मधेस प्रदेश सरकारले प्रदेशसभालाई छलेर आगामी आर्थिक वर्षको बजेट ल्याएको भन्दै प्रतिपक्षी दलका सांसदहरूले प्रदेशसभा बैठक बहिष्कार गरेका छन् ।
सोमबार बोलाइएको बैठकमा विपक्षी ६ दलका सांसदहरूले बैठक बहिष्कार गरी बाहिरिएका हुन् । विपक्षी दलले बैठक बहिष्कार गरेपनि सभामुख रामचन्द्र मण्डलले बैठक जारी राखेका छन् ।
सरकारले प्रदेशसभामा प्रस्तुत गरेका गरेका बजेट पुस्तिकामा ४६१ पृष्ठको मात्रै रहेको छ । तर पीएलआइएमएसमा ७५५ पृष्ठसहितको योजना लक भएको छ । रातो किताब भन्दा बाहेक योजना खारेज हुनुपर्ने विपक्षी दलको माग छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रदेश संसदीय दलका नेता सरोज कुमार यादवले प्रदेशसभामा सरकारले प्रस्तुत गरेको बजेट पुस्तिकामा नरहेको २९४ पृष्ठमा करिब ८ अर्बको योजना राखेर अर्थमन्त्रीले आर्थिक अपराध गरेको आरोप लगाएका छन्। उनले अर्थमन्त्रीले राजीनामा नदिएसम्म विपक्षी दलसहित आफूहरू बैठकमा सहभागी नहुने भन्दै बाहिरिएका हुन् ।
बैठकबाट (जसपा) नेपाल, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, नेपाल संघीय समाजवादी, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका सांसदहरु बाहिरिएका छन् । विपक्षी दलका सांसदहरु बाहिरिएपछि लोकतान्त्रिक समाजवादी पार्टीका सांसद उपेन्द्र महतोले विपक्षी दललाई पेलेर बजेट पास गराउनु लोकतान्त्रिक अभ्यास विपरीत भएको बताए ।
लगभग ७ वर्षको अन्तरालमा आज पहिलो पटक सदनमा बोल्दा लज्जा बोध भएको सांसद महतोले बताए । उनले भने ‘कहीँ पनि नभएको कुरा मधेस प्रदेशमा हुदैछ । बजेट त हामीले पास त गर्छौ । तर हामी कुन परम्परा स्थापना गर्दैछौं। हामीले जे कुरा पास गरिरहेका छौ सदनबाट एक पटक हामी विपक्षी बेन्चमा बसेर सोच्नुस् हामीले के गर्थ्यो । माइक तोडेको हुलदङ्गा गरेको इतिहासै छ । गलतलाई गलत भन्नुपर्छ ।’
उनले भने, ‘विपक्षी दलहरूसँग सरकारले सहमतिको प्रयास नगरेको भन्दै सरकारको नियतमाथि नै शंका रहेको उनले बताए । सरकारले एकै चोटि ३२ गते बैठक बोलाएर कानुनको सबै धारा निलम्बन गरेर बजेट पास गर्दा नि हुन्थ्यो । ’
आज प्रदेशसभामा विनियोजन विधेयक अर्थमन्त्री सुनिल कुमार यादवले प्रस्तुत गर्ने, आर्थिक विधेयकमाथि प्रस्ताव गरियोस् भने पेश गर्ने, आर्थिक विधेयकमाथि छलफलमा उठेको प्रश्नको जवाफ दिने र आर्थिक विधेयकमाथि निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
प्रकाशित: ३० असार २०८२ १२:४३ सोमबार





