२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

हाम्रो नेतृत्वमा शैक्षिक र प्रविधिक हब बन्दैछ दाङ : महासचिव पाेखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले दाङलाई शैक्षिक तथा प्रविधिक हबको रूपमा विकास गर्ने अभियान तीव्र गतिमा अगाडि बढिरहेको बताएका छन्।

उनले दाङको समग्र विकास कुनै एक दलको मात्र एजेन्डा नभइ सम्पूर्ण जिल्लावासीको साझा हितको विषय भएको उल्लेख गरेका छन्। उनका अनुसार लामो समयदेखि अलपत्र परेको त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान घोराही क्याम्पसको निर्माण प्रक्रिया अहिले तदारुकताका साथ अघि बढाइएको छ।

३० करोड रुपैयाँ स्रोत सुनिश्चित गरेपछि २०८२ साल वैशाख २३ गते बोलपत्र आह्वान गरिएको र २०८२ साल माघ ८ गते २० करोड ८७ लाख ४० हजार २२१ रुपैयाँमा निर्माण सम्झौता भएको उनले जानकारी दिए।

दाङ क्षेत्र नं २ का उम्मेदवार समेत रहेका पोखरेलले २०८४ सालभित्र निर्माण सम्पन्न गरी कम्प्युटर इन्जिनियरिङ कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखिएको उल्लेख गर्दै उक्त अत्याधुनिक क्याम्पसले दाङलाई सूचना प्रविधिको केन्द्रका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरेका छन्।

उनका अनुसार यस परियोजनाले दाङलाई ‘बेङ्ग्लोर मोडल’ अनुरूप नेपाली ‘सिलिकन भ्याली’ अर्थात् ‘दाङ भ्याली’का रूपमा विकास गर्ने आधार तयार गर्नेछ।

'जिल्ला अगाडि बढ्नु कुनै दल विशेषको हितको कुरा होइन, यो समग्र जिल्लाबासीको भविष्यसँग जोडिएको विषय हो,' उनले सामाजिक सञ्जालमार्फत भने।

पोखरेलले दाङलाई शिक्षा, प्रविधि र नवप्रवर्तनको केन्द्र बनाउने दीर्घकालीन सोचसहित काम भइरहेको उल्लेख गर्दै सम्पूर्ण दाङवासीलाई बधाई दिएका छन्।

प्रकाशित: १२ फाल्गुन २०८२ १५:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App