२७ माघ २०८२ मंगलबार
image/svg+xml
राजनीति

अस्ताउँदा देउवा, उदाउँदा थापा

उमेरले आठ दशक टेक्न लागेका शेरबहादुर देउवाको राजनीति पनि करिबकरिब अस्ताउन लागेको अवस्था छ। दुई पटकभन्दा बढी सभापति हुन नपाउने नेपाली कांग्रेसको विधानले देउवालाई १५ औं महाधिवेशनपछि सक्रिय राजनीतिबाट अवकाश दिँदै थियो। उनले एक प्रकारले अवकाशको राजनीतिमा बोनस लिइरहेका थिए। यही बेला महामन्त्री गगन थापा लगायतले नियमित महाधिवेशनको माग गरे। थापा, अर्का महामन्त्री विश्वप्रकाश शर्मासहितका नेताहरुले फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनअघि नै नियमित वा विशेष महाधिवेशनमा जानुपर्ने माग गरिरहँदा देउवाले निर्वाचन र त्यसपछि सम्भावित राजनीतिक परिदृष्यका कारण चुनावअघि नियमित वा विशेष महाधिवेशनमा जान नसकिने अडान कसे। यसैको परिणाम महामन्त्रीसहितको आह्वानमा विशेष महाधिवेशन आयोजना भयो र पार्टी विभाजित भयो।

गत भदौ २३ र २४ को जेनजी आन्दोलनपछि मुलुकका सबै पुराना पार्टीमा एक प्रकारको विद्रोह देखिएको थियो। जेनजी आन्दोलनपछि सबैभन्दा पहिला कांग्रेस महामन्त्री थापाले पार्टी रुपान्तरणको मुद्दा उठाएर जेनजी पुस्ताको मागलाई सम्बोधन गरिने बताएका थिए। उनले कांग्रेस रुपान्तरण र पुस्तान्तरणको मुद्दालाई निरन्तर उठाइरहे। उनले उठाएका मुद्दाले कांग्रेसभित्र मात्र होइन, समकालीन राजनीतिमै स्थान पायो।

जेनजी आन्दोलनपछि कांग्रेसका अधिकांश नेता र कार्यकर्ताले पार्टी रुपान्तरण हुने अपेक्षा गरेका थिए। कांग्रेसभित्रको तेस्रो पुस्ताले पार्टी रुपान्तरण नभए सकिने बताउँदै आएको थियो। चुनावअघि महाधिवेशन गर्न देउवा पक्ष तयार नभएपछि तेस्रो पुस्ताका थापाले विशेष महाधिवेशन आह्वान गरी त्यसैमार्फत सभापतिको जिम्मेवारी लिए।

जसअपजस जे मिले पनि यतिबेला थापा र शर्माले बदलिँदो राजनीतिक परिस्थितिलाई आत्मसत् गर्दै कांग्रेस रुपान्तरणको जिम्मा लिएका छन्। जसरी २०५९ असार ४ मा देउवा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँग विद्रोह गरी विशेष महाधिवेशन गरेर आफैं सभापति बनेका थिए त्यस्तै अवस्थामा थापाले पनि भृकृटी मण्डपमा आयोजित विशेष महाधिवेशनबाट बुधबार सभापतिको जिम्मेवारी लिएर लोकतान्त्रिक पार्टी जीवन्त रहेको सन्देश दिएका छन्।

संस्थापन पक्षले भने थापा, शर्मासहितका नेतालाई पाँच वर्ष पार्टीबाट निकाल्ने निर्णय गरेको छ। हिजो कोइरालाबाट कारबाहीमा परेका देउवाले बुधबार थापा, शर्मासहितलाई कारबाही गरेको पत्र निर्वाचन आयोगमा पठाए।

यता भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनले देउवा नेतृत्वको केन्द्रीय समिति विघटनको घोषणा गरेको छ। निर्वाचन आयोगले दुवै पक्षले बुझाएका पत्रलाई हेर्न नभ्याएको जनाएको छ।

कांग्रेसमा अहिलेको कारबाहीको परिस्थिति २०५९ मा जस्तै छ। जेनजी आन्दोलनपछि युवा पुस्ताको मागप्रति थापाले जे जस्ता अभिव्यक्ति दिए, त्यसलाई सिंगो कांग्रेसले आत्मसात् गर्न सकेन। २०५९ मा प्रतिनिधिसभा विघटन विवादमा कांग्रेसका तत्कालीन सभापति कोइरालाले पार्टी निर्णयको अवज्ञा गरेको भन्दै प्रधानमन्त्रीसमेत रहेका देउवालाई तीन वर्षका लागि पार्टीबाट निस्कासित गरेका थिए।

कारबाहीलगत्तै देउवाले पार्टीको विशेष महाधिवेशन बोलाएर कोइरालालाई पार्टीबाट निस्कासन गरेको निर्णय गराएका थिए। देउवा पक्ष सहभागी त्यो विशेष महाधिवेशनले उनलाई सभापतिमा निर्वाचित गरेको थियो। विवाद निर्वाचन आयोगमा पुग्यो। आयोगले देउवा नेतृत्वको समितिलाई आधिकारिक कांग्रेस भएको मान्यता दिएन। त्यसपछि उनले नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरेका थिए।

