नेकपा माओवादी केन्द्रभित्र सैद्धान्तिक र वैचारिक रूपमा दुई लाइन संघर्ष हुने देखिएको छ। वैज्ञानिक समाजवादको वैचारिक राजनीतिक कार्यदिशा, समाजवादी पार्टीहरूसँग एकताको पहल तथा सहकार्य, विगतमा कांग्रेस र एमालेलगायतसँग गरेको सहकार्य, विचार, राजनीति, संगठनात्मक विधि पद्धति, स्कुलिङलाई लिएर दुई लाइन संघर्ष हुने देखिएको हो।
पार्टीभित्र नेतृत्व परिवर्तन र विशेष महाधिवेशनको विषयमा उपमहासचिव जनार्दन शर्माले अन्तरसंघर्ष चलाइरहेका छन्। पार्टीमा विशेष महाधिवेशनको पनि माग हुन थालेको छ। मओवादी केन्द्रको शुक्रबारदेखि सुरु हुने स्थायी कमिटी बैठकमा नेताहरूले यी विषयमा धारणा राख्ने बताइएको छ।
पार्टी सचिव देवेन्द्र पौडेले विशेष महाधिवेशनलगायत विषयमा स्थायी कमिटी बैठकमा छलफल हुन सक्ने बताएका छन्। ‘शुक्रबार ११ बजेबाट स्थायी कमिटीको बैठक हुँदै छ, त्यसमा विशेष महाधिवेशनलगायत विषयमा छलफल हुन सक्छ। आजै यो–यो विषयमा छलफल हुन्छ भनेर भन्न त सकिँदैन,’ पौडलले भने।
शर्मा, सुदन किरातीलगायत नेताले पार्टीलाई वैचारिक रूपमा सबल बनाउँदै युवा पुस्तामा नेतृत्व ल्याउनुपर्ने बताउँदै आएका छन्। एकल निर्णय गर्दै आएका अध्यक्ष पुष्पकमल दाहालका कारण पार्टीलाई बढी क्षति भएको विषयमा धेरैजसो पदाधिकारी सहमत भए पनि उनीहरू खुलेर बोल्न सक्दैनन्। ‘शान्ति प्रक्रियामा आएदेखि नै हेर्ने हो भने नेतृत्वले गरेका निर्णयले पार्टीलाई ओरालो यात्रामा हिँडाएको देखिन्छ। अब पनि नेतृत्वको एकाधिकार नतोड्ने हो भने पार्टीलाई थप घाटा लाग्ने निश्चित छ,’ एक पदाधिकारीले भने, ‘नेतृत्वले सामूहिकतामा जान नचाहेकै कारण समस्या भएको छ।’
पार्टीमा नेतृत्व हस्तान्तरणको पक्षमा उभिएका शर्मालाई अनुशासनको कारबाही गर्नुपर्ने आवाज पनि उठाउन थालिएको छ। अध्यक्ष दाहालसँग अन्तरसंघर्ष चर्काउँदै लगेका कारण शर्मालाई कारबाही गर्नुपर्ने आवाज संस्थापन पक्षबाट उठाउन थालिएको हो। पदाधिकारीको बुधबार बसेको बैठकमा केही नेताले पार्टी अनुशासन नमान्नेलाई कारबाही गर्नुपर्ने प्रसंग उठाएका थिए।
पदाधिकारी बैठकमा शर्मालाई लक्षित गरी महासचिव देव गुरुङले पार्टीमा आन्तरिक एकताको प्रस्ताव राखेका थिए। उनले यो प्रस्तावलाई छलफलका लागि स्थायी कमिटीमा राख्ने भएका छन्। आन्तरिक व्यवस्थापनका लागि प्रमुख प्रस्ताव तय भएको छ। अन्तरसंघर्ष व्यवस्थापन गर्न ‘पार्टीमा आन्तरिक एकता’ शीर्षकको प्रस्ताव तयार पारिएको छ। स्थायी कमिटी बैठकमा शर्माले उठाएका विषयवस्तुमा पनि छलफल हुने बताइएको छ।
शर्माले विशेष महाधिवेशन गरी पार्टीको पुनर्निर्माण गर्नुपर्ने, नेतृत्व हस्तान्तरण हुनुपर्ने, आन्तरिक लोकतन्त्र (जनवादी केन्द्रीयता) कमजोर भएको विषय सार्वजनिक रूपमै उठाएका छन्। ‘स्थायी कमिटी बैठकमा पार्टीको आन्तरिक जीवनबारे छलफल हुनेछ। बैठकमा के–के अजेन्डा आउँछन् हेर्न बाँकी नै छ,’ अर्का एक पदाधिकारीले भने।
अध्यक्ष दाहालले केही दिनअघि सार्वजनिक रूपमै उपमहासचिव शर्माको नाम नलिईकन केही नेताले पार्टीभित्र सिँगौरी खेलिरहेको बताएका थिए। ‘पार्टीको आन्तरिक विषयलाई सार्वजनिक कार्यक्रममा उठाउनु नै अनुशासनविपरीतको विषय थियो। त्यसैले यो विषयमा स्थायी कमिटीमा छलफल हुनुपर्छ भनेका हौं,’ ती पदाधिकारीले भने।
अध्यक्ष दाहालले यही साउन ७ पुष्पलाल स्मृतिसभामा पार्टीभित्र जनवादको उच्चतम अभ्यास गर्न दिएको बताएका थिए। ‘अहिले पनि केही साथीले अलिअलि सिँगौरी खेल्न पाएजस्तो गर्नुभएको छ। उहाँहरूलाई प्रशस्त सिँगौरी खेल्न दिएको छु,’ दाहालले भनेका थिए।
