२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

निर्वाचन आचारसंहिताको कार्यान्वयन जरुरी छ : आयुक्त डा. तुलाधर

निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन जरुरी रहेको बताएकी छन्। नेपाल कानुन समाजको सहकार्यमा निर्वाचन आयोगले धनगढीमा आयोजना गरेको आचारसंहिता कार्यान्वयनसम्बन्धी प्रदेशस्तरीय कार्यक्रममा उनले यस्तो बताएकी हुन्।

आयुक्त तुलाधरले निर्वाचनलाई स्वच्छ, पारदर्शी तथा विश्वसनीय बनाउन निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन महत्त्वपूर्ण रहेको बताइन्। निर्वाचन आचारसंहिता २०८२ को मूल उद्देश्य निष्पक्ष, स्वतन्त्र र विश्वसनीय निर्वाचन सुनिश्चित गर्नु, राज्यको स्रोतको दुरुपयोग रोक्नु, समान प्रतिस्पर्धाको वातावरण निर्माण गर्नु र मतदाताको स्वतन्त्र निर्णयको अधिकार संरक्षण गर्नु रहेको उनको भनाइ थियो।

राजनीतिक दल, उम्मेदवार, सरकार, कर्मचारी, सञ्चारमाध्यम तथा सबै सरोकारवाला आचारसंहिताको पालक रहेको आयोगले जनाएको छ। आचारसंहिता केवल कानुनी दस्तावेज मात्र नभइ लोकतान्त्रिक मर्यादा, राजनीतिक नैतिकता र सुशासनप्रतिको प्रतिबद्धताको प्रतिविम्बसमेत भएको आयुक्त तुलाधरले बताइन्।

सरकारी स्रोत–साधनको दुरुपयोग रोक्ने, मर्यादित प्रचारप्रसार सुनिश्चित गर्ने, घृणात्मक अभिव्यक्ति नियन्त्रण गर्ने तथा महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति र यौनिक एवं अल्पसङ्ख्यक समुदायको संरक्षण गर्ने विषय महत्त्वपूर्ण रहेको उनको भनाइ छ। डिजिटल युगमा सामाजिक सञ्जाल, अनलाइन प्लेटफर्म तथा कृत्रिम बुद्धिमत्ता (एआई) को दुरुपयोग निर्वाचनको विश्वसनीयताका लागि चुनौती बनेको बताइन्।

भ्रामक सूचना, हेटस्पिच, झूटा समाचार तथा अवैध मत सर्वेक्षणले मतदातामा नकारात्मक प्रभाव पार्ने भएकाले सबै सरोकारवालाले उच्च सतर्कता अपनाउनुपर्ने उनको भनाइ थियो।

प्रकाशित: २७ माघ २०८२ १६:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App