केही वर्षपछि देउवा र कोइराला नेतृत्वको नेपाली कांग्रसबिच एकता भयो। पार्टी एकतापछि दुई पटक सभापति भएका देउवाका लागि अहिले राजनीतिबाट अर्थात् सक्रिय राजनीतिबाट सहज बहिर्गमनको अवस्था थियो तर उनले १५ महाधिवेशन नहुन्जेल नेतृत्व छोड्न चाहेनन्।

देउवाले निर्वाचनअघि नेतृत्व छोड्न नचाहेपछि थापाले विशेष महाधिवेशन मार्फत पार्टीको नेतृत्व लिएका छन्। विशेष महाधिवेशनमा बहुमत प्रतिनिधि सहभागी भएको थापाको दाबी छ। थापाले पार्टीको नेतृत्व लिएर देशलाई नै नेतृत्व गर्न तयार रहेको अग्रगामाी सन्देश प्रवाह गरेका छन्।

थापाले नेवि संघमा आफू महामन्त्री हुँदा सभापति रहेका गुरुराज घिमिरेलाई अहिले पार्टीको महामन्त्रीमा ल्याएका छन्। थापाले २०५९ सालदेखि २०६१ सालसम्म नेविसंघको महामन्त्री भएका थिए। विश्वप्रकाश शर्मापछि घिमिरे संंघको सभापति भएका थिए। त्यसपछिका सभापति प्रदीप पौडेललाई थापाले अर्को महामन्त्री बनाइएका छन्।

यसरी नेतृत्वमा उदाएका युवाको पंक्तिले कार्यकर्तामा निराशा चिरेर ऊर्जा भर्न सक्ने देखिएको छ। त्रिचन्द्र क्याम्पसमा २०५१ सालमा स्वतन्त्र विद्यार्थी युनियनको सदस्यमा निर्वाचित भएर सुरु भएको राजनीतिक यात्राका क्रमममा थपा चार पटक संसद्मा पुगिसकेका छन्।

संविधानसभा सदस्य र तीन पटक काठमाडौं क्षेत्र नं ४ चार बाट सांसद निर्वाचित थापालाई कार्यकर्ताले कांग्रेसको सभापति र मुलुकको प्रधानमन्त्रीका रुपमा हेरेका छन्। कार्यकर्ताको चाहनाअनुसार सभापतिको जिम्मेवारी लिएका थापा प्रधानमन्त्री बन्छन् या बन्दैनन् त्यो भविष्यले देखाउला। जेनजी आन्दोलनले उनका लागि एक प्रकारले अग्रगमनको ढोका खोलिदिएको छ।

कांग्रेसका तत्कालीन सभापति कोइरालासँग विचारमा असहमत हुँदा पनि २०६४ को संविधानसभा चुनावपछि सोही सभामा समानुपातिकतर्फबाट प्रतिनिधित्व गरेका थापा दोस्रो संविधानसभाको निर्वाचनमा काठमाडौं–४ बाट निर्वाचित भएका थिए।

दोस्रो संविधानसभा कालमा कृषि तथा जलस्रोत समितिको सभापति बनेका थापा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दोस्रो पटक प्रधानमन्त्री हुँदा स्वास्थ्यमन्त्री बनेका थिए। स्वास्थ्यमन्त्री हुँदा उनले राम्रो काम गरेको भन्दै चर्चा पाएका थिए। २०७४ सालको संसदीय चुनावमा देशभर वाम गठबन्धन (एमाले–माओवादी केन्द्र) को लहर चले पनि काठमाडौं–४ बाट थापा निर्वाचित भए। २०७९ सालमा पनि उनी सोही क्षेत्रबाटै विजयी भए हुन्।

उनी कांग्रेसको १२औं महाधिवेशनबाट सबैभन्दा बढी भोटसहित केन्द्रीय सदस्य चुनिएका थिए। १३औं महाधिवेशनमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहबाट महामन्त्रीमा उठेका थापा पराजित भएका थिए। थापा १४ औं महाधिवेशनमा भने शेखर कोइराला समूहबाट महामन्त्रीमा निर्वाचित भएका हुन्। सोही महाधिवेशनमा सिटौला समूहबाट महामन्त्रीमा उठेका प्रदीप पौडेल पराजित भएका थिए। अहिले पौडेल थापा टिमको महामन्त्री भएका छन्।

थापा र शर्माले शेखर कोइराला समूहका नेताहरुलाई पनि भृकुटीमण्डपस्थित विशेष महाधिवशेन हलमा पुर्‍याएका थिए। विशेष महाधिवेशनको उद्घाटन स्थल र बन्द सत्रमा शेखर समूहलाई पनि लैजान सक्नु थपा र शर्माको राजनीतिक सफलता हो तर शेखर देउवालाई साथ दिँदै विशेष महाधिवेशनको विपक्षमा उभिए।

विशेष महाधिवेशन चलिरहेका बेला थापाले सहमतिका लागि देउवा पक्षसँग संवाद पनि गरिरहेको थियो। तर वार्ता सार्थक बन्न सकेन। कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठकले थापा, शर्मा लगायतलाई पाँच वर्षका लागि पार्टीबाट निकाला गरेपछि विशेष महाधिवेशनको हलले त्यसलाई अस्वीकार गर्दै थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा गरेको छ। थापाको आँटबाटै यो सम्भव भएको हो।  

प्रकाशित: १ माघ २०८२ ०६:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App