२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

विशेष महाधिवेशनको माग पार्टी विभाजनका लागि होइन: थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनको माग पार्टी विभाजनका लागि नभई सङ्गठनको सुदृढीकरण र नयाँ राजनीतिक मार्गचित्रका लागि भएको बताएका छन्।

बिहीबार साँझ पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।

बैठकमा विशेष महाधिवेशन पक्षधरलाई प्रस्ताव फिर्ता लिन गरिएको अपिलमा महामन्त्री थापा र सहमहामन्त्री फरमुल्लाह मन्सुरले असहमति जनाएका थिए।

महामन्त्री थापाले भने, ‘पार्टी विधान अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेपछि विशेष महाधिवेशन बोलाउनुपर्ने अनिवार्य व्यवस्था छ। यसलाई बेवास्ता गर्नु विधानको ठाडो उल्लङ्घन हो।’

महामन्त्री थापाले नियमित महाधिवेशनको कार्यतालिका आइसकेपछि विशेष महाधिवेशन आवश्यक छैन भन्नु विधानको अपव्याख्या भएको जिकिर गरे।

‘यो सरासर विधानको खिलाफ छ,’ उनले भने, ‘केन्द्रले नबोलाएको अवस्थामा विशिष्ट आवश्यकता महसुस गरेर महाधिवेशन प्रतिनिधिहरूले आफ्नो हक प्रयोग गरेका हुन्।’

उनले विशेष महाधिवेशनको मागलाई पार्टी फुटाउने प्रयासका रूपमा चित्रण गरिएकोप्रति आपत्ति जनाए। ‘पार्टी फुट्ने कुरा केवल औपचारिक रूपमा फुट्ने होइन, कार्यकर्ताको मन र विश्वास टुट्यो भने पार्टी वास्तविक रूपमा फुट्छ,’ थापाले भने, ‘नागरिक र कार्यकर्ताले अहिलेको नेतृत्व र नीतिमा परिवर्तन खोजेका छन्। त्यसैका लागि हामीले विशेष महाधिवेशन मागेका हौँ।’

थापाले पार्टी नेतृत्वले समयको माग र कार्यकर्ताको भावना बुझ्न नसकेको आरोप लगाए। उनले भने, ‘भदौ २३ र २४ गतेपछि देशको परिस्थिति बदलिएको छ। युवा पुस्तामा ठुलो विद्रोह र असन्तुष्टि छ। अहिलेको नेतृत्व र नीतिले कांग्रेसलाई अघि बढाउन सक्दैन। त्यसैले नीति र नेतृत्व दुवै फेर्न विशेष महाधिवेशन आवश्यक छ।’

उनले पुस २७ र २८ गतेका लागि आह्वान गरिएको विशेष महाधिवेशन विधानसम्मत भएको दाबी गर्दै त्यसमा सहभागी हुन देशभरका महाधिवेशन प्रतिनिधिलाई आग्रह गरे। ‘यो अधिवेशन हाम्रो हो, केन्द्रीय कार्यसमितिले यसको स्वामित्व लिनुपर्छ,’ उनले भने।

उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले विशेष महाधिवेशन पक्षधरलाई आफ्नो प्रस्ताव फिर्ता लिन औपचारिक अपिल गर्ने निर्णय गरेको थियो। तर, महामन्त्री थापा र सहमहामन्त्री मन्सुरले उक्त निर्णयमा फरक मत राखेका थिए।

विशेष महाधिवेशनको आह्वानसँगै कांग्रेसभित्र देखिएको विवाद र धुर्वीकरणले पार्टी फुटको जोखिम बढाएको विश्लेषण भइरहेका बेला महामन्त्री थापाले भने पार्टी नफुट्ने र आफूहरू जिम्मेवार भएर अघि बढ्ने स्पष्ट पारे।

‘हामी पार्टी फुटाउन होइन, जुटाउन र बलियो बनाउन लागेका हौँ,’ उनले थपे।

प्रकाशित: २४ पुस २०८२ १९:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App