९ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

दाहालको चिन्ता: फेरि सत्तामा कसरी पुग्ने ? दुई तिहाइ लिएर बसेका छन्

‘फेरि भूमिगत जान जनताले साथ दिने अवस्था छैन’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फेरि सत्तामा फर्किन कठिन देखिएको आशय व्यक्त गरेका छन्। शनिबार माओवादी केन्द्रनिकट दलित मुक्ति मोर्चाको कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले राम्रो गर्न कोसिस गरेबापत सत्ताबाट बाहिरिनुपरेको दाबी गर्दै अझ सत्तामा पुग्न कठिन देखिएको भन्दै चिन्ता व्यक्त गरेका हुन्। 

‘हामीले भ्रष्टाचारविरुद्ध राम्रो काम गर्न सुरु गरेको होइन? सामाजिक विभेदका विरुद्ध लडाइँ छेड्न खोजेकै हो नि राज्यमै बसेर । आत्मनिर्भर अर्थतन्त्रको जग बसाउन खोजेकै हो नि,’ दाहालले भने, ‘तर त्यही गरेबापत त हामीले सरकारबाट बाहिरिनुप¥यो।’ जो सुशासन विरोधी छन्, जो भ्रष्टाचारमा लिप्त छन् उनैले आफूलाई राम्रो गर्न खोज्दा जालझेल र षडयन्त्र गरेर सत्ताबाट हटाएको दाहालले बताए। 

‘अब त्यहाँ(सत्तामा) फेरि पुग्ने कसरी? अब त उनीहरूले दुई तिहाइ लिएर बसेका छन् हेर्नुस्। ढुक्कै अब जति उफ्रे पनि के गर्ने ?,’ दाहालले दुखेसो पोखे । 

‘तिहाइ छ, जति भ्रष्टाचार गरे नि पाइया छ, भ्रष्टहरूलाई बचाइएकै छ। राजनीतिक प्रतिशोध लिइएकै छ। अदालतलाई पट्याइएकै छ। सबै संवैधानिक निकायलाई कब्जामा पारिएकै छ,’ उनले थप भने । कसैले निहुँ खोजे केही न केही बहाना बनाएर बाघजस्तो झम्टिने पनि उनले बताए। 

‘अहिले त हामी त्यस्तोमा देखिएका छौँ नि । त्यसको हल कहिलेकाहीँ हामी नेतृत्वलाई अति नै भयो भन्ने त लाग्छ,’ उनले भने, ‘तर तत्काल फेरि भूमिगत जान, फेरि हतियार बोक्न पर्ने र सक्ने दुवै ठाउँमा छैनौँ। पर्ने ठाउँमा पुगिसकेका पनि छैनौँ। सक्ने ठाउँमा नि पुगेका छैनौँ।’

त्यसैले अहिले आफूसँग रहेको विकल्प हस्तक्षेप नै रहेको दाहालले बताए। उनले भने, ‘सडक, सदन र सरकारका मोर्चाबाट जबरजस्त हस्तक्षेप र मुख्य सडकलाई बनाएर ।’ 

अब यस्सो सरकारतिर हेर्न खोजे त्यहाँ कांग्रेस–एमाले ठुलठुला षडयन्त्र गर्न खोजिहाल्ने उनले डर व्यक्त गरे। ‘त्यसमा उनीहरू नै सिपालु छन्। उनीहरूसँग पैसाको तागत छ, उनीहरूलाई सयौँ वर्षदेखि राज्य चलाएको अनुभव छ, ब्युरोक्रेसीसँग । हामीले आन्दोलनको बलमा सरकार त परिवर्तन ग¥यौं तर मुख्यसचिव, सचिव, त्यो सञ्जाल बदल्न धेरै बल गरियो, तर सजिलो छैन’, उनले भने।  

यो सबै बदल्ने जनताको ताकतले भएको बताउँदै अहिले त जनता पनि अहिल्यै फेरि भूमिगत वा आन्दोलनमा जान जनताले साथ दिने अवस्था नै नबनेको उनले बताए। 

प्रकाशित: १४ भाद्र २०८२ १६:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App