्रिय राजनीतिमा फर्किने घोषणा गरिसकेकी छन्। नेकपा (एमाले) को उपाध्यक्ष पद त्यागेर दुई कार्यकाल राष्ट्रपति बनेकी भण्डारीको सक्रिय राजनीतिमा फर्किने घोषणा अहिले चौतर्फी बहसको विषय बनेको छ। यसले समग्रतामा राष्ट्रिय राजनीति नै गर्माएको छ, पार्टी-पार्टीभित्र यसका बारेमा छलफल हुने गरेको छ।

यसैबीच सबैभन्दा ठूलो तथा प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसले पनि यसका प्रति गम्भीर चासो देखाएको छ। मङ्गलबार (आज) मात्रै सभापति शेरबहादुर देउवासहित पूर्वपदाधिकारीहरूको बैठकले ‘पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा फर्किनु उचित हुँदैन’ भन्ने धारणा सार्वजनिक गरिसकेको छ।

बैठकबाट बाहिरिँदै पूर्वउपसभापति गोपानमान श्रेष्ठले भने, ‘राष्ट्रपति भइसकेपछि पुन: पार्टीको राजनीतिमा फर्किनु उचित हुँदैन। राष्ट्रपति त देशकै सर्वश्रेष्ठ पद हो। यो पदमा पुगिसकेको मान्छे फेरि राजनीतिमा फर्किन सुहाउँदैन। भन्ने कुरा भयो। सभापति (शेरबहादुर देउवा) को पनि यही धारणा रह्यो।’

उसो त यसअघि प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा देउवाले पूर्वराष्ट्रपतिको सक्रिय राजनीतिमा पुनरागमनबारे आश्चर्य व्यक्त गरेका थिए। ‘हाम्रो सभापतिजी त्यसमा सचेत हुनुहुन्छ। उहाँले यसअघि प्रधानमन्त्रीजीसँग भेट्दा त्यसका लागि आश्चर्य व्यक्त गर्नुभएको थियो। उहाँले प्रधानमन्त्रीजीसँग पूर्वराष्ट्रपतिले किन यसो गर्नुभएको होला भनेर आश्चर्य व्यक्त गर्नुभएको हो। उहाँले आफ्नो ध्यानाकर्षण भएको पनि बताउनुभएको थियो,’ देउवा निकट एक नेताले नागरिकसँग भने।

कांग्रेसको बैठक।

ती नेताले पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा फर्किँदा बलिदानीपूर्ण सङ्घर्षबाट भएका परिवर्तनहरू संस्थागत नहुने जिकिर गरे। त्यसकारण आफूहरूले नैतिक दबाब दिने उनले बताए। ‘हामीले सीधासिधी रूपमा भन्न मिल्दैन। तर, नैतिक दबाबचाहिँ हुन्छ। राष्ट्रको साझा नागरिक भएको व्यक्ति दलीय रूपमा, सानो घेराभित्र टिप्पणीपूर्ण प्रतिस्पर्धामा नउत्रिए हुन्थ्यो भन्ने हाम्रो धारणा छ। यसले राम्रो परम्परा बसाल्दैन। हामीले जस्तो आन्दोलन, क्रान्ति र सङ्घर्षबाट यो परिवर्तन ल्यायौँ,त्यसका प्रति प्रश्न उठाउने खालको कदम भयो यो पूर्वराष्ट्रपतिको। हामीले ल्याएका परिवर्तनलाई संस्थागत गर्न यसले सहयोग पुर्‍याउँदैन। यसले त्यसका प्रति प्रश्न चिह्न नै खडा गर्छ,’ ती नेताले भनेका छन्।

जसै यता भण्डारी भने कुनै पनि हालतमा ब्याक नहुने सोचमा छिन्। उनले त्यसैअनुरूप सक्रियता बढाएकी मात्रै छैनन्, अभिव्यक्ति पनि उसैगरी छाँट्ने गरेकी छन्। पार्टी मुख्यालय च्यासल नै पुगेर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीसँग झन्डै दुई घण्टा बात मारेकी भण्डारीले आज मात्रै थप आक्रामक अभिव्यक्ति दिएकी छन्। उनले आफू माझकिरातकी छोरी भएको उल्लेख गर्दै पछाडि नफर्किने बताएकी छन्।

यता एमालेले भने उनको सक्रियताका प्रति त्यति सकारात्मक ‘रेस्पोन्स’ गरिरहेको छैन। अध्यक्ष ओली भण्डारीको चाहनाविपरीत उभिएका छन्। उनले भण्डारीलाई रोक्नका लागि पार्टी विधान पनि आफूअनुकूल संशोधन गर्दैछन्। भण्डारीको पार्टीको सङ्गठित सदस्यता ‘पेन्डिङ’मा रहेकोदेखि विधानमार्फत नै भण्डारीलाई रोक्ने मनस्थितिमा ओली रहेको बताइन्छ।

यति कुरा- पूर्वराष्ट्रपति भण्डारीको सक्रिय राजनीतिप्रतिको मोह राष्ट्रिय बहस बनेको छ। प्रथम राष्ट्रपति रामवरण यादव पूर्वराष्ट्रपतिकै सम्मान लिएर बसिरहेको अवस्थामा भण्डारी सक्रिय हुनु स्वाभाविक रूपमा राष्ट्रिय बहसको विषय बनेको छ।

यो पनि पढ्नुहोस्

भण्डारीबारे कांग्रेसको धारणा: राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा फर्किनु सुहाउँदैन

प्रकाशित: ६ श्रावण २०८२ १९:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App