स्वास्थ्य, वातावरण र जलवायुमा परिरहेको असर न्यूनीकरणका लागि काम गर्दै आएको हेक्याफ–३६० ले हिमाली क्षेत्रमा फोहोरजन्य सामग्री शून्य बनाउने अभियान सुरु गरेको छ।
फोहोर जलाउनु मात्र समस्याको समाधान नभएको भन्दै त्यसविरुद्ध जागरण अभियान चलाउँदै आएको हेल्थ इन्भाइरोमेन्ट एण्ड क्लाइमेन्ट एक्सन फाउण्डेसन (हेक्याफ–३६०) ले फोहोरको वर्गीकरण गरी सोही अनुसार उचित र प्रभावकारी व्यवस्थापनमा ध्यान दिनुपर्ने कार्यलाई अभियानको रूपमा अघि बढाएको हो।
हेक्याफ–३६० ले हिमाली क्षेत्र अन्तर्गत ताप्लेजुङको कञ्चनजंघा आधार शिविर क्षेत्रमा फोहोरजन्य सामग्रीको अवस्थाका बारेमा अध्ययन गरेको हो। मंगलबार फुङलिङमा आयोजित कार्यक्रममा हेक्याफ–३६० का कार्यकारी निर्देशक मोचन भट्टराईले कञ्चनजंघा आधार शिविर क्षेत्रमा फोहोरजन्य सामग्रीको अवस्थाको अध्ययन भएको जानकारी दिए। उनका अनुसार हेक्याफ–३६० ले पाइलट प्रोजेक्टको रूपमा कञ्चनजंघा आधार शिविरमा फोहोरजन्य सामग्रीको अवस्था र व्यवस्थापनको कार्य गरिएको थियो।
अध्ययनकै सिलसिलामा कञ्चनजंघा संरक्षण क्षेत्रको आधार शिविर ओक्ताङ पुगेर फर्किएका हिमाल सफाइ अभियानका एक अभियन्ता पिके शेर्पाका अनुसार कञ्चनजंघा क्षेत्र फोहोरका हिसाबले खास जोखिममा छैन। आफूहरूले समेत हिमाल सफाइ अभियान सञ्चालन गरेको र नेपाली सेनाले समेत सफाइ अभियान सञ्चालन गरेका कारण पछिल्लो अध्ययन र भ्रमणमा आफूहरूले आधार शिविर क्षेत्रमा कमै मात्र फोहोर संकलन गर्न सकेको शेर्पाले बताए।
उनका अनुसार करिब २७ किलोग्राम प्लाष्टिकजन्य फोहोर संकलन भएको छ। संकलित फोहोरलाई वर्गीकरण गरी उच्च प्रदूषण हुने फोहोरलाई काठमाडौं लगिने शेर्पाले जानकारी दिए। उनले सिरिजङ्वा गाउँपालिकाका १७ वर्षमाथि उमेर समूहका विद्यार्थीलाई समेत हिमाली क्षेत्रमै फोहोर व्यवस्थापन तथा संकलन कार्यमा सहभागी गराएको जानकारी दिए। विद्यार्थीले हिमाली क्षेत्रको फोहोरको अवस्थाबारे जानकारी हासिल समेत गर्ने र आफ्ना सहपाठी तथा अभिभावकलाई फोहोर व्यवस्थापनका बारेमा जानकारी समेत गराउने सक्ने भएकोले शेर्पाले उक्त कार्यमा विद्यार्थीको सहभागितालाई प्रभावकारी अभियानको रूपमा बुझेका छन्।
हिमाली क्षेत्रको फोहोरभित्र पनि प्लाष्टिकजन्य फोहोरले वातावरणीय प्रदूषणलाई बढाउने र स्वास्थ्य तथा जलवायुमा गम्भीर असर गर्ने यस क्षेत्रका जानकार सुजाता राजपूत बताउँछिन्। उनका अनुसार कञ्चनजंघा आधार शिविर क्षेत्रमा भेटिएका प्लाष्टिकजन्य फोहोरमध्ये सबैभन्दा बढी पोलिथिन ब्याग, म्याट, पानीका बोतल र झ्यार–झ्यार गर्ने चाउचाउका खोल बढी भेटिएका छन्।
प्लाष्टिकजन्य सामग्रीलाई ७ प्रकारमा विभाजन गरेर हेरिए पनि बढी मात्रामा ४ प्रकारका सामग्री कञ्चनजंघा आधार शिविर क्षेत्रमा फेला परेको राजपूतले बताइन्। हेक्याफ–३६० ले धारणा, अवधारणा र व्यवहार परिवर्तनमार्फत फोहोरजन्य सामग्रीको उचित व्यवस्थापनका कार्यलाई अघि बढाउने बताएको छ। सुरुमा अस्पतालको फोहोरको उचित व्यवस्थापन गर्ने कार्य गरेको हेक्याफले हिमाली क्षेत्रको फोहोरको उचित र प्रभावकारी व्यवस्थापनको बारेमा अध्ययन गरेको भने यो पहिलो हो।
प्रकाशित: २७ माघ २०८२ १६:३२ मंगलबार