त्यसको काउन्टरमा शर्माले मंगलबार समाजिक सञ्जालमार्फत विशेष महाधिवेशनको माग गरेका थिए। उनले सामाजिक सञ्जालमार्फत चार बुँदे प्रस्ताव अघि सारेका छन्। शर्माले पार्टी फुट्छ भन्ने प्रचार माथि (नेतृत्व तह) बाटै लगातार भइरहेको र यसले जनता र कार्यकर्तामा भ्रम उत्पन्न भएकाले विशेष महाधिवेशनको माग गरेका हुन्। अध्यक्ष दाहालको कार्यशैलीप्रति सार्वजनिक रूपमै मतभेद राख्दै आएका शर्माले बुधबारको पदाधिकारी बैठकमा पनि विशेष महाधिवेशनमा माग गरेका थिए। उनले बैठकमा चार बुँदे प्रस्ताव राखेका थिए।
आगामी महाधिवेशनबाट पार्टीको नेतृत्व गर्नेगरी उनी अगाडि बढेका छन्। ‘विगत दुई वर्षदेखि माथिल्लो तहबाटै लगातार पार्टी फुट्छ भन्ने गरिएको प्रचारलाई यतिबेला थप मलजल गर्दै पार्टी कार्यकर्ता र जनतामा भ्रमको खेती गर्नेहरूप्रति सचेत हुन आग्रह गर्छु,’ शर्माले पदाधिकारी बैठकमा चारबुँदे प्रस्ताव पेस गर्दै पार्टीबारे उठेको भ्रम र तथ्यलाई गहिरो गरी बुझ्न आग्रह गरेका थिए। ‘गत वर्ष सबै प्रदेशमा भएको परामर्श बैठकपश्चात् बसेको केन्द्रीय समितिले आषाढदेखि प्रारम्भ गरेर ६ महिनाभित्र अर्थात् मंसिरमा विषेश महाधिवेशन गर्ने निर्णय गरेको सन्दर्भमा अब पार्टीमा अजेन्डाकेन्द्रित बहस गरौं, जसले पार्टीलाई पुनर्गठन, सुदृढ र व्यवस्थित गर्न मद्दत पुग्नेछ। पार्टी केन्द्रको निर्णयअनुसार हुलाकी मार्ग र मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) अभियानबाट आर्जेको ऊर्जालाई दुई बुँदे सहमतिपश्चात गिरेको पार्टीको साखलाई पुनः माथि उठाउन गम्भीर आत्मसमीक्षा गर्दै एजेन्डाकेन्द्रित बहसमा केन्द्रित हौं। यतिबेला सिंगै देश, जनता र राजनीतिक पार्टीहरू गम्भीर संकटबाट गुज्रिरहेका छन्। यसको समाधान संविधानको संशोधन, अर्थतन्त्रको पुनर्संरचना र पार्टीको पुनर्गठन नै हो,’ उनले भनेका थिए।
शर्माले अर्थतन्त्रको पुनर्संरचनाले संविधानले निर्दिष्ट गरेको समाजवादउन्मुख अर्थतन्त्रलाई नीतिगत व्यवस्थामा रूपान्तरण गर्दै उत्पादन, वितरण तथा समावेशी विकासको नयाँ मानकहरू स्थापित गर्न मद्दत गर्ने बताएका थिए। यसले संकटग्रस्त अर्थतन्त्रमा सुधार ल्याउने उनको भनाइ थियो। ‘आर्थिक उत्पादन र रोजगारीलाई सामाजिक तथा सांस्कृतिक रूपान्तरणको माध्यमबाट आत्मनिर्भर र सामाजिक न्याययुक्त समाजको जग खडा गर्न मद्दत पुग्छ,’ उनले बैठकमा भनेका थिए।
देशमा बढ्दै गएको कुशासन, कानुन निर्माणमा भएका चलखेल, भ्रष्टाचारको बेलगाम वृद्धि, जनसरोकारका विषयहरूप्रतिको बेवास्ताले जनतामा उत्पन्न निराशालाई चिर्नुपर्ने आवश्यकता पनि उनले औंल्याएका थिए। ‘संविधान संशोधनले शासकीय स्वरूप, चुनाव प्रणाली, पहिचान र आर्थिक क्षेत्रको पुनर्संरचना आदि अजेन्डाहरूले राष्ट्रलाई एकताबद्ध गर्नेछ। विशेष महाधिवेशनले पार्टीभित्रको वैचारिक अस्पष्टता, राजनीतिक अन्योल, सांगठनिक अराजकता अन्त्य गरी सही मार्ग समात्न र नयाँ पुस्ताको भावना र सपना सम्बोधन गर्ने कार्ययोजना तयार पार्न सघाउने छ,’ उनले पदाधिकारी बैठकमा भनेका थिए।
शर्माले मंगलबार च प्रस्ताव सार्वजनिक गरेपछि अध्यक्ष दाहालले महासचिव गुरुङलाई पार्टीमा आन्तरिक एकता प्रस्ताव तयार गर्न लगाएको स्रोतको दाबी छ।
प्रकाशित: १६ श्रावण २०८२ ०६:११ शुक्रबार





